टिप्पणी
भयावह स्थितिको सङ्घारबाट देश बचेर अगाडि बढेको छ । यसका लागि हामी सबै नेपालीहरूलाई बधाई छ ।
सामान्य लोकतान्त्रिक अधिकारको माग राखेर सडकमा आएका जेनजीहरुको काँधमा राखेर षड्यन्त्रकारीहरुले बन्दुक चलाउँदा परिस्थिति एक्कासि अकल्पनीय अवस्थामा पुग्यो । दर्जनौं ज्यान गए भने खर्बौँको सम्पत्ति ध्वस्त भयो । अन्त्यमा सत्ता नै परिवर्तन मात्रै भएन, संविधान र सार्वभौम सत्ता नै खतरामा पर्न सक्ने अवस्थाको सिर्जना भयो ।
जेनजी आन्दोलनको हिंसात्मक पृष्ठभूमि र यसको साङ्गठनिक ताकतका हिसाबले हेर्दा यो नागरिक सरकारको धरातल कमजोर छ । र, यो सरकारलाई दिइएको छ महिनाको अवधि चुनावै बनाउनका लागि पनि पर्याप्त छैन भने यसले खरानीमाथि उभिएर अन्य काम गर्ला भन्ने अपेक्षा गर्न सक्ने अवस्था पनि छैन ।
आन्दोलन दलतन्त्र र यसले निर्माण गरेको भ्रष्ट सिण्डिकेटका विरुद्धमा केन्द्रित भएको भएतापनि यसले स्पष्ट मुद्दा उठाउन सकेन । ‘भ्रष्टाचारका विरुद्ध’ जस्तो अमूर्त कुरा मात्रै गर्यो । भ्रष्टाचार सांस्कृतिक समस्या भएकाले यो जटिल मुद्दा हो त्यो कुरा बुझे जस्तो देखिएको छैन । हो, दलतन्त्र र भ्रष्टाचारको सम्बन्ध त आन्दोलनकारीले देखे तर त्यसको समाधानका लागि के गर्ने भन्ने कुरा दिन सकेका छैनन् । यो सजिलो काम छैन ।
यो सरकारले दुईचार जना नेतालाई छानबिनमा नै ल्याएछ भने पनि भ्रष्टाचारको जालो तोड्न कठिन हुने छ । भ्रष्ट दलीय सिण्डिकेटले देशका सबै निकाय, तप्का र संस्थाहरुलाई जगडेको छ । त्यो सिण्डिकेट सरकारलाई असफल बनाउन लाग्ने छ । भ्रष्टाचारको विरुद्धमा काम गर्नका लामो योजना, बलियो सङ्गठन र स्पष्ट मुद्दा जरुरी छ । आगामी दिनहरूमा त्यसको निर्माण गर्न आन्दोलनकारी सफल होलान् ? यो पनि आफैमा गम्भीर प्रश्न छ ।
अन्त्यमा, दलतन्त्रको समस्या दलालतन्त्रसँग जोडिएको छ । त्यो भनेको विश्व पुँजीवादसँगै जोडिएको छ । अनि दलतन्त्रका विरुद्धमा लड्नका लागि पनि त्यस्तै संस्कार, विचार र संगठनभएको दल नै आवश्यक छ । के त्यसका लागि आन्दोलनकारी शक्तिहरु तयार होलान् ? यो आफैमा गम्भीर प्रश्न छ ।