Skip to main content

मोदीको पुनरागमन अस्वाभाविक हुनेछ 

Submitted by editor on
Scroll.in
बेग्लै
२०८१, जेष्ठ २१

भारतमा अस्ति मात्रै लोक सभाको चुनाव सम्पन्न भएको छ । भोलि परिणाम आउँदै छ । यो चुनाव मिडियाले देखाए जस्तो मोदीलाई तेश्रो कार्यकाल दिने कि नदिने भन्ने कुरामा मात्रै सीमित छैन । यो विश्व लोकतन्त्रको इतिहासमा एक महत्वपूर्ण परिघटना हुन पुगेको छ । 

अहिले युरोपेली र अमेरिकी लोकतन्त्र अस्थिर भएका छन् । यो समयमा विश्वको एक ठुलो र उदयमान देश भारतमा भएको चुनाव विश्वभरका स्वतन्त्रता प्रेमीका लागि चासोको विषय बनेको छ । भारतका लागि यसले विश्व लोकतन्त्रको आन्दोलनलाई नेतृत्व गर्ने सुनौलो अवसर लिएर आउन सक्छ भने नेपाल र अन्य दक्षिण एशियाली छिमेकीका लागि तीनको समृद्धिमा बलियो सहयोगी बन्न सक्छ । 

कस्तो अवस्थामा चुनाव भयो ?

नरेन्द्र मोदी आफ्नो सबै शक्ति लगाएर यो चुनावमा लागे । आफ्नो पक्षमा मतदातालाई तान्न जायज नाजायज सबै उपाय अपनाए । सर्वोच्च अदालतको आदेशलाई उल्टाउँदै आफ्नो मान्छेलाई निर्वाचन आयुक्त बनाए । विपक्षी नेता, पत्रकार र आलोचकहरूलाई जेलमा पठाए । प्रमुख प्रतिपक्षको बैंक खाता रोक्का गरिदिए । संसद्मा प्रश्न उठाउने सांसदलाई सयौँको सङ्ख्यामा निष्कासित गरिदिए । जाँच एजेन्सी प्रयोग गरेर व्यापारीबाट जबरजस्ती चन्दा असुले । आम सभाबाटै अल्पसंख्यक समुदाय विरुद्ध घृणा फैलाउनेदेखि विपक्षका विरुद्ध सफेद झुट बोलेर बदनाम गराउने प्रयास गरे । 

मतदानका लागि प्रयोग भएको भोटिगं मेसिनका विरुद्धमा आन्दोलन उठेको थियो । यो मेसिनको विश्वसनीयता संकटमा परेको र निर्वाचन आयोगप्रति जनविश्वास धराशायी भएको बेला थियो । तर मोदीले मेसिनबाट नै चुनाव गराए । यो मेसिन बनाउने कम्पनीमा समेत भाजपाका मान्छे रहेको विवादको समाधान भएन । कतिपय ठाउँमा अल्पसंख्यक समुदायका मतदातालाई मतदानस्थलमा हतोत्साहित बनाउने घटना भए । 

मिडियाबाट विपक्षलाई हटाइदिएर मोदीले यसको आफ्नो अनुकुल प्रयोग गरे । वास्तवमा मिडिया उनको स्तुति गाउँने भजन मण्डलीमा बदलिएको सबैलाई थाहा छ । यसको प्रयोग उनको प्रशंसा गर्नका लागि मात्रै नभएर विपक्षलाई आक्रमण गर्न र झुट प्रचार गर्नका लागि भयो । मोदीले झुट बोल्ने, गोदी मिडिया भनेर चिनिने यो मिडियाले चाहिँ त्यही प्रचार गर्ने काम गर्यो । जस्तो मोदीले कांग्रेसले जित्यो भने हिन्दु महिलाका मंगलसूत्र खोसेर मुसलमानलाई बाँड्ने कुरा घोषणापत्रमा लेखेको छ भनेर बोले । त्यही झुट कुरा मिडियाले फैलायो ।

वास्तवमा मोदीले प्रधानमन्त्री पदको गरीमा गिराउनसम्म गिराए । निर्वाचन आचारसंहिताको धज्जी यति उडाए कि विश्व इतिहासमा कुनै लोकतान्त्रिक देशको प्रधानमन्त्रीले सायदै उडाएको होला । धन, सत्ता र मिडियाका बलमा मोदीले पुनः जित्ने प्रयासमा कुनै कसुर राखेनन् । उनले त्यसका लागि जुन तरिका अपनाएका छन् त्यसले भारतीय चुनाव स्वतन्त्र र लोकतान्त्रिक मूल्यमान्यता अनुसार भएको भन्न सकिदैंन । प्रतिस्पर्धाका लागि सबैलाई उपलब्ध हुनु पर्ने ‘इक्युएल प्लेइगं फिल्ड’ थिएन । यसको मतलब निर्वाचन आयोग पूर्णतः ‘कोल्याप्स्’ भएको भन्न मिल्ने अवस्था पनि छैन । अवस्था कस्तो भने मत परिणाम आउन एक दिन बाँकी रहँदा निर्वाचन आयोगले निष्पक्ष मत परिणाम दिने हो कि मोदीले चाहे अनुसारको दिने हो भन्ने कुरामा नै शंका व्याप्त देखिन्छ । 

निष्पक्ष परिणाम के हो ? 

लोक सभाका ५४३ निर्वाचन क्षेत्रमा करिब ४५ दिन लगाएर मतदान भएको छ । ती चुनावमा देखिएको माहोल (सभाका आकार, मुद्दा बारे छलफल, कार्यकर्ताको उत्साह)ले मोदीले बहुमत ल्याउने देखाउँदैन । वास्तवमा माहोल उनको विरुद्धमा छ । यदि मोदीले बहुमत ल्याएको मत परिणाम निर्वाचन आयोगले दियो भने त्यसले शंका उब्जाउने छ । त्यो अस्वाभाविक हुने छ । अस्वीकार्य हुने छ । त्यसले आन्दोलन जन्माउँने छ ।

त्यसो भन्नुका निश्चित आधार छन् । ती निश्चित आधारहरुलाई नजरअन्दाज गरेर निर्वाचन आयोगले मत परिणाम दियो भने त्यो पुष्टि हुने छैन । त्यसले संघीयता र धर्मनिरपेक्षतालाई खतम गरी भारतको राष्ट्रिय एकतामा आँच पुर्याउने छ । दक्षिण एशिया ठुलो उथलपुथलको चरणमा प्रवेश गर्ने छ । विश्व लोकतन्त्रलाई अपुरणीय क्षति पुग्ने छ । 

मोदीको पक्षमा बहुमत नआउनुका प्रमुख आधार मध्ये विपक्षी दलहरूको एकता प्रभावकारी हुनु एक हो । २०१९ को चुनावमा मोदी ३७ प्रतिशत मतका साथ विजयी भएका थिए । अहिलेको विपक्षी गठबन्धनका दल एक्लाएक्लै लडेका थिए । अहिले धेरै जसो विपक्षी एकसाथ आएका छन् । उक्त चुनावमा परेको मत प्रतिशतका हिसाबले गठबन्धन सामान्य बहुमतमा पुग्नु स्वाभाविक हो ।

त्यसका साथै मोदीको लोकप्रियता घटेको छ । उनले किसान, युवा, गरिब कसैको आवाज सुनेनन् । उनीहरूको आन्दोलनलाई दबाउने काम भयो । अग्नीवीरको विरोधमा, एम्एस्पीका लागि र महिला हिंसाका विरुद्ध आन्दोलन भए । तिनलाई दबाएर मोदीले आफ्नो लोकप्रियता गुमाएका छन् । पछिल्लो समय भएका उपनिर्वाचन, प्रदेश सभाका निर्वाचन तथा स्थानीय निर्वाचनमा भाजपाको प्रदर्शनले पनि यो कुरा पुष्टि गर्छन । 

अर्को महत्वपूर्ण कुरा चुनावी बहसको थियो । मोदीले चुनावलाई कुन मुद्दा दिन्छन् भन्ने कुरामा चुनाव निर्भर थियो । तर उनले सही मुद्दा दिन सकेनन् । बरु कांग्रेसको घोषणापत्रका बारेमा झुट बोलेर प्रचार गरिदिए । सोसल मिडियाले उनको झुटको पोल खोलिदियो । घोषणा पत्रको चर्चा भयो । यसमा किसानका लागि आधारभूत मूल्य, युवाका लागि रोजगार र जातीय जनगणनाको ग्यारेण्टी गर्ने प्रतिबद्धता छन् ।

मोदीले चुनावलाई हिन्दु मुस्लिमबीचको झगडाका रुपमा बदल्ने प्रयास गरे । तर उनको प्रयास सफल हुन सकेन । माछा, मंगलसूत्र र मुजुरामा मोदीको अभियान सकियो । उनले मुद्दा दिन सकेनन् । विपक्षीले बेरोजगारी, महँगाइ र आरक्षणको कुरा उठायो । विपक्षी नेताले संविधानको किताब बोकेर सभामा गए । यसरी चुनावी बहसको नेतृत्व गर्ने अवसर विपक्षले पायो ।

मोदीले बहुमत प्राप्त गर्ने आधार छैनन् । बरु त्यसो भयो भने अस्वाभाविक हुने अनेक आधार छन् । यसका बाबजुद उनले आफ्नो पक्षमा परिणाम घोषणा गर्न लगाए भने यसैका कारण देश विभाजित हुने छ । आन्दोलनको वातावरण बन्ने छ । मोदी अलोकप्रिय हुने छन् । उनमा सत्ता जाने डर अझै बढ्ने छ । यसले गर्दा उनी शक्तिको दुरुपयोग गरी आन्दोलन दबाउन लाग्ने छन् । त्यसले सामाजिक विग्रह र हिंसाको बाटो समात्दै भारतले विश्व लोकतन्त्रको नेतृत्व गर्ने अवसर गुमाउने छ । दक्षिण एशिया अशान्त हुने छ ।