Skip to main content

झोलेलाई होईन, ‘झोलेन्दो’लाई घृणा गरौँ

Submitted by editor on
Jhole, stigma झोले लाञ्छना झोलेन्दो
दिनेश सापकोटा
२०८२, साउन २०

झोले लामो समयदेखि नेपाली राजनीतिमा प्रयोग भई आएको शब्द हो । यद्यपि, एक गम्भीर समस्याका रूपमा यसको विश्लेषण र मन्थन चाँहि भएको छैन । झोलेको अधिकतम प्रयोग लाञ्छित गर्नका लागि भएकाले पनि हुन सक्छ यो मूलधारको छलफलमा आउन सकेन । आइहाल्यो भने पनि एउटा ठट्टाका रूपमा मात्रै सीमित भयो । दलभित्र यसलाई आपत्तिजनक विषय मानियो र हरदम दबाउने प्रयास गरियो ।

तर, केहि दिन अगाडि एमाले नेतृत्वले झोले हुनुमा सार्वजनिक रूपमै ‘गर्व’ व्यक्त गरेसँगै यसले अलि गम्भीर छलफलका लागि अवसर पाएको छ । उक्त घटनाले अब राजनीतिमा झोले सिमान्तकृत विषय रहने छैन भन्नेतर्फ संकेत गर्दछ । यो सकारात्मक कुरा हो ।  

हुन त एमाले नेतृत्वले झोले भएको कुरा स्वीकार गर्दैमा नेपाली लोकतन्त्रको यो दीर्घ रोग भर्खरै निको हुने होईन । त्यसमाथि एमालेले यो समस्यालाई समस्याका रूपमा स्वीकार गरेको छैन । बरू यसले झोलेको लाञ्छनाबाट बँच्न यसैलाई शिरोधार्य गर्ने असंगत बाटो लिएको छ । एमालेको उद्देश्य झोलेन्दोको समस्यालाई ढाकछोप गर्ने मात्रै देखिन्छ ।

एमालेले झोले हुनु रैती हुनुभन्दा उपयुक्त हो भन्ने तरिकाले ‘झोले अभियान’लाई अगाडि ल्यायो । राजावादीहरूले गणतन्त्रवादीको मनोबलमाथि आक्रमण गर्न झोले भनेर हेय गरेको कुरालाई प्रतिवाद गर्नका लागि मात्रै उक्त कुरा गरेको देखियो । खासमा एमालेले गणतन्त्रवादी जति सबै झोले हुन् भन्ने पारेर ‘झोलेन्दो’को समस्या गणतन्त्रको आवरणमा लुकाउने धृष्टता गरेको देखियो । वास्तवमा यो राजावादीले मात्रै प्रयोग गर्ने शब्द थिएन/होईन ।

एमालेले झोले अभियानमार्फत यो शब्दको परिभाषालाई नै परिवर्तन गर्ने मनसाय देखायो । झोलामा गणतन्त्र, विचार र राष्ट्रियता जस्ता कुरा छन् भनेर पुष्टि गर्ने प्रयास गर्यो । झोल खानेलाई झोले भनिन्छ भन्ने जस्ता हास्यास्पद कुरा समेत नेतृत्व पंक्तिबाटै आए । यस्ता तर्कले लामो समयदेखि एक तरिकाले बुझिएको शब्दको अर्थ परिवर्तन हुने सम्भावना थिएन, भएन ।

वास्तवमा एमालेका लागि यो झोले अभियान प्रत्युत्पादक बन्यो । मुलतः यो अभियान नेतृत्वपंक्तिले एक दिन सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्ने पोष्टर हाल्ने कुरामा मात्रै सीमित रह्यो । कार्यकर्ता पंक्तिले यसलाई अनुशरण गर्न धक मान्यो । यसमार्फत पार्टी कार्यकर्ताको थप मानमर्दन गर्ने काम आफ्नै नेतृत्वले गरे जस्तो मात्रै हुन गयो ।

एमाले नेतृत्व पंक्तिले झोले हुनुमा गर्व गर्नु पर्छ भन्नु र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मलाई ‘थाहा छैन’ भनेर तर्किनु समस्यालाई बेवास्ता गर्ने पुरानै परम्परा हो । नेतृत्वको यो तरिकाले कांग्रेस–एमाले, देश र लोकतन्त्र कसैलाई पनि फाईदा पुग्ने होईन । बरू यसले कार्यकर्ता, आन्तरिक लोकतन्त्र र पार्टी जीवन हुँदै अन्ततोगत्वा बहुदलीय लोकतन्त्रलाई नै थप नकारात्मक असर गर्छ । दलहरूले गर्नु पर्ने चाँहि यस समस्यालाई स्वीकार गरेर अगाडि बढ्नु पर्ने हो ।

झोले एक लाञ्छना

सांस्कृतिक होस् वा राजनीतिक जुनसुकै भएता पनि समस्यामा परेको व्यक्तिलाई लाञ्छित गर्नु समाधानको सही तरिका होईन । त्यसकारण नागरिक स्तरबाट झोलेलाई जसरी लाञ्छित गर्ने काम भएको छ त्यो गलत छ । यसो गर्नु समस्यालाई दबाएर थप विकराल बनाउनु हो । लोकतन्त्रलाई बलियो बनाउन त यसलाई समाधान नगरी नहुने छ ।

कुनै पनि लाञ्छनालाई हटाउन संवेदशील हुन जरूरी छ । त्यसका लागि लामो, सक्रिय र वैज्ञानिक प्रयास चाहिन्छ । समाजले झोलेलाई लाञ्छित गर्दा, पार्टी नेतृत्वले समाधान गर्ने भन्दा नजरअन्दाज गर्दा र यसैमा थप झुटो गर्व गर्दा झोलेन्दोको समाधान हुन सकेको छैन । झोलेहरू लामो समयदेखि लाञ्छना लिएर हिंड्न विवस छन् । यसको मूल्य तिनै पीडितले चुकाउनु परेको छ । व्यक्तित्व र चरित्रमा क्षयीकरण सहनु परेको छ । समाजमा बदनाम अनुहार उनीहरूले नै देखाउनु परेको छ । उनीहरूको यो कमजोर आत्मसम्मानको सिधा असर बहुदलीय व्यवस्थामा परेको छ । फाइदा कसैलाई भएको छ भने दलाल चरित्रको नेतृत्वपंक्तिलाई मात्रै भएको छ ।  

झोले प्रवृत्तिले पार्टीभित्रको दुरूह लोकतन्त्रको तस्वीर मात्रै देखाउँदैन, यसले झोले कार्यकर्ता र अधिनायकवादी नेतृत्वबीचको शोषणको सम्बन्धलाई पनि देखाउछ ।  खासमा भन्दा नेता र झोलेबीचको सम्बन्ध शोषणको सम्बन्ध हो । नेताले उनीहरूको नैतिकता, समय, भावना र श्रममाथि शोषण गर्छन । यसरी लामो मानसिक शोषणका कारण झोलेहरूको चेतना बन्धक बन्न पुग्छ । दासी मनोवृत्तिको विकास हुन्छ । त्यसलाई यहाँ ‘झोलेन्दो’ भनिएको हो ।

एमाले कार्यकर्ताले झोले अभियानको विरोध त गर्न सकेनन् तर पुरै स्वीकार पनि गरेनन् । सबैले नेतृत्वले जस्तो गर्व गरेर पोष्टर हालेनन् । कतिपयले झोले अभियान गलत थियो भनेर बोले पनि । यसले उनीहरूको चेतना नमरिसकेको मात्रै देखाउँदैन बरू यो अभियान एमालेमा आन्तरिक धुव्रीकरण ल्याउने एक प्रमुख घटना बन्ने देखिन्छ । यसको प्रभाव भविष्यसम्म हुने प्रष्ट संकेत देखिएका छन् ।

एमालेका झोलेहरूले यो अभियानलाई स्वीकार नगरेर झोले चेतना समस्याग्रस्त चेतना हो तर मृत होईन भन्ने सन्देश दिएका छन् । यो घटना पछि एमाले भित्र नेतृत्वको बहुलठ्ठीपनको विरोधमा आवाज उठ्न थालेका छन् । यसको अर्थ हो कार्यकर्ताको ठुलो तप्काले कुनै पनि बेला नेताको शोषणलाई अस्वीकार गर्न सक्छ । यद्यपि, त्यसो हुँदा एमाले अहिले कै एमाले चाँहि नरहन सक्छ । फुट र विघटनतर्फ जान सक्छ ।

निशंकोच झोलेन्दोको समस्या नेपाली राजनीतिको प्रमुख समस्या हो । झोलेन्दो एमालेमा मात्रै छैन, सबै दलमा छ । बरू त्यो कर्मचारीदेखि शिक्षक, नागरिक समाजदेखि अस्पताल व्यवस्थापन र संवैधानिक निकायदेखि मिडियासम्मै अनेकन रूपमा छ । यसले नेपाली राज्यको लोकतान्त्रिकरणलाई अवरोध गरेको छ । यसको समाधानमा गम्भीर हुनु पर्ने नेतृत्वले यसलाई स्वीकार गरेर गर्व गर्नु भनेको अकल्पनीय स्खलन हो । यो घटनाले समस्याको छिटोभन्दा छिटो समाधान नगरे नेपाली लोकतन्त्रमा संकट आउनेतर्फ संकेत गर्दछ ।

झोले प्रवृत्ति वा झोलेन्दोको समाधान गर्न मुलतः तीन काम गर्नु पर्ने देखिन्छ ।

पहिलो, राजनीतिमा कालो पैसाको प्रभाव घटाउने ।

दलभित्रको आन्तरिक प्रतिस्पर्धामा धनको अवाञ्छित प्रभाव छ । अधिवेशनमा जित्ने, नेताको नजिक पुग्ने र चुनावमा टिकट पाउने सबै कुरा धनले निर्धारण गर्छ । पैसाले नै पार्टीको सत्ता कब्जा गरे पछि यसले जे बोल्छ त्यहि सत्य हुन थालेको छ । वास्तवमा पैसा भएका मान्छेको चाहनामा दल चल्न थालेका छन् । पैसा नहुनेले राजनीति गर्नु हुँदैन भन्ने भाष्य नै स्थापित हुँदै गएको छ ।  

तर, झोलेन्दोको समस्या यत्ति कारणले मात्रै भएको भने होईन । पैसाको अधिक चलखेल हुन थाले पछि दलहरू अब कालो पैसाको भरमा मात्रै चल्न सक्ने भएका छन् । वास्तवमा यिनमा दलालीको प्रभाव निर्णायक भएको छ । यस्तो बेला नेतृत्वको स्वार्थमा बोल्यो वा आफु पनि दलालीको पछि लाग्यो भने मात्रै राजनीतिक जीवन अगाडि बढ्ने नत्र नहुने कुरा कार्यकर्ताले बुझेका छन् । तर, यसो गर्दा चरित्र खराब भएर समाजमा चाँहि बदनाम हुने विलखबन्दको अवस्था छ उनीहरुको । नैतिकता कि राजनीति यि मध्ये एउटा रोज्नु पर्ने दुविधामा दलका कार्यकर्ता छन् । यो अवस्थाले उनीहरुलाई अनैतिकता स्वीकार गरेर झोले बन्न बाध्य पारेको छ ।

दोश्रो, पार्टीको संरचना घटाउने ।

राजनीतिक दलहरूका संरचना भद्दा छन् । तीन करोड जनसंख्या भएको देशमा सयभन्दा बढी दल छन् । पछिल्लो समयमा केही कमी देखिएता पनि प्रमुख दुई दल कांग्रेस–एमालेका मात्रै सदस्यता लिने करिब बीस लाख मान्छे छन् । यसले दलहरूको संरचनालाई बोझिलो बनाएको छ । 
देशमा लोकतान्त्रिक संविधान छ । बलियो स्थानीय तहसहितको संघीयता छ । यो अवस्थामा आन्दोलनको बेला जस्तो दलमा यति धेरै मान्छेको आबद्धता जरूरी छैन । तर, दलहरूले त्यतापट्टि सोचीरहेका छनैनन् । बरू सके अझै सदस्यता बढाउने भन्नेमा उनीहरू देखिन्छन् । सिण्डिकेट फैलाउने उद्देश्यले यस्तो भएको छ । तर, यसले दलमा सक्षम मान्छे ल्याउने भन्दा पनि जसरी हुन्छ संख्या बढाउने भन्ने दबाब सिर्जना गरेको छ । जब दलमा क्षमता नभएका मान्छे दबाबमा वा लोभमा सदस्य बन्छन् उनीहरूले दलप्रति आफ्नो जिम्मेवारी निभाउन सक्दैनन् । यसले झोलेन्दोको समस्यालाई थप विकराल बनाएको छ ।

तेश्रो, नागरिक चेतना बढाएर झोलेन्दोको विरोध र झोलेप्रति समभाव राख्ने बहस चलाउनु पर्छ ।

यो विषयमा केही माथि छलफल गरियो । अवश्य पनि झोलेन्दोको समस्या समाधान गर्न पहिला झोलेलाई लाञ्छित गर्न छोड्नु पर्छ । उनीहरू बहुदलीय व्यवस्थामा आएको विकृतिका उपज हुन् । वा, पीडित हुन् । उनीहरू नेताद्वारा शोषित पनि छन् । उनीहरूको जीवन कसैको झोला बोक्दैमा गएको छ । उनीहरूले गरेका कामले कम उपलब्धि दिए पनि वा भ्रष्टै भए पनि यो व्यवस्था भरथेग गरेका छन् । त्यसका लागि उनीहरूलाई धन्यवाद दिनै पर्छ । व्यक्तिगत रुपमा उनीहरू करूणा बाहेक अरू कुराका लागि योग्य छैनन् । 

दिनेश सापकोटा राजनीतिक विश्लेषक हुन् ।