Skip to main content

गणतन्त्रको शुभकामना कसलाई दिने ?

Submitted by editor on
image credit: makalukahabar
दिनेश सापकोटा
२०८१, जेष्ठ १५

नेपालमा गणतन्त्र घोषणा भएको १६ वर्ष भयो । २०६२ को अन्त्य र ०६३ को बैशाखमा चलेको आन्दोलनमा लाखौँ जनता शान्तिपूर्ण रुपमा सडकमा निस्के । उनीहरुले भने राजाद्वारा सञ्चालित शासन आवश्यक छैन । अब जनता आफ्नो लागि आफैँ शासन गर्न तयार छन् । कुनै पनि बहानामा राजाको शासन स्वीकार्य छैन । प्रतिगमन सच्याइनु पर्दछ । संसद् पुनर्स्थापना गर्दै संविधान सभाको लागि मार्ग प्रशस्त गर्नु पर्दछ । 

एकातर्फ जनताको ठुलो समर्थनमा माओवादीले शसस्त्र विद्रोह गरिरहको थियो भने अर्कोतर्फ मुलधारका राजनीतिक दलहरुले शान्तिपूर्ण रुपमा जनाधिकार पुनर्बाहालीको माग गरिरहेका थिए । यद्यपि, राजाले जनभावना अनुरुप शासन गर्न तयार भएनन् । उनले लोकतन्त्रको ठाउँमा पुरानो पञ्चायती व्यवस्थालाई लाद्न खोजे । शान्तिपूर्ण आन्दोलनलाई दमन गरी हजारौँ आन्दोलनकारीलाई थुने । गोली बर्साएर १९ जना निहत्था नागरिकको हत्या गरे । 

विडम्बना भनौँ वा सामन्तवादको अन्त्य नजिक आएको परिस्थिति भनौँ तत्कालीन राजाले जनभावना नबुझ्दा मुलधारका सात राजनीतिक दल र माओवादीकाबीच बाह्र बुँदे सम्झौता भयो । गणतन्त्रका लागि वातावरण बन्यो । त्यसले उत्पन्न गरेको रापतापले राजतन्त्रको अन्त्य गर्यो । वास्तवमा गणतन्त्र आफ्नो लागि आफैँ शासन गर्न सक्छौँ भन्ने स्वाभिमानी नागरिकको चाहना र राजाको बलमिच्याँइबीचको द्वन्द्वको परिणाम थियो । 

राजतन्त्रको अन्त्य र संविधान घोषणा भएको पछिल्लो करिब दुई दशकको अनुभवले शासन सत्ताको अपेक्षाकृत जनमुखिकरण नभएको देखिन्छ । यसले केही असन्तुष्टि जन्माएको छ । यद्यपि, रैतिबाट प्रजा र प्रजाबाट नागरिक हुन खोजेका जनतामा आफ्नो शासन आफैँ चलाउने आत्मविश्वास आउनु ठुलो उपलब्धी थियो । अहिले गणतन्त्रको अवस्था हिँड्न सिक्दै गरेको बच्चाको जस्तो छ । जसरी हिँड्न सिक्दै गर्दा बच्चा लड्खडाउँछ, लड्छ, सानातिना चोटपटक पनि लाग्न सक्छ त्यस्तै अहिले गणतन्त्रको अवस्था देखिन्छ । 

भ्रष्ट, तस्कर र हत्यारालेसमेत दरबारको नजिक छ भने छुट पाउने जुन व्यवस्था थियो त्यसको तुलना गणतन्त्रसँग हुनै सक्दैन । निर्विवादित गणतन्त्र उत्कृष्ठ व्यवस्था हो । यसको मतलब नेपाली गणतन्त्रमा समस्या छैनन् भन्ने होईन । गणतान्त्रिक संविधानको कार्यान्वयन गर्नका लागि र जनाधिकार संस्थागत गर्नका लागि थप काम गर्न जरुरी छ । प्रगतिशील मुद्दा उठाएर यसलाई समृद्ध गर्नका लागि नयाँ विचार, दल र नेतृत्वका बारेमा बहस पनि भइरहेको छ । वास्तवमा सुधारको त्यो बाटोमा लाग्नु समयानुकुल र दीर्घकालीन हितमा हुन्छ ।  

अहिले नेपाली गणतन्त्रका प्रमुख चार चुनौति देखिएका छन् । पहिलो, लोकतान्त्रिकरण हुन नसकेका दल र तिनमा विद्यमान रहेको पुरानै राजनीतिक संस्कार हो । सामन्ती संस्कारबाट मुक्त भएर नयाँ लोकतान्त्रिक संस्कारको विकास गर्नका लागि दलहरुमा आन्तरिक लोकतन्त्र, दल भित्रको पारदर्शी प्रतिस्पर्धा र जनताका मुद्दामा नियमित बहस र तिनको उठान जरुरी छ । त्यो हुन नसक्नु नेपाली गणतन्त्रका लागि सबैभन्दा ठुलो चुनौति बनेको छ । यसो नहुँदा गणतन्त्रले आफ्नो वास्तविक रुप ग्रहण गर्न सकिरहेको छैन ।  
दोश्रो चुनौति हो गणतन्त्रमा नागरिक केन्द्रीयता हुनु पर्ने थियो तर त्यसो हुन सकिरहेको छैन । गणतन्त्र जनताले आफ्नै लागि ल्याएको व्यवस्था हो । तर दल र यीनका गिरोहको स्वार्थ केन्द्रमा पुग्दा यसले गणतन्त्रलाई नै बदनाम गरेको छ । वास्तवमा गणतन्त्र गिरोहको अपहरणमा परेको छ । राज्यको केन्द्रमा नागरिकका सवाल र आवश्यकतालाई पुर्याउन सकिएको छैन । यसले निराशा र आक्रोस बढाएको छ भने भ्रष्टाचारलाई संस्थागत गरेको छ । 

तेश्रो चुनौति हो आर्थिक विकासको क्षेत्रमा आशातीत काम हुन नसक्नु । गणतन्त्रका कारण जनताले अधिकार त पाए तर आर्थिक रुपमा देशको विकास हुन नसक्दा ती अधिकारलाई अनुभुति गर्न गाह्रो भयो । भएभरका युवा रोजगारीको लागि बाहिर जानुपर्ने अवस्था बनेको छ । त्यसो हुँदा नागरिक पलायनको समस्या संवेदनशील अवस्थामा पुगेको छ । त्यसले गणतन्त्रका उपलब्धि सही अर्थमा उपभोग गर्नबाट जनता बञ्चित हुनु पर्ने अवस्था आयो । आर्थिक विकासलाई गति दिएर युवालाई यही देशमा राख्न नसक्नु गणतन्त्रका लागि अर्को प्रमुख चुनौति बनेको छ । 

चौँथो चुनौति हो संविधानको मर्म अनुसार नीति, नियम र कानुन बनाएर यसको कार्यान्वयनमा लैजान नसक्नु । शक्तिको विकेन्द्रीकरण तथा संघीयताको मर्म अनुरुप जति काम हुनु पर्ने हो त्यो हुन सकिरहेको छैन । केन्द्रीकृत सोच भएका दलले स्थानीय र प्रदेश तहलाई अधिकार दिन ढिलासुस्ति गर्दा यसले असन्तुष्टि जन्माएको छ । संविधानको मर्म अनुरुप राजनीतिक शक्ति र आर्थिक श्रोतको विकेन्द्रीकरण हुन जरुरी छ । 

गणतन्त्र जनताका लागि हो, रैतीका लागि होईन । यसले जिम्मेवार र आत्मसम्मान भएका नागरिकको खोजि गर्दछ । जबसम्म नागरिक आफ्ना लागि आफैँ निणर्य लिन सक्ने हुँदैनन् तबसम्म गणतन्त्र दह्रो गरी उभिन सक्दैन । अर्थात्, गणतन्त्रले आत्मविश्वासी नागरिक खोज्दछ । जब नागरिकमा उत्तरदायीत्वको बोध, अधिकार र कर्तव्यप्रतिको जागरुकता हुन्छ तब गणतन्त्रले उपलब्धि दिन्छ । अन्यथा यो बोझ पनि बन्न सक्दछ । 

१७ औं गणतन्त्र दिवसको उपलक्ष्यमा आफ्ना लागि आफैँ शासन गर्न प्रयास गर्ने सचेत, लोकतान्त्रिक र जिम्मेवार नागरिकका साथै यसको सुधारका लागि संघर्ष गर्ने सबैलाई शुभकामना ।  
 

दिनेश सापकोटा राजनीतिक विश्लेषक हुन् ।