Skip to main content

सोसल मिडिया र 'गान्धीका तीन बुद्धिमानी बाँदरहरू'

Submitted by editor on
gandhi's three wise monkeys no to evil
दिनेश सापकोटा
२०८२, फाल्गुन ९

गान्धीलाई भेट्न एक पटक चीनबाट मान्छे आएछन् । उनीहरूले गान्धीका लागि एउटा उपहार ल्याएका रहेछन् । उपहार एउटा सानो तीन ओटा बाँदरको मूर्ति थियो । उक्त मूर्तिमा एउटा बाँदरले आँखा, अर्कोले मुख र अर्कोले कान हातले छोपेका थिए । गान्धीले उक्त मूर्तिलाई जीवनभरी सँगै राखे भनिन्छ । 

मूर्तिमा अंकित ति बाँदरहरूले दिन खोजेको सन्देश वास्तवमै सुन्दर छः नराम्रो देख्न नपरोस्, नराम्रो बोल्न नपरोस् र नराम्रो सुन्न नपरोस् । अर्थात्, नराम्रो नबोल, नराम्रो नहेर र नराम्रो नसुन । यो सन्देशलाई गलत नगरौँ, गलत नसुनौँ र गलत नबोलौँ भन्न पनि सकियो । यो बुद्ध दर्शनबाट प्रेरित भएर बनाइएको मूर्ति हो भन्ने गरिन्छ । चीनमा मात्रै होइन, यो जापानमा पनि प्रचलित मानिन्छ ।

यो सन्देशलाई नयाँ मस्तिष्क विज्ञानलेसमेत अत्यन्तै उपयोगी ठहराएको छ । जब हामी गलत कुरा देख्छौँ वा सुन्छौँ वा बोल्छौँ त्यसले हाम्रो मानसिक स्वास्थ्यमा नकारात्मक असर गर्दछ । जस्तै, बारम्बार झुट बोल्ने बानी भयो वा गलत सुन्ने वा हेर्ने बानी भयो भने उक्त व्यक्तिको मस्तिष्कमा नकारात्मक असर गर्छ । त्यस्ता विषय वस्तुहरुलाई सक्रिय रुपमा अनुसरण नगर्दा पनि हाम्रो इन्द्रीयको अगाडि परे भने तिनको स्वतः प्रभाव रहन्छ । लगातार त्यस्तो हुन गयो भने स्नायु तन्तुमा समस्या आउन थाल्छ । 

प्रेम, अहिंसा, करुणा र सहकार्यका कुरा गर्ने, हेर्ने र बोल्ने गरियो भने व्यक्तिको मस्तिष्कमा यसले सकारात्मक प्रभाव पार्छ । सेवा र त्यागको चिन्तन र त्यही अनुसार व्यवहार भयो भने व्यक्तिले आध्यात्मिक सुख प्राप्त गर्छ । त्यो सुखको स्नायुहरूको तन्दुरुस्तीसँग सोझो सम्बन्ध हुन्छ । वास्तवमा नैतिकताका कुरा कुनै प्रवचनका कुरा मात्रै होइनन् । यि सुन्दा रमाइला लाग्ने मात्रै पनि होइनन् । वास्तवमै यि सुन्दर कुरा हुन् । यिनको स्वस्थकर प्रभाव भौतिक रूपमै प्रयोगशालामा आँखाले हेरेर पुष्टि भइसकेको छ ।  

यद्यपि, बिडम्बनाको कुरा के छ भने समाजमा गलत कुराहरू छन् । ति कुराहरूले हाम्रो मानसिक स्वास्थ्यमा असर गरिरहेका छन् । एउटा बच्चा जन्मिँदा जुन मस्तिष्क लिएर जन्मिन्छ त्यो समाजमा भएका गलत कुराहरूका कारण प्रभावित भएर स्वस्थ रुपमा विकसित हुन गाह्रो हुन्छ । यद्यपि, हामीले स्वस्थ वातावरण बनाउने जति नै प्रयास गर्दा पनि समाजमा रहेका हिंसालाई एकै पटक हटाउन सक्दैनौँ । त्यसका लागि सक्रिय र निरन्तर प्रयास गर्नु पर्छ । त्यसमाथि हामीले गरेका प्रयासहरू सही नै हुन्छन् भन्ने हुँदैन । त्यसकारण दीर्घकालीन योजनाका साथ सचेत, लचक र इमानदार भएर यो प्रयासलाई अगाडि बढाउनु पर्छ ।  

अवश्य मस्तिष्कको विकासमा नकारात्मक असर गर्ने एक प्रमुख कारण समाजमा व्याप्त हिंसा हो । वर्गीय, जातिय, लैगिंकजस्ता विभेद वा संरचनागत हिंसाले जीवनभरी नमेटीने आघात बच्चाको मस्तिष्कलाई पुर्याउने गर्दछन् । अहिले ऊ ति हिंसालाई प्राकृतिक ठानेर दुःखी जीवन बाँच्न बाध्य भएको दुःखद् अवस्था छ । ऊ जाने स्कुल, खाने खाना, प्राप्त गर्ने संस्कार र परम्पराले निर्धारण गर्ने सामाजिक भूमिकाले मस्तिष्कको विकासक्रम निर्धारण गर्ने गर्दछ । यस्ता विभेद वा हिंसाले बच्चाको हुर्किने बढ्ने समयमा उनीहरुको जीवनमा नपार्नु पर्ने असर पारिसकेको हुन्छ । 

ति हिंसाहरुको न्युनिकरणका लागि लामो समयदेखि सामाजिक तथा राजनीतिक स्तरबाट काम भइरहेको छ । ति यथेष्ट अझै हुन सकेका छैनन् तर ति प्रयासहरुले उपलब्धी हासिल नगरेका भने होइनन् । उद्देश्य प्राप्त गर्न थप काम गर्नु पर्ने छ । यद्यपि, खास कुरा के हो भने ति चुनौतिहरुलाई सामना गर्ने अवस्था सिर्जना हुँन नपाउँदै पछल्लो समय थपिएको छ नयाँ चुनौतिः सामाजिक सञ्जाल । 

अहिलेको समयलाई सोसल मिडियाको समय भनिन्छ । तर, यो समय वास्तविक रुपमा यसको नियन्त्रणकर्ता वा लाभान्वित हुने वर्गको हो । खासमा अहिले अवस्था कस्तो देखिन्छ भने सोसल मिडियाले आम मानिसका लागिभन्दा कम्पनीहरुका लागि काम गरिरहेको छ । यिनका मालिकहरुले आफ्नो नाफालाई बढाउनका लागि यो प्रविधिलाई दुरुपयोग गरिरहेका छन् । यो दुरुपयोगका बारेमा मानिसहरु अनविज्ञ छन् वा अनविज्ञ राख्नका लागि षड्यन्त्र गरिएको छ । अहिले धन थुपार्दा थुपार्दै मालिकहरु यति बलिया भएका छन् कि यिनको नियमन गर्ने जिम्मेवारी लिनु पर्ने राज्यसमेत निरीह देखिएको छ । जसको फाइदा स्वभावतः सीमित त्यँही वर्गले उठाइरहेको छ ।  

सोसल मिडियामा प्रयोग हुने अल्गोरिद्म एउटा डिजिटल प्रोग्रामिगं हो । यो प्रोग्राम केका लागि गर्ने भन्ने उद्देश्य हुन्छ । अहिले यिनीहरुको उद्देश्य हो तथ्याकंको उत्खनन् । धेरै नाफा दिने वस्तुका रुपमा तथ्याकं आएकाले धेरै मानिसले लामो समय सोसल मिडियामा बिताए भने कम्पनीले तथ्याकंलाई अझै बढी जम्मा गर्न सक्छ । अहिले एआई प्रविधि विकास गर्ने प्रतिस्पर्धा चलेको समयमा तथ्याकंको व्यापार सबैभन्दा आकर्षक बन्न पुगेको छ ।  त्यसकासाथै अर्को के पनि हो भने जतिबढी प्रयोगकर्तालाई आफुसँग राख्न सके सोसल मिडियाले त्यति नै विज्ञापनदातालाई आकर्षित गर्न सक्छन् । थप आर्जन गर्न सक्छन् । 

अहिले एउटै व्यक्तिका कयौं सोसल मिडिया अकाउन्टहरु हुन्छन् । ति सोसल मिडिया कम्पनीहरुले मानिसको ध्यान तान्नका लागि यसलाई निःशुल्क चलाउन दिइरहेका छन् । वास्तवमा कम्पनीहरुको तीव्र प्रतिस्पर्धाको यो समयमा कमाई मानिसलाई खाता खोल्न पैसा लिंदा छैन । बरु, बढीभन्दा बढी चलाउन दिएमा हुन्छ । त्यसैले कम्पनीहरुले सत्य, तथ्य र स्वस्थकर कुराहरू मात्रै आफ्नो प्लाटफर्ममा राख्दैनन् । बरु यस्ता सबै कुरा छाडिदिन्छन् र कसरी बढीभन्दा बढी ध्यान खिच्न सकिन्छ त्योतर्फ लाग्छन् ।

जब कुनै नियमनमा नभएको र नाफा कमाउने उद्देश्यले प्रेरित भएको अल्गोरिदम्ले काम गर्न थाल्छ तब मानवका लागि आवश्यक राम्रा कुरा अगाडि आउँदैनन् । असत्य, अति भावनात्मक, अनैतिक, आश्चर्य पार्ने खालका र मानिसहरुमा आक्रोश उत्पन्न गर्ने खालका कुराहरू सतहमा आउन थाल्छन् । किनकि तिनै कुराले मानिसको ध्यान धेरै खिच्छन् । सोसल मिडिया अल्गोरिदम्को उद्देश्य त्यहि हो । र, अध्ययनले देखाएका छन् सत्य भन्दा झुट कुरा छ गुणा छिटो फैलिन्छ । भन्नुको मतलब त्यहि झुट फैलाउँदा कम्पनीलाई बढी नाफा हुन्छ र अहिले त्यही गरिरहेका छन् ।

अब लेखको शिर्ष भागतर्फ फर्कौं । गान्धीका तीन ओटा बाँदरहरूले दिएको सन्देशको विपरित सोसल मिडिया कम्पनीहरुले काम गरिरहेका छन् । नराम्रो देखाउने, नराम्रो बोलाउने र नराम्रो सुनाउने काम गरेर यिनले नाफा आर्जन गरिरहेका छन् । कुनै व्यक्तिलाई भाइरल बनाएर हुन्छ वा कुनैको चरित्र हत्या गरेर हुन्छ जसरी हुन्छ मानिसको ध्यान बढीभन्दा बढी खिच्न पाए सोसल मिडियालाई पुग्छ । नीति, नियम र नैतिकता केही कुराको मतलब नगरी कम्पनीहरुले अस्वस्थकर कन्टेन्टहरु मानिसहरुलाई दिइरहेका छन् । आम प्रयोगकर्ताको मानसिक स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेका छन् । 

सोसल मिडिया अल्गोरिदम्को विशेषता जतिसक्दो धेरै समय खिच्ने भएकाले जति यसको प्रयोग गर्यो त्यति नै व्यक्तिमा नशा लाग्ने हुन्छ । अर्थात्, अल्गोरिदम्ले मानिसलाई दुर्व्यसनमा फसाउने हुन्छ । खासगरी बच्चालाई उक्त नशामा फसाएर उसलाई अनेक अपराध, ठगी र तस्करीको शिकार बनाउँदै आत्महत्या गर्नसमेत बाध्य गराउने काममा यिनको भुमिका रहेको भनेर यिनका विरुद्ध केही देशमा मुद्दा चलेका छन् । यि कम्पनीका अपराधका विरुद्धमा कानुनी कारवाही गर्ने प्रयास पनि भएका छन् । ति प्रयासहरुले तत्काललाई परिणाम दिन नसक्दा यसको नोक्सानी बढीरहेको छ ।

सोसल मिडियामा मान्छे पुगे पछि जति नै सतर्क भएता पनि नराम्रा कुरा देख्न र सुन्न पर्ने भएकाले यसको प्रभाव हाम्रो मस्तिष्कमा पर्छ नै । यदि सोसल मिडियामा भाइरल हुने हो भने वा मान्छेको ध्यान खिचेर प्रसिद्ध हुने हो भने नराम्रो कुरा बोल्नु वा देखाउनु पर्ने हुन्छ । वास्तवमा सोसल मिडिया आफैमा बुद्धिमानी तीन बाँदरहरूले दिएको सन्देशका विरुद्धमा जाने होइन । बरु नाफाका लागि कुनै व्यक्तिको नियन्त्रणमा रहदा र तदनुरुपको उद्देश्य यसको अल्गोरिदम्लाई दिइदा यसले जे कुरा सुन्न, देख्न र बोल्न नपर्ने हो त्यहि कुरालाई गुणत्मक हिसाबले बढाएको छ । यो चुनौति हो । यसका बारे सचेत हुन तीन बुद्धिमानी बाँदरहरूले दिएको सन्देश मननयोग्य छ ।  
 

दिनेश सापकोटा राजनीतिक विश्लेषक हुन् ।