हाम्रा अगाडि समस्याहरू छन् । तिनको समाधानका लागि विभिन्न विधि अपनाउन सकिन्छ । यद्यपि, कुन विधि अपनाउने भन्ने कुराको निर्क्योल व्यक्ति वा उनीहरूको समूहको समस्याको बुझाई र भविष्यको कल्पनामा भर पर्छ । र, कुनै पनि विधि परिणाम नआएसम्म सही छ भनेर ठोकुवा गर्न सकिदैन ।
तर, मानवसँग यस्तो विशेषता छ हामी हाम्रो अगाडि देखिएका समस्या समाधान गर्न सक्छौं । निश्चित विधि र प्रक्रिया अपनाए पछि हाम्रो लक्ष्यमा हामी पुगेका छौँ । हामीले समाजलाई जस्तो चाह्यो त्यस्तै बनाउदै आएका छौँ र भविष्यमा पनि बनाउन सक्छौं । भन्नुको मतलब हामीले अपनाउने विधि विश्वसनीय प्रक्रियाबाट निर्माण गर्न सक्छौं र त्यो सफल हुन सक्छ ।
भविष्य ठ्याक्कै कल्पना गरे जस्तो होला नहोला त्यो फरक कुरा हो । तर, मानवको विशेषता नै यस्तो छ कि हामी भविष्यको योजना नबनाई बाँच्न सक्दैनौँ । हाम्रो शरीर मात्रै बचाउनका लागि पनि भोलिका बारेमा सोच्नु पर्छ । त्यसकारण नै त हाम्रो मस्तिष्कले योजना बनाउन सक्छ । अर्थात्, हाम्रो मस्तिष्कले योजना बनाउन सक्ने भएकाले नै हाम्रो अस्तित्व योजनामा टिग्ने प्रकृतिको हुन पुगेको हो । वास्तवमा योजना बनाउन सक्ने मानिसको प्राकृतिक गुण हो । अझ खास के भनिन्छ भने मानवले प्राप्त गर्न कठिन हुने खालको अमूर्त लक्ष्य राख्नु पर्छ । जसका कारण जीवनमा सुधार सदावहार भइरहोस् र जीवन जिउनुमा न्यास्रो नलागोस्, रमाइलो होस् ।
खास भन्न के खोजिएको हो भने अगाडि रहेका समस्या समाधान नगरी भविष्यको लक्ष्यमा पुग्न सकिदैन । अनि अगाडिका ति समस्या समाधान गर्नका लागि भविष्यको लक्ष्य निर्धारण नगरी हुँदैन । लक्ष्य नलिई हिँड्दा बरालिन सकिन्छ । सही दिशातर्फ एक पाइला पनि चाल्न सकिदैन । एक पाइला नचाल्ने बेलासम्म लक्ष्यको अर्थ रहदैन । यसो भन्नुको अर्थ के हो भने वास्तवमा लक्ष्य र विधिबीच परिपुरकको सम्बन्ध छ ।
हाम्रो साझा लक्ष्य समाजवाद हो । उक्त लक्ष्यमा पुग्नका लागि जलवायु, संस्कृति, अर्थराजनीतिमा र प्रविधिको दुरुपयोगले ल्याएर आएका गरी मुख्य चार चुनौति छन् । जब हामी यि समस्याहरूको समाजवादी निदान र समाधानको विधि लिएर काम गर्छौं त्यसले नयाँ समाजको निर्माण गर्छ । जब ति समस्याको समाधान हुन्छ नयाँ समाज पनि तयार हुन्छ । यस अर्थमा समाजवादी आन्दोलन सामाजिक व्यवस्थाको पुनर्संरचनाका लागि हो । हामीले जे निर्माण गरेका छौँ त्यसको पुनर्निर्माणका लागि हो ।
यद्यपि, हामीले के कुरा ख्याल राख्नु पर्छ भने विधि र लक्ष्य हुँदैमा समस्याको समाधान हुँदैन । किनकी एकै पटक र एउटै विधिको प्रयोगले लक्ष्यमा पुग्न सकिदैन । आवश्यकता अनुसार विधि बदल्दै लामो अभ्यासबाट लक्ष्यमा पुग्नु पर्ने भएकाले यात्राको बीचबीचमा चौतारीहरु चाहिन्छ । समाजवादी यात्रामा चौतारीहरु हुन् संस्कृति र अर्थराजनीतिक व्यवस्था पुनर्संरचनाका उद्देश्यहरु । ति चौतारीहरुले हाम्रो यात्रालाई सहज र सम्भव बनाउँछन् ।
मोटो रुपमा भन्नुपर्दा लक्ष्य गन्तव्य हो भने क्रमशः पार गरिएको दुरी उद्देश्य हो । अनि दुई खुट्टाले हिंड्नु उक्त यात्राको विधि हो । यसरी लक्ष्य, उद्देश्य र विधि मिलेर यात्रा तय हुन्छ । यस सन्दर्भमा उद्देश्य प्राप्त गर्ने एक मात्रै तरिका हो अगाडिका समस्या समाधान गर्दै जाने । जस्तो, हाम्रो अगाडि अहिले मुख्य गरी जलवायु, संस्कृति, अर्थराजनीतिमा आएको र प्रविधिको दुरुपयोगले ल्याएको गरी चार समस्या छन् । यिनको खास केन्द्र वर्तमान अर्थराजनीतिक व्यवस्था हो । त्यसको समाधानका लागि वैकल्पिक व्यवस्थाको परिकल्पना, प्राप्त गर्न सकिने उद्देश्य र उपयुक्त विधि चाहिन्छ ।
हामीले विधिको प्रयोग निर्धारित उद्देश्य प्राप्त गर्नका लागि गर्छाैं । लक्ष्य त प्राप्त गर्नेभन्दा पनि हामीले सोच्ने कुरा हो । हाम्रो कम्पास हो । वा, त्यो अन्तिम गन्तव्य हो । जति हामी उद्देश्य प्राप्त गर्दै जान्छौं त्यसले हामीलाई लक्ष्यको नजिक धकेल्छ । भन्नुको मतलब हामी उद्देश्य प्राप्त गर्दा लक्ष्य नजिक मात्रै पुग्छौं, लक्ष्यमा पुग्दैनौं । तर उपयुक्त विधिको प्रयोग गरेर उद्देश्य प्राप्त गर्दै क्रमशः लक्ष्य नजिक पुग्ने प्रयास निरन्तर जारी रहन्छ । यहि नयाँ समाजवादी यात्राको तरिका हो ।
समाजवादी यात्राको दृष्टिकोणबाट हेर्दा वास्तवमा विधि, उद्देश्य र लक्ष्य त्रिभुजका तिन वटा भुजा जस्ता हुन् । कि त तीनवटै छन्, होइन भने एउटा पनि छैन । त्रिभुजको अस्तित्व नै छैन । भन्नुको अर्थ जसरी त्रिभुज बन्नका लागि तीन वटा भुजा अनिवार्य छन् त्यसरी नै समाजवादी यात्रा तय गर्नका लागि विधि, उद्देश्य र लक्ष्य तीनै कुराको यथोचित संयोजन हुन जरुरी हुन्छ । ति तीन भुजाको अस्तित्व एकअर्काका साथै तिनको संयोजनले दिने पुर्णतामा निर्भर गर्छ । अर्थात्, विविधतामा एकता त्रिभुजको जस्तै समाजवादी यात्राको प्रकृति हो ।
माथि खासगरी दुई ओटा कुरा भए । पहिलो, समस्याको विश्लेषण र भविष्यको कल्पनाका आधारमा समाधानको विधि निर्माण गरिन्छ । दोश्रो, विधि, उद्देश्य र लक्ष्य एकै त्रिभुजका तीन वटा भुजा हुन् । यि एकअर्काका परिपुरक हुन् र त्यही अनुरुप त्रिभुज बन्नका लागि यिबीचमा समानजस्यता हुनु पर्दछ । एकता हुनु पर्दछ ।
हामी समाजवादीहरुको लक्ष्य शान्तिपूर्ण र चेतनशील समाजको निर्माण गर्नु हो । हाम्रा लागि चेतना आफैमा निरपेक्ष कुरा हो । किनकी चेतना प्राकृतिक हो । यस अर्थमा चेतनशील समाजको निर्माण गर्ने भनेको प्रकृतिमैत्री समाजको निर्माण गर्नु हो । हाम्रो अहिलेको समस्या प्रकृति र हामीबीचको बढ्दो द्वन्द्व हो । वर्तमान पुँजीवादी व्यवस्थाले यसलाई थप बढाएको छ । हाम्रा लागि प्रकृति र मानवबीचको यो द्वन्द्वलाई न्यूनतम बिन्दुमा पुर्याउनु भनेको शान्तिपूर्ण र चेतनशील समाजको निर्माण गर्नु हो । अर्थात्, त्यो नै समाजवादको लक्ष्य प्राप्त गर्नु हो ।
हो, समाजवाद एक शान्तिपूर्ण समाजको परिकल्पना हो । शान्ति भन्नु युद्ध नभएको अर्थमा मात्रै होइन, वास्तवमा नै शान्ति भएको समाज निर्माण गर्नु हो । अवश्य समाजवादी समाज खुसी समाज हो किनकि त्यो समाजमा सहअस्तित्व, सहकार्य, प्रेम र करुणा प्रधान हुन्छ ।
यस्तो समाजवादी समाज निर्माणको लक्ष्य राखेका समाजवादीले विधि पनि त्यही अनुरुपको लिनु पर्ने हुन्छ । त्यो भनेको शान्ति प्राप्त गर्ने जुन हाम्रो लक्ष्य छ त्यस अनुरुपको हाम्रो विधि हुनु पर्छ । हामीले प्राप्त गर्न खोजेको लक्ष्य हो समाजवाद । अर्थात्, शान्तिपूर्ण र चेतनशील समाज प्राप्त गर्नु हाम्रो अन्तिम लक्ष्य हो । यो लक्ष्यमा पुग्नका लागि हाम्रो उद्देश्य हुनु पर्छ अहिंसा र विधि हो प्रेम, करुणा, त्याग र सत्याग्रह । परपिडन गर्ने विधिले हामीलाई समाजवादमा पुर्याउन सक्दैन । अहिंसाको प्रबर्द्धन गर्ने विधिले मात्रै हाम्रो समाजलाई शान्त, सम्यक र समृद्ध बनाउन सक्छ । समाजवाद स्थापित गर्न सक्छ ।