Skip to main content

तीव्र पतनको शृङ्खला र 'अल्ट्रा मोडर्न आइडियोलोजी'को खोजी 

Submitted by editor on
It is an image created by AI
दिनेश सापकोटा
२०८२, पुष १३

आम मान्छेले आफ्नो वरिपरिको समस्यालाई नै ठूलो समस्या ठान्छन् । यद्यपि, हाम्रो राजनीतिमा देखिएको समस्या नितान्त नेपालको मात्रै समस्या नभएर विश्वव्यापी संकटको एक उदाहरण हो । यसलाई स्थानीय स्तरको समस्याका रूपमा मात्रै हेरियो भने समाधान गर्ने कुरा त छाडिदिउँ, सही ढंगले बुझ्न पनि सकिँदैन । हो, स्थानीय विशिष्ट समस्याहरू स्थानीय विधिबाटै समाधान गर्नुपर्ने सन्दर्भ पनि छन् । तर, जसरी अहिले विश्वभरिका समाजहरू एकअर्कामा जोडिएका छन् त्यसैगरी समस्या पनि जोडिएका छन् । यो वास्तविकतालाई कुनै पनि हालतमा बिर्सिन मिल्दैन । तिनको विश्लेषण र व्याख्याका लागि त्यही स्तरको अध्ययन, ज्ञान र सुझबुझ जरुरी छ । एकाङ्की चिन्तनले यसको समाधान गर्न सक्दैन । त्यसका लागि त बहुमुखी, बृहत्तर, समावेशी, लचक, लोकतान्त्रिक र विश्वव्यापी चिन्तन जरुरी छ । काम गर्ने स्थानीय तहमा भएता पनि वा देशभित्र भए पनि चिन्तन र ज्ञान चाँहि विश्वव्यापी भएन भने निकास निकाल्न सकिने सम्भावना छैन । 

देशमा नेपाली कांग्रेस र एमालेले लामो समय शासन गरे । पछिल्लो दुई दशक माओवादी पनि आएर गर्यो । ति पुराना दल र तिनका नेता विचारबाट भड्किए । तर यो वैचारिक भड्कावको समस्या भर्खर र एक्कासि देखिएको समस्या होइन । दक्षिणपन्थी राप्रपादेखि वामपन्थी माओवादीसम्म जुनसुकै विचार बोकेर हिँडेका भएपनि यिनीहरूको चरित्रमा लगातार भ्रष्टिकरण आएकै हो । हामी सबैले देखिरहेका छौं सबै दल र तिनका नेतामा एकै प्रकारको चारित्रिक समस्या देखिएको छ । त्यो समस्या कस्तो छ भन्दा भौतिक, मौद्रिक र निहित स्वार्थका लागि व्यक्तिले नैतिकतालाई दाउमा राख्ने, त्यसको तस्करी गर्ने, विश्वास र मानवताको बेचबिखन गर्ने, झुटको खेती गर्ने अनि धन दौलत जम्मा गरेर त्यसैको भरमा शक्ति आर्जन र सत्य स्थापित गर्ने दृष्टता गर्ने । यस्तो प्रवृत्तिलाई हामी आम रुपमा दलाली भन्छौं । यो दलाल प्रवृत्ति एक सांस्कृतिक रोगका रुपमा विकास भएको छ । 

त्यो दलाल प्रकृतिको भ्रष्टताका लागि सामान्य रुपमा व्यक्तिलाई जिम्मेवार ठहराउने गरिन्छ । उक्त व्यक्ति लोभी पापी भएर यस्तो भएको हो । इमानदार मान्छे सत्तामा गयो भने सबै कुरा ठिक हुन्छ भन्ने ठानिन्छ । झट्ट हेर्दा व्यक्ति कर्ता भएकाले ऊ नै जिम्मेवार देखिन्छ पनि । तर, यो आंशिक सत्य मात्रै हो । किनकि यो समस्या नेतामा मात्रै होइन हाम्रो समाजको संस्कृतिमा नै देखिइसकेको छ । यो सर्वव्यापी बनेको छ । आम मान्छेसमेत यो सांस्कृतिक रोगबाट ग्रसित छन् । त्यसकारण के भन्न सकिन्छ भने अहिले देखिएको भ्रष्टताका लागि व्यक्ति भन्दा बढी उनीहरुले लिएर हिँडेको विचार जिम्मेवार छ । यो किन भएको हो भने भौतिकवादको चरम अतिक्रमणका कारण सामाजिक व्यवस्था सञ्चालनका लागि निर्धारण गरिएका नैतिक नियम र विधिहरूमा संकट आएको छ । जुन संकट राजनीतिमा चाहिँ थप प्रखर र मुखरित भएको छ । यसको समाधानका लागि पनि राजनीति नै अग्रसर हुनुपर्ने भएकाले बहसको केन्द्रमा राज्य, संविधान, दल, नेताहरू नै हुने गर्छन् जुन स्वभाविक हो । त्यो सन्दर्भमा राजनीति दलाल राजनीति हो वा दलाली हो भन्दा फरक नपर्ने अवस्था सिर्जना भएको छ । यसको समाधानका लागि व्यवस्थाको आधारभूत नैतिक धरातलाई बदल्नु पर्ने छ । आम मानिसहरुबीच जागरण ल्याएर उनीहरुको स्वभावलाई नैतिक बनाउने उद्देश्यले बदल्नु नै पर्ने अवस्था देखिएको छ । 

वास्तवमा विद्यमान विचारहरूले अगाडि देखिएका समस्याहरूको निदान र निराकरण गर्न नसक्दा त्यसको प्रभाव दल र तिनका नेतामा देखिएको हो । त्यही समस्या फैलिएर समाजभरि भएको छ । अझै प्रष्टसँग भन्नुपर्दा राजनीतिक दलहरुमा भ्रष्टिकरण खासगरी पुँजीवादका विरुद्ध लड्न नसक्दा आएको हो ।‌ वा, यो व्यवस्थाले ल्याएका समस्याको व्यवस्थापन गर्न नसक्दा उत्पन्न भएको हो । अर्थात् अहिले अवस्था कस्तो छ भने पुराना दलहरुका विचार पुँजीवादबाट परास्त भएका छन् तर नयाँ स्थापित भइसकेका छैनन् । विचार चाहिँदैन भन्ने लोकप्रियतावादी, फासिष्ट प्रवृत्तिका व्यक्तिहरु नेताका रुपमा उदाउने जोखिम देखिएको छ । त्यसकारण यसलाई विचारमा देखिएको शून्यताले ल्याएको सङ्कटको अवस्था हो पनि भन्न सकिन्छ ।

अवश्य विचारको राजनीति गर्छौँ भन्ने पुराना दलहरूको दलालीकरण भएर उनीहरूका नेता–कार्यकर्ताको इमानमा गम्भीर समस्या देखिएको छ । उनीहरूको विश्वसनीयताको करिब करिब अन्त्य भएको छ । उनीहरू यतिसम्म ढोङ्गी देखिन थालिसके कि उनीहरूले विचारको कुरा गर्नु भनेको विचारकै मानमर्दन गर्नु बराबर भएको छ । यो प्रवृत्ति लामो समय दोहोरीइरहँदा मान्छेलाई अहिले के पर्न थालेको छ भने 'विचार सिचार भन्ने कुरा बेकार'को कुरा हो । अल्मल्याउने कुरा हो । आफ्नो कमजोरी र भ्रष्टतालाई छोप्ने बहाना मात्रै हो । 'बाद साद' किन चाहियो ? काम गरे त भइहाल्यो । 

हो, अब पुरानो विचारले काम गर्दैन । गर्न सकेन । पुरानो विचार निर्माण गर्ने तरिकाले निर्माण गरिएका नयाँ विचारले पनि काम गर्ने देखिँदैन । एकातर्फ विज्ञान र प्रविधिले फड्को मारेको छ । अवश्य पनि यसले ऐतिहासिक अवसरसँगै चुनौति पनि ल्याएको छ । अहिले सिन्थेटिक बायोलोजीदेखि एआईको जमाना छ । परमाणु हतियारको जोखिम टाउँकामाथि झुड्याइँएको तरवार जस्तो छ । भौतिकता र अभौतिकताको अन्तर मेटिने गरी विज्ञानले विकास गरेको छ । अर्कोतर्फ पर्यावरणीय संकटदेखि सामाजिक–सांस्कृतिक–आर्थिक संकटले हामीहरू घेरिँदै छौँ । यो बेला हामीहरूलाई विचारहीन भुइफुँट्टा राजनीति होइन नितान्त नयाँ विधिबाट निर्माण गरिएको नयाँ विचार चाहिएको छ । अर्को शब्दमा भन्दा 'अल्ट्रा मोडर्न आइडियोलोजी' अहिलेको आवश्यकता हो । अर्थात्, विचार नभई राजनीति अगाडि बढ्न सक्छ भन्ने होईन, अहिले नयाँ लक्ष्य, उद्देश्य र कार्यक्रम दिने परिष्कृत विचारको आवश्यकता हो । यो कुरा पुरानो विचारको मृत्यु भएर नयाँ नजन्मिदै गरेको संक्रमणकालीन अवस्थामा अनुभुति नभए पनि शान्ति, स्थायित्व र खुसीका लागि यसको विकल्प छैन । 

नेता र दलको मात्रै कुरा होइन बिना अवरोध पुँजीवादले आफ्नो फँडा फैलाउँदै जाँदा अहिले आम मान्छेहरू यसबाट सबैभन्दा नराम्रोसँग प्रभावित भएका छन् । यसले फैलाएका रोग, भोग, तृष्णा, डाहा, प्रतिस्पर्धा र व्यक्तिवादी स्वार्थ यतिसम्म हावी भएका छ कि मानवता अत्यन्तै कमजोर भएको छ । राजनीतिमा भौतिक विकासको भाष्य बलियो गरी गड्न पुग्नु र विचारबिना राजनीति हुन्छ भनेर ठान्नु त्यसैको परिणाम हो । वास्तवमा विचार बिना राजनीति हुन्छ भनेर ठान्नु नबुझेर नै पुँजीवादलाई अँगाल्नु हो । किनकि पुँजीवाद त विचार हो । यसलाई हटाउनका लागि वा यसले उत्पन्न गरेका समस्याको समाधानका लागि विचारविना सम्भव छैन । विचारलाई कम आँक्ने पार्टी र नेतृत्वलाई यो व्यवस्थाले झनै छिटो स्खलित गर्छ । र, विचारको तेजोबध गरेर जन्मिने नेतृत्व नैतिक मियोबिनाको दाइँ गर्ने स्थितिमा पुग्छ । यदि त्यस्तो नेतृत्व जबरजस्ती टिक्न खोज्यो भने तानाशाही बन्नुको विकल्प रहँदैन । वर्तमानमा हाम्रो देशको परिदृश्य त्यतैतिर उन्मुख देखिन्छ । यो खतरातर्फ मानिसहरूले ध्यान दिनुपर्ने ठाउँमा यसलाई नजरअन्दाज गर्ने मूर्खता गरिरहेका छन् । किनकि अहिले उनीहरुमा विचारप्रति रोश छ । वास्तवमा यो रोश वर्तमानको सबैभन्दा चुनौतीपूर्ण कुरा हो । 

अहिले हाम्रो देशको सन्दर्भ विश्व सन्दर्भभन्दा खासै फरक देखिँदैन । नयाँ पुराना भन्ने कुरा छाडिदिऔँ विचार बिना राजनीति हुन्छ भन्ने भुईंफुट्टाहरूको हालीमुहाली छ । समाज, राजनीति, दल र नेतृत्वमा दलाली हावी छ । दलाली नै यिनीहरुको विचार बनेको छ । नयाँ पुस्ताका राजनीतिज्ञहरूमा त झन् यो 'जेनेटिक' समस्या जस्तो देखिन्छ । मानिसहरूलाई नैतिकताको कुरा गर्दा 'इरिटेसन' हुन्छ । नैतिकता भनेको भौतिक स्वार्थ परिपूर्ति गर्नका लागि किनबेच गरिने साधन जस्तो बनेको छ । अर्थात् यसले आफ्नो आधारभूत चरित्र गुमाएको छ । जसका कारण समाजमा शान्ति, स्थिरता, अमनचयनसँगै मानवता नै संकटमा परेको छन् । समाज खोक्रो छ । वास्तवमा यो समय नैतिकता कमजोर भएर समाज असन्तुलित भएको अवस्था हो । यस्तो बेला चाहिने नैतिक क्रान्ति हो । सन्तुलनतर्फ लैजाने विचार हो । त्यतातर्फ निर्देशित गर्ने राजनीतिक विचार र त्यसमा आधारित राजनीति नआएसम्म वा मानिसहरूले स्वीकार नगरे सम्म अहिलेको समस्या थप विकृत हुनु स्वभाविक छ । यो कुरालाई नजरअन्दाज गर्ने नेतृत्व झन् छिटो पतन हुने र निराशा ल्याउने कुरा पनि प्राकृतिक नै छ । त्यसकारण अहिले देखिएका नेतृत्व जुन वैकल्पिक र नयाँ भनिएको छ त्यसको पतन अप्रत्याशित रुपमा भयो भने पनि अचम्बित हुनुपर्ने कारण देखिंदैन ।

दिनेश सापकोटा राजनीतिक विश्लेषक हुन् ।