Skip to main content

‘झोले’ र कार्यकर्तामा के फरक छ ?

Submitted by editor on
दिनेश सापकोटा
२०८२, असार १९

नेपाली राजनीतिको एउटा अप्रिय शब्द हो ‘झोले’ । ‘झोले प्रवृत्ति’बाट ग्रस्त भएका व्यक्तिलाई यो नामले बोलाइन्छ । खासमा यो दलका कार्यकर्तामा देखिएको समस्या हो । 

नेपाली राजनीतिमा यो समस्या लामो समयदेखि छ । समयमै समाधान नहुँदा र यो छिप्पिदै जाँदा एक लाञ्छनामा बदलिएको छ । र, एक दीर्घ समस्या बनेको छ । यसको समाधानका लागि चिन्तन प्रणाली/संस्कृतिमा नै सुधार गर्ने उपाय आवश्यक देखिन्छ । 

दलको आवाज बाहेक अरू नबोल्ने र नेताको ‘पुच्छर’ भएर हिँड्ने व्यक्तिलाई झोले भनिन्छ । झोले हुनु भनेको अन्धभक्त हुनु हो । झोलाले जिम्मेवारीलाई जनाउँछ । झोलेले आफ्नो दल र नेताका बारेमा राम्रो मात्रै बोल्ने र नराम्रा कुराको प्रतिरक्षा गर्ने ‘जिम्मेवारी’ लिएको हुन्छ । उक्त जिम्मेवारी झोलामा हालेर हिँडे जस्तो गर्ने भएकाले उसलाई झोले भनिएको हुन सक्छ । यो समस्या नेपाली राज्यको लोकतान्त्रिकरणको एउटा प्रमुख चुनौति बनेको छ । 

दलका कार्यकर्तालाई न निर्णयमा सहभागि हुने अवसर हुन्छ न त अहिले उनीहरूसँग अवसर नै पाए भने पनि परिणाम निकाल्ने क्षमता छ । नेताले जे हालिदिन्छ त्यो नै उनीहरूको विचार बन्छ । नेताले उनीहरूलाई देखाएर वा साछी राखेर जस्तासुकै अपराध गरे पनि ऊ बुझ्दैन अथवा बुझे पनि बोल्दैन । वास्तवमा झोलेलाई नेताको झोलामा मस्तिष्क भएको व्यक्ति भनेर बुझ्दा ठिकै हुन्छ । राजनीतिमा ‘हस् बहादुर’ भन्ने व्यङ्ग्य पनि प्रचलित नै छ । यसरी लामो समय आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नपाएका र नेताको झोला मात्रै बोक्ने काम गरेका कार्यकर्तामा ‘झोले प्रवृत्ति’को विकास भएको छ ।

समाजमा झोलेको विश्वसनीयता हुँदैन । उनीहरूको खासै इज्जत पनि हुँदैन । अवश्य पनि त्यसले दललाई नोक्सान गर्छ । कार्यकर्ता कमजोर भए पछि पार्टी पनि कमजोर भई नै हाल्छ । कार्यकर्ता बदनाम भए पछि पार्टी पनि बदनाम हुन्छ । कार्यकर्ताको व्यक्तित्व विकास रोकिएर ऊ तलको तलै रहन्छ । बरू थप स्खलनमा जान्छ । जस कारण नेता भएको व्यक्ति सधैँ नेता नै रहन्छ । अर्थात्, नेतृत्वमा जडता आउँछ । दलमा अधिनायकवाद र सिण्डिकेटको जन्म हुन्छ । जसले दललाई भ्रष्टिकरणको प्रक्रियामा पुर्याउँछ । त्यो भनेको झोले प्रवृत्तिले लोकतन्त्रलाई नै नकारात्मक असर गर्छ । 

अघिल्लो महिना प्रधानमन्त्री केपी ओलीले ‘म झोले हो’ भन्ने पोष्टर साझा गरेर अभियान चलाए । उनको उद्देश्य झोले कार्यकर्ताको खस्किएको मनोबललाई माथि उठाउने देखिन्थ्यो । तर, उनले झोले समस्या हो यसको समाधान गर्नु पर्छ भन्ने दृष्टिकोणबाट कुरा गरेनन् । बरु समस्यालाई ढाकछोप गर्ने र ‘झोलेन्दो’को समस्यालाई थप विकराल बनाउने प्रयास गरे । 'झोले अभियान'ले झोले भनेको अब लाञ्छित गर्ने सिमान्तकृत शब्द नभएर मुलधार कै समस्या हो भन्ने कुरा स्थापित गर्न त सहयोग गर्यो तर देखिएको अभुतपुर्व स्खलनले उनको पार्टी नेकपा एमाले र सिंगो नेपाली राजनीतिलाई भने अतुलनीय क्षति गर्यो । 

झोले भनेको चरित्रमा मात्रै स्खलन आएको व्यक्ति होईन । उसको क्षमतामा पनि ह्रास आएको हुन्छ । ऊ केही पनि गर्न नसक्ने एउटा परजीविमा बदलिन्छ । झुट बोल्ने, फुटनी गर्ने, भित्रबाट खोक्रो तर बाहिर अहम्ले भरिएको व्यक्तिका रूपमा परिवर्तन हुन्छ । ऊ परिवार, दल तथा समाजको बोझ बन्छ । उसले गरेको कामले न उसको भलो हुन्छ न त दलको नै । लोकतन्त्रको भलो हुने त कुरै भएन । 

कार्यकर्ता भनेको को हो ? 

कार्यकर्ता विचारको अभियन्ता हो । उसले व्यक्ति र दललाई पहिलो प्रथामिकतामा राख्दैन । ऊ दलले लिएको विचार बुझ्न सक्ने हुन्छ । अर्थात्, म किन यो दलमा छु भन्ने कुरा प्रष्टसँग बुझेको हुन्छ । र, ऊ दलमा हुनु पर्ने कारण निजी हुँदैन । उसँग गलत दिशातर्फ पार्टी जाँदा त्यो कुरालाई देख्ने र प्रश्न गर्न सक्ने क्षमता हुन्छ । कार्यकर्ता दलको विचार र संगठनमार्फत देशको सेवा गर्ने उद्देश्यले राजनीतिमा लागेको हुन्छ । ऊ त्यागको भावनाले त्यहाँ हुन्छ न कि झोले जस्तो लोभ र स्वार्थ परिपूर्ति गर्नका लागि । 

कार्यकर्ता वास्तवमै विचारका संवाहक हुन् । उनीहरू दलका मेरूदण्ड हुन् । उनीहरूको व्यक्तित्वले दलभित्रको लोकतन्त्रको मात्रै होईन देशको लोकतन्त्रको अनुहार देखाउछ । त्यसकारण कार्यकर्ता हुनु भनेको क्रान्तिकारी हुनु हो । परिवर्तनकामी हुनु हो । विचारका लागि जीवन दिन तयार हुनु हो । वा, तार्किक र नैतिक जीवन बाँच्नु हो । झोलेको जस्तो अचेत जीवन बाँच्नु होईन ।  

कार्यकर्ताले पार्टीले गलत नीति लिँदा लुटुलुटु हेरेर बस्दैन । नेता भ्रष्टाचार र दलालीमा लिप्त हुँदा ताली बजाउँदैन । ऊ अनुशासनमा बस्छ तर जब उसलाई साझा भलो र नैतिकताबाट पार्टी विचलित भएको लाग्छ ऊ पार्टीको आलोचना गर्छ । आवश्यक परे दल त्याग गर्छ । तर, अपराधको साक्षी बस्दैन । 

कार्यकर्ता आफ्नो विचारमा आस्थावान् हुन्छ । यसको मतलब जड हुन्छ भन्ने होईन । उसले विचार गतिशिल हुन्छ भन्ने बुझ्छ तर त्यसप्रतिको इमानदारीता छोड्दैन । कार्यकर्ताले उक्त इमानदारीताको महत्व एकता निर्माण गर्दै बलियो संगठन बनाउन आवश्यक हुन्छ भन्ने कुरा बुझेको हुन्छ । 

कार्यकर्ता नेता पनि हो । उसमा नेतृत्व गर्ने क्षमता हुन्छ । आफ्नो सन्तुष्टी अरूको सेवामा देख्ने भएकाले ऊ राजनीतिमा आएको हुन्छ । प्रक्रिया, आवश्यकता र क्षमतामा विश्वास गर्ने उसको आदत हुन्छ । वास्तवमा कार्यकर्ताविना पार्टी अगाडि बढ्नै सक्दैन । नयाँ–नयाँ नेतृत्वको जन्म हुनै सक्दैन । झोलेहरू भएको दलमा नयाँ नेतृत्व जन्मिदैन । यदि जन्मियो भने पनि पहिलेको भन्दा कमसल जन्मिन्छ । खासमा झोले हुनु भनेको पतनको बाटोमा लाग्नु हो भने कार्यकर्ता हुनु भनेको प्रगतिको बाटोमा लाग्नु हो । 

कार्यकर्ता पार्टीमा लागे पछि आफुलाई सन्तुष्ट पाउँछ । उसको व्यतित्वको विकास भएको अनुभुति गर्छ । आफ्नो कामले पार्टी र देशको राजनीतिमा सकारात्मक योगदान गरेको देख्छ । तर, झोलेको जीवनमा यस्तो हुँदैन । ऊ निराशाको प्रतिक हो, कार्यकर्ता आशा र भविष्यको हो । झालेले सही कुरालाई पनि बिगारेर जीविका चलाउँछ । ऊ घाउँमा सप्लाउने झिँगा जस्तो हो भने कार्यकर्ताले समाजको समस्यालाई समाधान गरेर आफ्नो उद्देश्य पुरा गर्छ । उसको आयको श्रोत झोलेको जस्तो राजनीति हुँदैन । ऊ आफुमा आत्मनिर्भर हुन्छ भने अरूलाई पनि त्यसका लागि प्रेरणा दिन्छ ।

कार्यकर्ता र झोलेमा कतिकति बेला दुविधा पनि उत्पन्न हुन्छ । झोले हुनु भनेकै कार्यकर्ता हुनु वा कार्यकर्ता हुनु भनेको नै झोले हुनु जस्तो लाग्न सक्छ । त्यस्तो भ्रम उत्पन्न हुनुमा चार कुराले भूमिका खेल्छन् । पहिलो, झोले दलको सदस्य हुन्छ भने कार्यकर्ता पनि दलकै । दुवैले दलका कुरालाई अगाडि बढाउँछन् । तर, झोले कार्यकर्ताले माथि भनिए झैँ दलको जुन सुकै कुरालाई पनि अगाडि बढाउँछ । नेताको भक्ति गर्छ । त्यो गर्दा आफ्नो स्वार्थलाई केन्द्रमा राख्छ । तर, कार्यकर्ताले राम्रो लागेको कुरालाई मात्रै अगाडि बढाउँछ । व्यक्तिको पूजा गर्दैन । नराम्रो कुराको विरोध गर्छ । 

दोश्रो, झोले र कार्यकर्ताले दुवैले समाजका लागि काम गरेको दाबी गर्छन् । झोलेले जुन तरिकाले काम गरेको हुन्छ त्यो उपयुक्त नहुने हुँदा सही परिणाम आउन सक्दैन । तर, किन यस्तो समस्या भयो भनेर त्यसलाई सुधार गर्ने ल्याकत उसमा हुँदैन । त्यसैले गल्ती दोहोराइ रहन्छ । बरु अवस्थालाई थप बिगार्दै लैजान्छ । वास्तवमा झोले झुट बोलेको हुन्छ भने कार्यकर्ताले इमानदार प्रयास गरेको हुन्छ ।

तेश्रो, कार्यकर्ता र झोलेबीच दुविधा सिर्जना हुने अर्को कारण हो दुवै जना उनीहरूको नेताले जे भन्छ त्यहि बोल्छन् । त्यसकारण बाहिरबाट हेर्दा कार्यकर्ता र नेता अनि झोले र दलालबीचमा उस्तै सम्बन्ध देखिन्छ । तर, अन्तर्यमा कुरा अलग हुन्छ । कार्यकर्ताको आफ्नो नेताले भनेको कुरामा अपनत्व हुन्छ । पार्टीमा त्यो मुद्दाप्रति विचार राख्ने, सुन्ने र सुनाउने अवसर पाएको हुन्छ । कार्यकर्ताले नेताका व्यक्तिगत रूपमा भनेका कुरालाई सही भन्दै हिंड्दैन । संस्थागत रूपमा उसको सहभागितामा निणर्य भएका कुराहरूलाई लिएर हिंड्छ । व्यक्तिगत रूपमा राख्ने अनेकन कुराहरूमा उसको विचार दलको नेताको विचारसँग नमिल्न सक्छ । त्यो स्वभाविक कुरा मात्रै होईन, दललाई अगाडि बढाउन आवश्यक पनि हो । 

कार्यकर्ता र झोलेबीचमा समानता देखिने अर्को कारण हो दुवै सत्तामा पुग्ने चाहना राख्छन् । झोलेको सत्तामा पुगेर आफ्नो सिण्डिकेटलाई बलियो बनाउने र राज्यको दोहन गर्ने उद्देश्य हुन्छ भने कार्यकर्ताले पनि सत्तामा पुगेर काम गर्ने इच्छा राख्छ । यहाँ फरक के हुन्छ भने कार्यकर्ता आफुभन्दा क्षमतावान्ले काम गरेको पायो भने आफै सत्तामा जाने सोच्दैन । भन्नुको मतलब कार्यकर्ता सत्तालाई साध्य ठान्दैन र यसप्रतिको तृष्णामा फसेको हुँदैन ।  

दिनेश सापकोटा राजनीतिक विश्लेषक हुन् ।