- अर्जुन सेनगुप्ता
"जसरी इङ्गल्याण्ड अंग्रेजहरूको हो, वा फ्रान्स फ्रान्सेलीहरूको हो, त्यसरी नै प्यालेस्टाइन अरबहरूको हो," महात्मा गान्धीले नोभेम्बर २६, १९३८ मा हरिजनमा लेखेका थिए ।
गान्धीको लेख यहूदीहरू वर्षौंदेखि तीव्र बहसको विषय बनेको छ। यसलाई केहीले उनको कच्चापनको प्रमाणको रूपमा उद्धृत गरेका छन्, जबकि अरूले यसलाई परिणामको पर्वाह नगरी अहिंसाप्रतिको उनको गहिरो प्रतिबद्धताको थप प्रमाणको रूपमा हेरेका छन् ।
हरिजन साप्ताहिक पत्रिका थियो जसमा गान्धीले विभिन्न विषयहरुमा आफ्नो मत नियमित रुपमा राख्ने गर्दथे ।
यहुदीप्रति उनको सहानुभुति
गान्धी यहुदीहरुले धर्मका कारण भोग्नु परेको ऐतिहासीक ज्यादतीप्रति संवेदनशील थिए र उनीहरुलाई सहानुभुतिले हेर्ने गर्थे ।
"मेरो सहानुभुति उनीहरुलाई छ ... उनीहरु समुदाय भित्र अछुतको जस्तो व्यवहार भोग्न बाध्य भए । उनीहरुलाई इसाइहरुले गरेको व्यवहार र हिन्दुहरुले दलितलाई गरेको व्यवहारमा नजिकको समानता छ । दुवै प्रसंगमा धार्मिक शास्त्रको कुरा उठाएर अमानवीय व्यवहारलाई पुष्टि गर्ने गरिन्छ", गान्धीले 'यहुदीहरु'मा लेखेका छन् ।
उनले अगाडि लेख्छन्, "जर्मनीमा उनीहरुको विरुद्धमा भएको ज्यादतीको इतिहासमा अर्को समान घटना छैन", र उनले बेलायतको हिटलरलाई शान्त पार्ने नीतिकबारे चिन्ता व्यक्त गर्छन् (१९३९ मा दोश्रो विश्व युद्ध शुरु हुनु भन्दा पहिलाको अवस्थामा) ।
"यदि कुनै यस्तो युद्ध जसले जर्मनीमा भएको नांगो जातिय संहार रोक्नका लागि हुन्छ भने त्यसको पुष्टि हुन सक्छ", गान्धी लेख्छन् ।
अरब (प्यालेस्टीनी)हरुप्रतिको उनको चिन्ता
यद्यपि, महात्माले प्यालेस्टाइनमा यहुदी राज्यको समर्थन गरेनन् (जसका लागि योजना बनिसकेको थियो) ।
"यहुदीलाई अरबीमाथि थोपर्नु गलत र अमानवीय हो । ... सम्मानित अरबीलाई अपमानित गरेर उनीहरुको जमिनलाई पूर्ण वा आंशिक रुपमा खोसेर यहुदीहरुको देश बनाउन दिने भन्नु यो मानवता विरुद्धको अपराध हो", गान्धीले लेख्छन् ।
उनको विरोध दुई मान्यतामा आधारित थियोः
पहिलो, प्यालेस्टाइन स्थानीयबासी अरबीहरुको थियो । त्यहाँ बेलायतले बलको प्रयोग गरेर यहुदीहरुलाई बसाउन खोज्ने कुरा आधारभुत रुपमा नै गलत थियो ।
"प्यालेस्टाइनमा फर्केर ईश्वरको प्राथना गर्ने भन्ने जुन यहुदीको कुरा छ त्यो बन्दुक र बमको भरमा हुने कुरा होईन", उनले लेख्छन् । "त्यसका लागि त उनीहरु बेलायती बन्दुकबिनै जान सक्नु पर्छ ।"
दोश्रो, यहुदीको मातृभूमिको अवधारणा सार्वभौम अधिकारका लागि संसारभर गरेको संघर्षको बरखिलाप थियो ।
"यहुदीका लागि प्यालेस्टाइनबाहेक अर्को मातृभूमि हुन सक्दैन भने के उनीहरु संसारमा जहाँजहाँ बसेका छन् ति ठाउँ राजीखुसी छोड्न सक्छन् ?" गान्धीले अगाडि लेख्छन्, "मातृभूमिको लागि यहूदिको दाबीले उनीहरुको जर्मनीबाट भएको निष्कासनलाई रंगीन औचित्य प्रदान गर्यो ।"
भारतको विदेश नीति
महात्मा जस्तै अरब क्षेत्रका नेताहरू र अन्यत्रका साम्राज्यवाद विरोधीहरूलाई बेलायतको प्यालेस्टाइन प्रशासन र १९१७ को बाल्फोर घोषणापत्रले भयभित गरेको थियो, जसले यहूदीहरूलाई ब्रिटिश आदेशमा मातृभूमिको प्रतिज्ञा गरेको थियो।
बेलायती लेखक आर्थर कोस्टलर, जो आफैं यहूदी थिए, ले उक्त घोषणापत्रको बारेमा लेखेका थिए, "एउटा राष्ट्रले दोस्रो राष्ट्रलाई तेस्रो राष्ट्रमा देश बनाइदिने प्रतिज्ञा गरेको थियो ।"
गान्धीको विचारले जवाहरलाल नेहरूमा गहिरो प्रभाव पारेको थियो र त्यसले, नेहरूको आफ्नै साम्राज्यवाद विरोधी विचारसँगै, दशकौंसम्म स्वतन्त्र भारतको विदेश नीतिलाई आकार दिएको थियो ।
भारतले नोभेम्बर १९४७ मा प्यालेस्टाइनलाई विभाजन गर्ने संकल्प प्रस्ताव (१८१, २)को विपक्षमा संयुक्त राष्ट्र संघको साधारण सभामा मतदान गरेको थियो ।
१९५२ मा भारतले इजरायललाई एक देशको रुपमा मान्यता दिन्छ तर औपचारिक कुटनीतिक सम्बन्ध बी भी नरसिंह राव प्रधानमन्त्री भएको बेला १९९२ मा मात्रै स्थापित हुन्छ ।
-------------------------------------------------------------------------------------------------------------
माथिको लेख २०२३ अक्टोबर ३० मा इन्डियन एक्स्प्रेसमा प्रकाशित भएको थियो । (https://indianexpress.com/article/explained/explained-history/gandhi-opposed-jewish-nation-state-palestine-8975964/)
अनुवादः बेग्लै