Skip to main content

के कांग्रेस बदलिएकै हो ?

Submitted by editor on
goat congress changed gagan
दिनेश सापकोटा
२०८२, फाल्गुन १२

नेपाली कांग्रेसको विशेष महाधिवेशन वैधानिक छ कि अवैधानिक भन्ने विषयको विवाद अदालतमा चुनाव पछि मात्रै टुङ्गाउने गरी थन्काइएको छ । यद्यपि, विशेष महाधिवेशनबाट चुनिएको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएर चुनावलाई अगाडि बढाएको छ । 

नयाँ कांग्रेसका सभापति गगन थापा भएका छन् । तर, गतिलो प्रतिस्पर्धाबिनै अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरू चुनिए । अन्य तलदेखि माथिसम्मको सबै संगठन पुरानै छ । हतार–हतारमा अधिवेशन गरी चुनावमा ‘होमिनु’ पर्ने बाध्यताका कारण हुन सक्छ धेरै कुरा लतरपतर भएका छन् । 

चुनाव अर्को हप्ता हुँदैछ । तर, कांग्रेसको खास चुनावी तयारी देखिंदैन । विशेष महाधिवेशनले पनि कार्यकर्तामा खास उत्साह ल्याउन सकेन । एक तरिकाले हेर्दा कांग्रेस र एमालेमा उत्साह नहुनु वा चुनाव नलाग्नुलाई स्वभाविकै मान्न पनि सकिन्छ । किनकि जेन जी आन्दोलन यीनिहरुका विरुद्धमा  भएको थियो । त्यो हिसाबले यी परास्त शक्ति हुन् । प्रतिगामी शक्ति हुन् ।  

तर, कांग्रेसमा गगन थापाको समूहले आन्दोलनको परिवर्तनलाई स्वीकार गर्यो । पार्टीको संस्थापन पक्ष अदालतमा संसद् पुनर्स्थापनाको मुद्दा लिएर जाँदा यो पक्षले चुनावका लागि सकारात्मक भूमिका खेल्यो । प्रष्ट भन्नु पर्दा यसको नेतृत्वले आन्दोलनका माग र यसले ल्याएको परिवर्तनलाई स्वीकार गर्यो । यो मानेमा काँग्रेस एमाले भन्दा फरक अवश्य देखिएको छ । 

यद्यपि, कांग्रेसको दाबी चाँहि त्यो भन्दा ठुलो छ । यो नयाँ नेतृत्वले कांग्रेस बदल्यौँ भन्ने दाबी गरेको छ । अहिले कांग्रेसको नारा छ ‘कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ’ । देश बदल्ने कुरा चुनावका लागि दिइएको नारा भएकाले त्यसको बारेमा अहिले नै केही भन्न सकिदैन । अहिलेलाई विश्लेषणको पाटो हो कांग्रेस बदल्यौँ भन्ने दाबी । 

यो दाबीका विषयमा आम मानिसहरू आश्वस्त हुन सकेको देखिदैन । कतिपयले के नेतृत्व बदल्नु कांग्रेस बदल्नु हो भनेर प्रश्न सोधेका छन् । कतिपयले बदलिएको कांग्रेसले जनताको लागि के कुरा गर्ने भयो त भनेर सोधेका छन् । यो सन्दर्भमा यो लेख के दाबी गरे जस्तै कांग्रेस बदलिएकै हो भन्ने प्रश्नको उत्तर खोज्ने प्रयासमा लेखिएको हो । 

हो, वास्तवमा कांग्रेस बदलिएको छ । यसमा केही विचित्रका परिवर्तनहरू आएका छन् । यस्ता परिवर्तन ‘न भुतो न भविष्य’ सम्भव छन् । खासगरी, कांग्रेसमा आएका चार महत्वपूर्ण परिवर्तनका विषयमा यहाँ कुरा गरौं जसले वास्तवमा कांग्रेसलाई बदल्दिएका छन् । यि परिवर्तन यस्ता आधारभूत परिवर्तन हुन जसले अब कांग्रेस सदाका लागि बदलिएको सन्देश दिएका छन् । 

पहिलो, व्यक्ति केन्द्रीयता । नेपाली कांग्रेसमा अहिले जस्तो व्यक्ति केन्द्रीयता केहिलै देखिएको थिएन । संस्थापक नेता बी. पी. कोइरालाको पनि यति धेरै व्यक्ति पूजा भएन होला जति अहिले गगन थापाको भइरहेको छ । उ बेला बी पीका विरोधीहरु पार्टीमा थिए । उनी जति शक्तिशाली भए पनि पार्टीमा नेता केन्द्रीयता वा नेतातन्त्रलाई ठाउँ दिएनन् । बी. पी. पछिका कुनै सभापतिले यतिविध्न आफुलाई केन्द्रमा राखेर पार्टी चलाउने काम गरेनन् । तर, अहिले कांग्रेस बदलिएको छ । यसको केन्द्रमा गगन आएका छन् । उनका नामका नारा, उनका नामका गीत र उनैका नाममा राजनीतिक परिकल्पना अहिले प्रस्तुत भएका छन् । उनको देवत्वकरण जसरी भएको छ कि उनको विरुद्धमा बोल्नेको दानवीकरण पनि त्यसरी नै हुने गरेको देखिन्छ । 

गगनको अंग्रजी नाम जी.ए.जी.ए.एन्.लाई नै न्यूनकोटीको एब्रिभिएसन (संक्षिप्तीकरण)मा लगेर पार्टीको भिजन प्रस्तुत गर्ने कामहरु भएका छन् । उनका तस्वीरलाई पार्टीको केन्द्रमा यसरी पुर्याइएको छ कि संभवतः छिटै कांग्रेसमा बी. पी.लाई पनि भुलाइने अवस्था बन्दैछ । गगन बोल्ने तरिकाको अनुसरण, उनले लगाउने टिका र फूलको अनुसरण, उनले लगाउने कपडाको अनुसरण जस्ता अन्धानुसरणहरु कांग्रेस कार्यकर्तामा देखिएका छन् । वास्तवमा कांग्रेस लोकतान्त्रिक पार्टी जस्तो नभएर अब यो कुनै व्यक्तिको नियन्त्रण र उसको निजी ‘कल्ट’का आधारमा चल्ने सम्प्रदाय जस्तो बनेर बदलिएको छ । त्यसकारण वास्तवमा कांग्रेस बदलिएको छ । 

दोश्रो, कांग्रेसमा देखिएको अर्को बदलाव हो लोकप्रियतावाद । कांग्रेसले यसरी कहिलै लोकप्रिय, अव्यवहारिक र हावादरी कुरा उठाएन जसरी अहिलेकोले उठाउँदै छ । मिडिया, सोसल मिडिया र चिया पसलको छलफलबाट प्रभावित भएर मुद्दा उठाउने कुरामा कांग्रेस अहिले अगाडि देखिएको छ । नेपाली कांग्रेस देशलाई मुद्दा दिने, मिडियालाई विषय दिने र आम मान्छेलाई राजनीतिक छलफलको खुराक दिने पार्टी थियो । यसले कहिलै पनि चुनाव जित्नका लागि नारा दिएन, बरु चुनाव हार्न यो तयार भयो । यो पार्टीले राणा शासन, पञ्चायती तानाशाही र माओवादीको हिंसाका विरुद्धमा उभिदा देशलाई नेतृत्व दियो र लोकतन्त्रमा सम्झौता गरेन । त्यसैको परिणाम हो अहिलेसम्म देशमा कांग्रेस छ । 

यद्यपि, अहिलेको कांग्रेस दक्षिणपन्थी लोप्रियतावादमा लतपतिएको छ । थापा पछिल्ला वर्षहरुमा हिन्दू धर्मलाई राजनीतिमा प्रयोग गर्ने प्रयासमा लागेका छन् । महाकुम्भ मेलामा गएर त्यसको राजनीतिकरण गरेर हुन्छ, राजनीतिक भाषण वा भिडियो बनाउँदा निधारको टिका र फूलको प्रदर्शन गरेर हुन्छ वा धर्मनिरपेक्षाताको विरोध गरेर हुन्छ उनले बहुसंख्यकको तुष्टिकरण गर्ने नरम ‘हिन्दुवादी’ राजनीति गरिरहेका छन् । उनले हिन्दु चाडबाडलाई आफ्नो राजनीतिक फाइदाका लागि प्रयोग मात्रै गर्दैनन् बरु भिजिलान्तेहरुले अन्य अल्पसंख्यकका विरुद्ध हिंसा गर्दा चुप बस्ने गर्छन । यो उनको दक्षिणपन्थी राजनीतिको ‘ट्रेलर’ हो जसको मात्रा समयक्रममा बढ्दै जाने देखिन्छ । 

वास्तवमा थापा पछिल्लो समय देखिएको लोकप्रियतावादले जन्माएका नेता हुन् । उनले पार्टी पुनर्निर्माणका कुरा उठाएरै अगाडि बढे । केन्द्रीय सदस्य हुँदा होस् वा महामन्त्री हुँदा उनले पार्टी बनाउनु पर्ने लोकप्रिय कुरा गरेरै त्यहाँ पुगे । तर, पार्टी सुधार भएन । यद्यपि, फेरी पनि अरुलाई दोष दिदै पार्टी सुधारकै लोकप्रिय कुरा गरेर उनी सभापति भएका छन् । बिडम्बना भनौं वा स्वभाविक उनी सभापति हुँदा पार्टीमा लोकतन्त्र झन् कमजोर भएको छ भने उनेले पार्टी सुधारका लागि उठाएका चुनाव अगाडि गठबन्धन नगर्ने भन्ने कुरा बाहेक अन्य कुनै मुद्दा कार्यान्वयनमा लान सकेनन् । 

यद्यपि, नयाँ कांग्रेसले पार्टी बदलिइसकेको घोषणा गरेको छ । कांग्रेसका चुनावी सभा र त्यँहा दिइएका भाषण हेर्दा के देखिन्छ भने कांग्रेसले थापाको अनुहार देखाउने बाहेक अन्य मुद्दा अगाडि बढाउन सकेको छैन । अर्थात्, नयाँ कांग्रेसले थापा सभापति हुनु नै पार्टी बदलिनु हो भन्ने सन्देश दिन खोजेको छ । त्यसकारण थापाको राजनीति सत्ता वा भोटका लागि गरिएको उनीकेन्द्रीत राजनीति हो भन्न सकिन्छ । यो देशको संविधान र लोकतन्त्रका लागि हितकर छैन । कांग्रेसका लागि पनि छैन । यसले चुनाव जिताउने सम्भावना देखिदैन । तर, यसले कांग्रेसलाई भने बदली नै सकेको छ ।    

तेश्रो, प्रतिक्रियावाद । अहिले नेपाली कांग्रेसमा प्रतिक्रियावाद हाबी भएको छ । सिर्जनशीलता छैन । निर्लज्ज नाराको आयत भएको छ । यो दल यसरी प्रतिक्रियावादमा सिमिति भएको छ कि यो कुरा हेर्नेलाई पनि उकुसमुकुस लाग्ने अवस्था छ । यो नेपाली कांग्रेसको इतिहासमा कहिलै नभएको कुरा हो । रास्वपा जस्तो कमजोर धरातल भएको दल र बालेन्द्र साह जस्ता गैरराजनीतिक पृष्ठभूमि वा अनुभवको अभाव भएका व्यक्तिका अगाडि कांग्रेस निरीह देखिएको छ । रास्वपाको प्रतिक्रिया दिन व्यस्त हुनु भनेको यसले कांग्रेसको विचारशून्यतालाई मात्रै देखाउँदैन, यो पार्टी कस्ता व्यक्तिहरु वा नेतृत्वको नियन्त्रणमा गएछ भन्ने कुरा पनि पुष्टी गर्छ ।  

कांग्रेसमा पछिल्लो समय देखिएका प्रतिक्रियावादका धेरै उदाहरणहरु छन् । एउटा, वियोगान्त उदाहरण हेरौं । गगन थापालाई बाख्रा पाल्छु भनेर पैसा खायो भन्ने आरोप लाग्यो । यो पुरानो आरोप हो । यो आरोप खास गम्भीर थिएन । तर, सोसल मिडियाले यसलाई बारम्बार दोहोराइ रह्यो । पहिला एमालेले गर्यो र अहिले रास्वपाले यो आरोपलाई गगनको चरित्रहत्या गर्न प्रयोग गरिरहेको छ । गगनले यो विषयमा बारम्बार स्पष्टीकरण पनि दिएका छन् । वास्तवमा यो आरोपलाई उनले बेवास्ता गर्नु पर्ने हो । तर, थापा वा उनका समर्थकले यसमाथि अबौद्धिक प्रतिक्रिया दिएर आफ्नो खुट्टामा आफै बन्चरो हान्ने काम गरेका छन् । 

बाख्राको आरोपलाई परास्त गर्न नसके पछि त्यसको प्रतिक्रियामा ‘हो गगन बाख्रा नै हो’ भन्ने स्वीकारोक्ती उनीहरुमा देखिन्छ । यो झुठो आरोपका अगाडि हार हो । यसको व्याख्या ‘गोट’मा लगेर अंग्रेजीकरण गरेर ‘जी’ बाट यो ‘ओ’ बाट यो भनेर जति नै राम्रो व्याख्या गरे पनि त्यसले अर्थ राख्दैन । गलत आरोपको अगाडि आत्मसमर्पण गर्नु प्रतिक्रियावादको पनि अत्यन्तै निम्छरो तरिका हो । कांग्रेस अहिले यसैको शिकार भएको छ । र, यो वास्तवमै बदलिएको छ ।

चौंथो, सबैभन्दा महत्वपूर्ण विषय हो नयाँ कांग्रेसले स्थापनाकालीन विचार छोडेको छ । उक्त वैचारिक दृष्टिकोण हो लोकतान्त्रिक समाजवाद । नेताका भाषण, अन्य दस्तावेज र घोषणापत्रबाट समाजवाद हट्दै गएको छ । यद्यपि, समाजवाद छोडेको औपचारिक रुपमा घोषणा गर्न भने बाँकि छ । त्यसका लागि उपयुक्त समयको पर्खाइ होला । गगन थापाले सामाजिक लोकतन्त्रको कुरा गर्ने गर्छन् । यो विचार पुँजीवादी हो । उनको वरिपरिको समुह र सल्लाहाकारहरु खुल्ला बजारको वकालत गर्ने नवउदारवादीहरु छन् । 

वास्तवमा अहिलेको कांग्रेसले लोकतान्त्रिक समाजवादले जस्तो स्वस्थ लोकतन्त्रका लागि आर्थिक र राजनीतिक अधिकारबीचको सन्तुलनको कुरा गर्दैन । यो पुँजीपतिको सानो वर्गलाई धनी बनाएर, लगानी बढाएर, ठुला उद्योगहरु खोलेर रोजगार सिर्जना गर्ने मिति गुर्जिसकेको ‘ट्रिकल डाउन’ मोडलमा विश्वास गर्ने समुहमा बदलिएको छ । यो कांग्रेसमा बहुसंख्यक गरिब जनताको चिन्ता छैन न यसमा पर्यावरणीय संकटको नै चिन्ता छ । 

कांग्रेसको स्थापनाकालीन आर्थिक नीति मध्यको प्रमुख नीति प्रगतिशील करको नीति हो । कांग्रेसको अवस्था अहिले कहाँ पुगेको छ भने यसले धनीलाई कर छुट दिने चुनावी वाचा गरेको छ । कर छुट दिने 'प्रो-प्राइभेट' नीति लिइने छ  भन्ने यसको घोषणा छ । शिक्षा र स्वास्थ्यमा निजीकरणलाई थप अगाडि बढाउने दिशामा यो बढेको छ । 

वास्तवमा नेपाली कांग्रेस अहिले उल्टिएको छ । यसलाई दृष्टिकोण अनुसार सुल्टिएको भन्न पनि सकिएला । तर, यसको स्थापनाकालीन सपना परिवर्तन भएको छ । यो एकै पटक गगन थापा नेतृत्वमा आए पछि भएको भने होइन । यो प्रक्रियामा तीव्रता २०४६ पछि आएको थियो । विचार एउटा र व्यवहार अर्को भएर कांग्रेसभित्र अनेकन विरोधाभाषका समस्याहरु सिर्जना भएका थिए । समाजवादका लागि स्थापना भएको दलले पुँजीवाद अंगालेर भविष्यमा सफल हुन गाह्रो देखिएता पनि नयाँ कांग्रेसले राम्रो के गर्दै छ भने पुरानो समाजवादी विचारलाई त्यागेर विचार र व्यवहारमा एकरुपता निर्माणको प्रयास गर्दैछ । जुन प्रयास सबैका लागि नभए पनि केही मान्छेका लागि भने सुःखद् छ ।  
 

दिनेश सापकोटा राजनीतिक विश्लेषक हुन् ।