Skip to main content

 नव-फासीवाद कस्तो देखिँदैछ ?

Submitted by editor on
how capitalism has turned into fascism
दिनेश सापकोटा
२०८२, चैत्र २०

फासीवादको प्रमुख विशेषता हो यसले हिंसाको सामान्यीकरण गर्छ । वास्तवमा सामान्यीकरण मात्रै होइन, यसको महिमा मण्डन नै गर्छ । त्यसका लागि चेतनालाई धकेलेर दोश्रो दर्जामा पुर्याउँछ भने आवेगलाई प्रमुख चालकका रुपमा अगाडि बढाउँछ । यसले प्रेम र करुणालाई कमजोरी ठान्छ अनि स्थुलता र क्रूरतालाई साहसका रुपमा व्याख्या गर्छ । उपयुक्त ठानेको उद्देश्य जुनसुकै विधि अपनाएर वा भयानक जनसंहार गरेरै भएपनि प्राप्त गरी छाड्ने हठ लिन्छ । फासीवादले ल्याउने थप चुनौति कहाँनेर हुन्छ भने यसको उद्देश्य भावनात्मक सन्तुष्टिको विषय बन्ने गर्छ जसले गर्दा यसलाई तर्कले परास्त गर्न कठिन हुने गर्दछ । 

फासीवाद अत्यन्तै जड र निश्चयवादी हुन्छ । यसले आफ्नो सत्यलाई यसरी ठोकुवा गर्छ कि त्यो बाहेक अर्को कुरा सुन्नै तयार हुँदैन । उसको मार्गमा आउने सबै कुराको सफाया गरेर अगाडि बढ्ने एकदमै निर्मम र एकोहोरो प्रवृत्तिले फासीवादलाई हिंसाको पूजक बनाउँछ । त्यसले यसलाई मानवताका विरुद्धमा उभ्याउन पुग्छ । र, मानवलाई अमानवीय हुनुमा नै गर्व गर्ने अवस्थामा पुर्याउँछ । अर्थात्, मानवलाई हिंस्रक जनावरमा बदल्ने काम फासीवादले गर्दछ । 

फासीवादको अर्को विशेषता हो यसले राजनीतिमा अतार्किकतालाई अनुचित स्थान प्रदान गर्छ । धर्म, संस्कृति वा परम्पराको नाममा यसले चेतनालाई भावनाको बर्को ओढाइदिन्छ । चेतनाका कुरा गर्दा भवना भड्कने भन्दै चेतनाकै ढोका बन्द गर्न अग्रसर हुन्छ । वास्तवमा फासीवाद राष्ट्रियता, धार्मिकता र काल्पनिक गौरवका कुरालाई नैतिकता, तार्किकता र करुणाभन्दा माथि पुर्‍याएर तिनको सन्तुष्टिका लागि जुनसुकै अपराधलाई स्वीकार गर्ने अवस्थामा पुग्छ । यसले बौद्धिकतालाई तिरस्कार गर्छ भने बौद्धिकलाई आफ्नो मार्गमा अवरोधकका रुपमा लिने गर्दछ । यसरी फासीवाद चेतनाको विपरित सर्वनाशको बाटोमा लाग्छ । त्यसलाई रोक्नका लागि उच्च स्तरको नैतिकता र अहिंसाप्रतिको समर्पण जरुरी पर्दछ ।

फासीवादको अर्को प्रमुख विशेषता हो यसले आफूमा कमजोरी देख्दैन । आफूले सुधार गर्नु पर्ने पक्ष छ भन्ने नै यसलाई लाग्दैन । यसले आफूलाई निपूर्ण ठान्दै अहंकार यति धेरै बढाउँछ कि त्यही चिन्तनका कारण ईश्वरको स्थानमा पुगेको भ्रममा पर्छ । यो आफूलाई बदलेर संसार बदलिएको हेर्ने अहिंसावादी विचारको ठीक विपरित अरुलाई बदल्न लाग्छ, त्यो पनि प्रेममार्फत होइन बलजफ्ती । त्यसैले यसले बाह्य शत्रुको निर्माण गर्छ । यसले शत्रुको निर्माण मात्रै गर्दैन, त्यसको समुल नष्ट गरे पछि सबै समस्याको समाधान हुने अत्यन्तै संकिर्ण विचार राख्छ । यसले प्रायः समस्याका बाह्य कारण खोज्दै गर्दा कमजोर, अल्पसंख्यक, सिमान्तकृत र गरिब तप्कालाई शिकार बनाउन पुग्छ । त्यही अनुरुप तिनको सफायामा लाग्ने अनुदार विधिको वकालत गर्दछ । 

फासीवाद मानवतावादको विरुद्धमा जाने पृष्ठभूमी कमजोरलाई दबाएर नै निर्माण हुने गर्दछ । हुन त फासीवादी राजनीतिको नेतृत्व चमत्कारी हुने ठानिन्छ । तर फासीवाद एक व्यक्तिका कारण आउने होइन । यो सामूहिक मानसिकता हो । नेतृत्व त्यही मानसिकताको प्रतिनिधि हो । त्यस्तो मानसिकताको समस्या समाधान गर्ने दृष्टिकोण ‘मुसा मार्न झुपडीमा आगो लगाउने’ हुन्छ । अर्थात्, रोगको उपचार गर्नेभन्दा रोगीको नै सफाया गर्ने मुर्ख, असहिष्णु, अमानवीय र क्रूर स्वभावले फासीवादलाई पाशविक बनाउने गर्दछ । 

फासीवाद झुठो गौरव र आवेगमा उभिने भएकाले यो वास्तविकताबाट च्युत र अव्यवहारिक हुन्छ । त्यसकारण पनि यो चमत्कारमा विश्वास गर्न बाध्य हुन्छ । त्यसले गर्दा यसको परिकल्पना र वास्तविकताबीचमा तादम्यता नमिल्ने हुन्छ । यो अवस्थाले फासीवादका समर्थकहरुको मस्तिष्कमा विरोधाभाष उत्पन्न हुन पुग्छ । उनीहरु विज्ञान, तार्किकता र नैतिकतालाई तिलाञ्जली दिएर अगाडि बढ्न थाल्दछन् भने सही र गलत छुट्टाउने आधार उनीहरुको कथित रुपमा चमत्कारी नेता बन्न पुग्छ । यसरी वास्तवमा नेता उनीहरुका लागि ईश्वर र उसको आदेश अन्तिम आदेश जसरी अनुशरण गर्ने एक ‘भेडा प्रवृत्ति’को विकास हुन्छ । यो प्रवृत्तिले आफ्नै अगाडि आइपुगेको महाविनासलाई पनि देख्दैन । बरु चमत्कारी नेताको आदेशका लागि आफ्नो जीवन दिन र अर्काको लिनसम्म तयार हुन्छ ।

हामीलाई कहिलेकाही अचम्म लाग्छ चुनावबाट फासीवाद कसरी जन्मिन्छ ? वा, चुनावमा बहुसंख्यक मानिसले चुनेको व्यक्ति कसरी फासीवादी बन्न पुग्छ ? धेरै मान्छेले सामूहिक रुपमा गरेको कामलाई कसरी गलत भन्ने ? यद्यपि, वास्तवमा फासीवाद जन्मिने नै चुनावबाट हो । किनकि फासीवाद भनेको कुनै एक व्यक्ति वा समूहले सत्ता कब्जा गरेर शासन लाद्ने तानाशाही व्यवस्था जस्तो होइन । यो माथि भनिए झैं बहुसंख्यक मानिसहरुको साझा मानसिकता हो । यसलाई सामूहिक पागलपन भन्न सकिन्छ । यो मानसिकताले हिंस्रक स्वभावको व्यक्तिलाई नेता ठान्छ र चुन्छ । यसले आफ्नो नेता र फासीवादी पार्टीको रक्षाका लागि पुरा शक्ति लगाउँछ । यसरी धेरै मान्छेहरुको समर्थन हुने भएकाले नै फासीवाद अलि लामो समय टिग्ने गर्छ । अर्को शब्दमा भन्नुपर्दा फासीवादी हिस्टोरीया गहिरो सांस्कृतिक समस्याका रुपमा आउने भएकाले यसबाट बाहिर आउन समाजका लागि कठिन हुने र ठुलो क्षति हुने सम्भावना हुन्छ ।  

अहिले फेरी एक पटक विश्वमा फासीवादी मानसिकता हावी हुँदै गएको देखिन्छ । बिसौं सताब्दीको फासीवादको भन्दा केही भिन्न स्वरुपमा अहिले यो विकसित हुँदै गएको छ । वर्तमान समयमा यसको स्वरुपलाई बदल्ने केही निश्चित कारणहरु देखिएका छन् । ति मूलतः तीन कारण हुन् जसले यसलाई फरक स्वरुपमा विकसित गरिरहेको देखिन्छ । 

पहिलो, पुँजीवादमा आएको संकट । पुँजीवाद हाम्रो सामाजिक व्यवस्थाका रुपमा लामो समयदेखि रहँदै आएको छ । यसमा संकट आउनु भनेको हाम्रो सामाजिक व्यवस्था चरमराउनु हो । पछिल्लो करिब चार सय वर्ष यो हुर्कने, बढ्ने, फैलिने गर्यो । इतिहासमा पनि देखिएको छ जबजब पुँजीवाद संकटमा पर्छ तब ठुलाठुला सामाजिक विग्रह र युद्धको अवस्था सिर्जना हुने गरेको छ । अहिलेको पुँजीवादी संकट सामान्य यसको वृद्धिमा आएको स्थीरता वा नाफा निर्माणमा आएको सिथिलताका कारण मात्रै उत्पन्न भएको छैन । यसले वातावरणीय संकटका कारण पनि आफ्नो आयु धेरै नभएको देखेको छ । जसका कारण थप निर्मम भएर धनको संग्रह गर्ने र त्यसका लागि प्रकृतिको दोहन र मानवको शोषण गर्ने दिशामा तीव्र रुपमा अगाडि बढेको देखिन्छ ।

पुँजीको निर्माणमा पर्यावरणीय संकटले सबैभन्दा ठुलो चुनौति अवश्य ल्याएको छ । त्योसँगै घट्ने दिशामा गएको जनसंख्या, प्रविधिको विकासका कारण रोजगारसँगै उपभोग पनि घट्ने अवस्था र प्राकृतिक श्रोत घट्दै जाँदा त्यसले ल्याएको दबाब जस्ता कारणलेसमेत पुँजीवाद अन्तिमअन्तिम अवस्थामा पुगेको छ । सामान्य अवस्थामा अब थप आर्थिक वृद्धि गर्ने, नाफा कमाउने र संग्रहलाई अझै बढाउने कुराले सीमा भेटेको छ । जसको दबाबका कारण पनि पुँजीवाद प्राकृतिक श्रोतको दोहन र मानवको शोषण गर्ने कुरा थप निर्मम बन्दै गएको देखिन्छ । 

वृद्धि नभएसम्म यो आर्थिक व्यवस्था चल्न सक्दैन । भन्नुको मतलब पुँजीवाद जीवित रहनका लागि पनि वृद्धि भइराख्नु पर्दछ । उक्त कथित वृद्धिलाई कायम राख्नका लागि अहिले पुँजीपतिहरुले युद्धको साथ लिएको देखिन्छ । युद्ध विमान, बम, मिसाइल, ड्रोन, बन्दुक आदि हतियारको उत्पादन गरेर तिनको प्रयोग मानव नरसंहारका लागि गर्ने प्रवृत्ति पुँजीवादले देखाएको छ । पछिल्लो समय यो ‘जनसंहार अर्थतन्त्र’को आकार तीव्र रुपमा बढ्दै गएको छ । यो यति धेरै अमानवीय हुनु पर्ने कारण त्यही वृद्धि गरिराख्नु पर्ने दबाब हो । त्यसैले युद्ध अर्थतन्त्रमार्फत यसलाई बँचाउन खोज्नु नै पुँजीवाद फासीवादमा बदलिने एक बलियो कारण बनेको छ ।

दोश्रो, दृष्टिकोणविहीन राजनीति । अहिले विश्वभरी लोकप्रियतावादी राजनीतिको बिगबिगी छ । नेपालको सन्दर्भमा पनि विचारहीन राजनीति नै मूलधारको राजनीति बनेको छ । जनता विचारको राजनीति भन्दा नाक खुम्च्याउने अवस्थामा पुगेका छन् । यद्यपि, यस्तो अवस्था निर्माण हुनुमा पुरानो विचार असान्दर्भिक भएको र नयाँ विचार निर्माण नभइसकेको शून्यताको अवस्था भएकाले हो भन्न सकिन्छ ।  

वास्तवमा अहिले विचार नै तिरस्कृत छ, विचारको राजनीति जस्तै । मानिसहरु आजभोली विचारको राजनीतिलाई झन्झटिलो, जनता झुक्याउने कुरा र अव्यवहारिक कुराका रुपमा बुझ्ने गरेका छन् । विचार प्रतिको यस्तो वितृष्णा मानव चेतनाका लागि नै अस्वस्थ कुरा हो । यसका कारण राजनीतिमा मात्रै होइन, आम मानिसको मानसिकतामासमेत नकारात्मक असर देखिएको छ । राजनीतिमा जस्तै मानिसको जीवनमा पनि उद्देश्य हुन्छ । उक्त उद्देश्यलाई निर्धारण गर्ने विचारले हो । जब विचार नै हुँदैन त्यस्तो अवस्थामा निर्धारण गरिएको उद्देश्य वैज्ञानिक हुँदैन । र, त्यस्तो उद्देश्य प्राप्त गर्ने सम्भावना कम हुन्छ । यसै कारण लोकप्रियतावादी राजनीति असफल हुन अभिसप्त हुन्छ भने सत्तामा रहिरहन खोज्यो भने हिंसाको प्रयोग गर्नु पर्ने वा फासीवादी हुनु पर्ने अवस्था बन्छ । 

दृष्टिकोणहीन राजनीतिको बोलवाला हुनुको प्रमुख कारण उदार लोकतन्त्र नयाँ समस्या समाधान गर्न असफल बन्नु हो । उदार लोकतन्त्रले पुँजीवादी अर्थ व्यवस्था, जुन सिमित व्यक्तिलाई फाइदा गर्ने मोडल हो, त्यसलाई सामूहिक भलोसँग केही हदसम्म सन्तुलन मिलाउने काम गरेको थियो । यद्यपि, पुँजीको सत्ता बलियो हुँदै जाँदा राजनीतिमासमेत यो हाबी हुँदै गयो । यसले संविधान, सत्ता र चुनाव प्रणाली प्रभावित गर्न थाले पछि राजनीतिज्ञ र उनीहरुका दल किनबेचका बस्तु जस्ता बन्न पुगे । र, व्यापारी र राजनीतिज्ञ एउटै व्यक्ति हुने वा व्यापारिका लागि काम गर्नेले मात्रै चुनाव जित्ने अवस्था बनिरहेको छ । जब राजनीति नै पुँजीपतिको अपहरणमा परेको छ भने यसले नयाँ विचार दिन सक्ने कुरा भएन । यदि दिन्छ भने केवल पुँजीवादी लोकप्रियतावाद, धनी हुने तृष्णा र आर्थिक विकासको भ्रम मात्रै हो । 

तेश्रो, नव फासीवादलाई मलजल गर्ने अर्को बलियो कारण बनेको छ प्रविधि माथिको एकाधिकार । पछिल्लो समय विकास भएका एन्ड्रोयड मोवाईल, इन्टरनेट, सोसल मिडिया एल्गोरिदम् र ए.आई. प्रविधिको क्षेत्रका प्रमुख आविष्कार हुन् । यि प्रविधिको प्रभावबाट मुक्त सायदै कुनै समुदाय होला । यद्यपि, समस्या के छ भन्दा यिनको लोकतान्त्रिकरण हुन सकेको छैन । यिनको सञ्चालन र नियन्त्रण पुँजीपतिको हातमा छ । यिनमा पारदर्शीताको चरम अभाव छ । अहिले पुँजीपतिहरु नाफाको पागलपनले फासीवादी बनीरहेको यो अवस्थामा यिनको प्रयोग पनि फासीवादलाई नै अगाडि बढाउने कुरामा छ भन्न कुनै गाह्रो कुरा भएन ।  

अहिले सोसल मिडियाका दर्जनौं एपहरु हामी चलाउछौं । तिनमा लेख, फोटो, भिडियो, मिम्, समाचार र प्रोपागान्डाको स्वरुपमा आउने विषयहरु कुनै नियमनबिना आउने गर्दछन् । कसैको स्वार्थलाई परिपूर्ति गर्न नैतिकताका कुनै सीमा नराखी आउने यी चीजहरु अत्यन्तै हानीकारक हुने गर्दछन् । वास्तवमा ति चिजहरुको डिजाइन र प्रसारण मानिसको आम मानसिकतालाई प्रभावित गर्ने उद्देश्यले आउने भएकाले तिनले मानसिक स्वास्थ्यमा इतिहासमा कहिल्यै नभएको संकट ल्याएर आएका छन् । त्यस्ता अस्वस्थकर जानकारीको बाढीमा परेर बिग्रेको मानसिकता फासीवादका लागि मलिलो जमिन बन्न पुग्नु स्वभाविक हो । 

अन्त्यमा, 

अहिले देखिएको फासीवादलाई संक्षिप्तमा भन्नुपर्दा यो साधन र साध्यका सन्दर्भमा देखिएको विसंगतिको परिणाम हो । मानिसहरु पुरानो विचारको असफलता र सोसल मिडियामार्फत आएका अस्वस्थकर जानकारीका कारण दुविधामा परेका छन् । उनीहरु समाजको उद्देश्य के हो बुझ्न जसरी असमर्थ छन् त्यसरी नै आ–आफ्नो जीवनको उद्देश्य पनि निर्धारण गर्न र शान्तिपूर्वक बाँच्न सकिरहेका छैनन् । यसले गर्दा उनीहरुको सोच्ने र काम गर्ने विधिमा समेत समस्या आएको छ । के गर्दा के हुन्छ भन्ने वैज्ञानिक र विश्वासिलो आधार नहुँदा वा भएको भत्किदा उनीहरु साधन र साध्यलाई बेवास्ता गर्न बाध्य भएका छन् । उनीहरुको अवस्था अहिले वास्तवमा सन्तुलन गुमाएको जहाज जस्तो हुन पुगेको छ । यस्तो अवस्थामा फाँसीवाद नभएर कुन विचार मौलाओस् ?

दिनेश सापकोटा राजनीतिक विश्लेषक हुन् ।