Skip to main content

के मोदीको तेश्रो कार्यकाल केही दिनका लागि मात्रै हो ?

Submitted by editor on
Modi taking oath
दिनेश सापकोटा
२०८१, जेठ २८

नरेन्द्र मोदीले भारतको २० औँ प्रधान मन्त्रीका रुपमा तेश्रो पटक सपथ लिएका छन् । २०१४ को पहिलो र २०१९ को दोश्रो चुनावमा बलियो बहुमत प्राप्त गरी एकमना सरकार बनाएका मोदी २०२४ को चुनावमा भने बहुमत गुमाएका छन् । अब उनले आफ्नो सरकार चलाउनका लागि गठबन्धनका स-साना दलमा निर्भर हुनु पर्ने भएको छ । ती सहयात्री दल विचार र मुद्दामा भाजपासँग नमिल्ने देखिएकाले मोदीको सरकार जुनकुनै बेला जान सक्ने अनुमान गर्न थालिएको छ ।  

मोदीले चुनावमा धाँधली गरेर जितेको तथ्यसहितका आरोप बाहिर आउन थालेका छन् । यी अदालतसम्म पुग्लान् नपुग्लान् भन्न सकिने अवस्था छैन । तर के प्रष्ट छ भने निर्वाचन आयोग, मिडिया, पैसा र जाँच एजेन्सीको दुरुपयोग गरेर एकलौटी  गर्दा पनि भाजपाको बहुमतबाट ३२ सिट कम हुन पुगेको छ । मोदी कमजोर भएको यो समयमा बाध्यता, डर र धम्कीकाकारण उनको गठबन्धन, एन्डीए, मा रहेका दलहरूले विद्रोह गर्ने सम्भावना बढ्दै गएको छ ।

भ्रष्टाचार, यौन शोषण, साम्प्रदायिक घृणा र ऐतिहासिक रेकर्डको बेरोजगारीलाई गोदी मिडियामार्फत दबाउने काम भएको थियो । अब भने यसरी दबाउन सम्भव देखिदैन । मोदी कमजोर बन्दै गएको यो अवस्थामा एकातिर मिडिया स्वतन्त्र हुँदै जाने र अर्को तर्फ विपक्षी गठबन्धन बलियो बनेर आउने देखिएको छ । यो परिस्थितिमा मोदीलाई अगाडि बढ्न साँच्चीकै कठिन हुने देखिएको छ । कतिपयले उनको तेश्रो कार्यकाल केही दिनको हुने आँकलन गर्न थालेका छन् । 

हतारहतार सपथ लिएका मोदीले यो प्रक्रियामा कतिपय संवैधानिक मान्यताहरूको उल्लंघन गरेका छन् । जस्तै भाजपाको संसदीय दलको नेता नचुनी उनले प्रमको सपथ लिए भने उनको सपथ कार्यक्रममा नेपालका प्रधानमन्त्री प्रचण्डलाई समेत बोलाइएको थियो तर मोदीले विपक्षी दललाई निम्ता दिएनन् । उनका यस्ता गतिविधिले उनको हतास मानसिकतालाई देखाउँछ । 

चुनावमा जनताले दिएको आदेशलाई हेर्ने हो भने मोदीले तेश्रो पटक सपथ लिनु अस्वाभाविक छ । उनले चार सय सिटको दावा गरेका थिए । भाजपाका नेताहरूले मोदीको नेतृत्वमा चार सय सिट ल्याएर संविधान संशोधन गर्ने कुरा सार्वजानिक ठाउँमा नै भन्दै आएका थिए । संविधान प्रति खतरा देखे पछि विपक्षीले यसलाई चुनावि मुद्दा बनायो । भाजपाका ६३ सिट घटे भने विपक्षि बलियो बनेर आयो । भाजपालाई २४० र उसको गठबन्धनलाई २९२ सिट मिलेको छ । मोदीको आफ्नै निर्वाचन क्षेत्र वाराणासीमा उनका लागि दिइएको भोट उल्लेखनीय रुपमा घटेको छ । यो चुनावको म्याण्डेटले मोदीको विदाई गरेको छ । उनका एजेण्डालाई भारतीयले नकारेका छन् । 

यद्यपि, भाजपा सबैभन्दा ठुलो पार्टी हो । यसका नाताले भाजपाले प्रमको दाबी गर्नु स्वभाविक देखिएला तर मोदीले यो दावी गर्नु सही होइन । उनी दश वर्ष प्रधानमन्त्री भइसके । उनको नेतृत्वको सरकार अलोकप्रिय बन्दै गएको मात्रै होइन भाजपाको सिट संख्या पनि घटेको छ । उनी आफैँ विपक्षी दलका नेता राहुल गान्धी भन्दा अलोकप्रिय बनिसकेका छन् । यस्तो अवस्थामा भाजपाकै अर्को नेतालाई मौका दिएर मोदीले राजीनामा दिनु पर्दथ्यो । तर मोदीले त्यो गर्न सकेनन् । जसका कारण भाजपा भित्रै गम्भीर असन्तुष्टि जन्मिएको छ । 

मोदीको यो कार्यकाल केही दिनको मात्रै हुने देखिनुको प्रमुख कारण गठबन्धनका अन्य दलहरूको असन्तुष्टि हो । आन्ध्रा प्रदेशका चन्द्रबाबु नाईडु र बिहारका नीतीश कुमारले क्रमशः १६ र १२ सिट ल्याएका छन् । यिनीहरूको भरमा मोदीको सरकार टिगेको छ । बहुमत पुगेको छ । तर विडम्बना के हो भने यस्तो अवस्थामा यी दलको सत्ता बार्गेनिङ कठोर बन्दै गएको छ । सत्ताको लेनदेन त यी नेता इन्डिया (विपक्षी) गठबन्धनमा लागे पनि हुने नै हो । तर उनीहरूको मुद्दा र विचार भाजपासँग नमिल्ने कांग्रेससँग मिल्ने हुँदा यो सहज परिस्थितिमा नाईडु र नीतीशले गठबन्धन परिवर्तन गर्ने सम्भावना बढेको देखिन्छ । 

चन्द्रबाबु नाईडुले सभामुख चाहिने नत्र बाहिर बस्ने बताएका छन् । नीतीशले पनि यस्तै बलियो बार्गेनिङ गर्ने कुरा निश्चित जस्तै छ । मोदी मुस्लिम विरोध राजनीतिबाट अगाडि आएका हुन भने नाईडु मुस्लिम आरक्षणको मुद्दा उठाएर अगाडि बढेका नेता हुन । नीतीश पनि आरक्षण र जातीय जनगणनाका पक्षधर हुन् । उनले बिहारमा जातीय जनगणना गरेर देखाई पनि सकेका छन् । यसरी मोदी र यी नेताबीचमा मुद्दा नमिल्दा उनीहरूको अप्राकृतिक गठबन्धन लामो समय जाने देखिँदैन । 

अजित पावर र एकनाथ शिन्दे महाराष्ट्रबाट भाजपाका सहयोगी हुन् । पावरले जम्मा एक सिट जिते भने शिन्देले सात सिट जितेका छन् । केन्द्रिय क्याबिनेटमा उनीहरुको सहभागिता नहुँदा चिडिएको भारतीय मिडियाले रिर्पोटिङ गरेका छन् । महाराष्ट्रका ४८ मा जम्मा ९ सिट जितेको भाजपाका लागि अब त्यहाँको सरकार बचाउनु र त्यहाँबाट प्रतिनिधित्व गर्ने दललाई दिल्लीको सत्ताका लागि साथमा राख्नु मुस्किल हुँदै गएको छ । महाराष्ट्रमा छिट्टै विधान सभाको चुनाव पनि हुँदै छ भने महाराष्ट्र र गुजराती राष्ट्रवादबीचको पुरानो टकरावलाई मोदीले बल्झाएका छन् । यो अवस्थामा अब भाजपा महाराष्ट्रमा तत्काल उठ्ने सम्भावना देखिदैन । यसले पनि पावर र शिन्देलाई यो गठबन्धन छोड्न जनदबाब परिरहेको छ । 

मोदीका लागि सबैभन्दा ठुलो भयको विषय बलियो बनेको भारतीय कांग्रेस नै हो । यसको नेतृत्वमा बनेको गठबन्धन अनेकन चुनौति र कठिनाइ पार गर्दै बनेको गठबन्धन हो । यसमा अखिलेश यादव, ममता बेनर्जी, अरविन्द केजरीवालजस्ता कटिबद्ध नेताहरू सामेल छन् । यसको मतलब हो पहिला जस्तो विपक्षी गठबन्ध टुट्ने सम्भावना कम बरु सत्ता गठबन्धन कमजोर भएको अवस्था छ । विपक्षीले मौका हेरेर बसेको यो बेला भारतीय कांग्रेस करिब सय सिट सहित बलियो भएर आएको छ भने यसका अध्यक्ष मल्लिकार्जुन खड्गे एक बरिष्ठ दलित नेता भएकाले विपक्षी उनको नाममा सहमत हुन सक्ने देखिएको छ । 

दिनेश सापकोटा राजनीतिक विश्लेषक हुन् ।