Skip to main content

नेताको नीजि महत्वाकांक्षाले अस्थिर बनेको नेपाली राजनीति

Submitted by editor on
collage
दिनेश सापकोटा
२०८१, जेष्ठ ९

देशमा फेरी राजनीतिक अस्थिरताको समस्या गम्भीर भएर आएको छ । जानकार तथा विश्लेषकहरु त्यसका अनेकन कारण देखाउने गर्छन । कसैले संविधानलाई देखाउछन् भने कोही आर्थिक तथा सामाजिक कारण पनि देखाउने गर्दछन् । अवश्य पनि ती कारणको आआफ्नो भूमिका होला तर मूल कारण भनेको केही व्यक्तिहरुको नीहित राजनीतिक महत्वाकांक्षा हो । 

कसरी व्यक्तिको महत्वाकांक्षा नेपालमा अस्थिरता फैलाउने कारक बन्यो ? के यहाँ प्रणाली भन्दा व्यक्ति शक्तिशाली भएको हो ? नेताको नीजि महत्वाकांक्षा हुनु आफै अस्वभाविक त होईन तर किन तिनलाई दलीय प्रणाली र संवैधानिक व्यवस्थाले व्यवस्थापन गर्न सकेन ? अहिले देशमा यस्ता प्रश्नहरु फेरी महत्वपूर्ण भएका छन् । वास्तवमा व्यक्तिको महत्वाकांक्षाले कसरी देशमा राजनीतिक अस्थिरता बढाएको छ त्यो बुझ्नका लागि यहाँ पछिल्ला केही राष्ट्रिय राजनीतिका घटनालाई विश्लेषण गरौँ । 

देशमा राजनीतिक दल छैनन्, मात्रै दल नामधारी गिरोह छन् । गिरोहका प्रमुखको स्वार्थमा यी चल्ने गर्दछन् । यीनमा कुनै नैतिकता तथा राजनीतिक संस्कार हुँदैन । यी सधैं जसो सत्ता र शक्तिको पछाडी दौडिन्छन् । सत्ताका लागि दलाली र दलालीले फेरी सत्ताको खरिदविक्रि यीनको नियती हो । गिरोहमा लिसो जस्तै टाँसीएका अन्य सदस्य वा झोलेहरु पनि निहित स्वार्थका लागि नै त्यहाँ हुन्छन् । बहुदलीय व्यवस्था बदनाम हुनुमा यीनको प्रमुख भूमिका छ ।

के पी ओलीले लोकतान्त्रिक संविधानको दिनदहाडै एक चोटी होईन दुईदुई चोटीसम्म हत्या गर्न खोजे पछि तत्कालीन नेकपाका नेताकार्यकर्ताको एक तप्काले बिद्रोह गर्यो । नेपाली कांग्रेस, नागरिक समाज, स्वतन्त्र मिडिया र उनीहरुसाथमा आएर ओलीका अधिनायकवादी हर्कतहरुको विरोध गरे । पछि अदालतले पनि उनको कदमलाई गैरसंवैधानिक भन्यो । नेकपा फुट्यो । माओवादी बिउँतियो भने नेकपा (एस्) जन्मियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो । उक्त सरकारको प्रमुख काम निर्वाचन गराउने थियो । ओलीको अधिनायकवाद कमजोर नभइसकेको बेला कांग्रेस, माओवादी, नेकपा (एस्)लगायतका अन्य दलहरु मिलेर गठबन्धन बनाउने र ओलीलाई चुनावमार्फत कमजोर बनाउने रणनीति लिए । 

बिडम्बना के भयो भने उक्त गठबन्धनको विरोध अरु कसैले नभएर काँग्रेसका बरिष्ठ नेता शेखर कोइराला र महामन्त्री गगन थापाले गरे । उनीहरुले कतिपय ठाउँमा बागी उम्मेदवारलाई उस्काउने कामसमेत गरेको आरोप लाग्यो । जे भए पनि गठबन्धनले भने जस्तो काम गर्न नसक्नुमा कोइराला र थापाको महत्वपूर्ण भूमिका रह्यो । 
भन्नका लागि ‘प्रचण्डको भर छैन’, ‘रुखमा भोट हाल्न पाउनु पर्छ’ जे भने पनि उनीहरुले गठबन्धनको विरोध गर्नुमा निहित स्वार्थ बाहेक अरु थिएन । गठबन्धनको विरोध गरेर पार्टीभित्र शेरबहादुर देउवालाई कमजोर बनाउने, प्रधानमन्त्री हुनबाट रोक्ने उनीहरुको एक मात्र ध्येय देखियो । ओलीको अधिनायकवादलाई केही होईन जस्तो गरेर नजरअन्दाज गर्ने प्रवृत्ति कहाँसम्म पुग्यो भने कोइराला उनैसँग मिलेर कोशीमा गठबन्धनका सामान्य आचारलाई समेत ख्याल नगरी अधिनायकवादको मतियार बने । गठबन्धनको विरोध गर्न भावनाका तर्कहीन कुरा बाहेक थापा र कोइरालाले केही गर्न सकेनन् । 

विशेष गरी गगन थापाले गठबन्धनको नेतृत्व गरेर संविधान र लोकतन्त्रका पक्षमा माओवादी र एकिकृत समाजवादीलाई समेट्न सकेको भए ओली अझै कमजोर बन्थे । थापासँग त्यो ताकत पनि थियो । त्यसो भएको भए कांग्रेसले पनि कम्तिमा सय सिट ल्याउन सक्थ्यो । तर गगन जस्तो सबैले आशाले हेरेको नेताले आफ्नो निहित स्वार्थका खातिर गठबन्धनको विरोध गर्दा कांग्रेसका मान्छे नै आफ्नो उम्मेदवार नभएको ठाउँमा घण्टीलाई भोट हाल्न पुगे । यसले पार्टीमा असन्तुष्टि बढाउनुका साथै थापालाई नै विवादित बनायो । 

गगन थापाले संविधानमाथिको खतरालाई कम आँक्नुका दुईभन्दा अरु कारण देखिदैनन् । कि त उनी त्यो खतरा बुझ्न सक्ने क्षमता राखेनन् कि त पार्टीको सत्ता कब्जा गर्ने निहित स्वार्थमा लागे । वास्तवमा उनले अधिनायकवादको खतरा बुझेनन् भन्नु अन्याय हुन्छ । ओलीको अधिनायकवादलाई रोक्न आन्दोलन भएको थियो । सबैलाई थाहा नै थियो भने थापालाई थाहा नहुने कुरा भएन । यद्यपि, थापा आफ्नो पार्टीको सत्ता स्वार्थभन्दा माथि उठ्न सकेनन् । उनको यो कदमले शेरबहादुरलाई कमजोर त बनायो त्यसका साथै पार्टी पनि कमजोर भयो । उनको गिरोह पार्टीभित्र त मौलायो तर राजनीतिक फाइदा चाहिँ अधिनायकवादलाई नै भयो । 

माथि भनिए झैं कांग्रेससहितको पछिल्लो गठबन्धनको थापा र कोइरालाले मर्यादा बिर्सेर आलोचना गरे । त्यस्तै काम पनि गरे । उनीहरुको आलोचना शेरबहादुर र उनको गुटले खायो भन्ने ईष्र्यामा मात्रै सिमित देखियो । अहिले जुन घटनाक्रम देखिएका छन् त्यसले पनि यो कुरा पुष्टी गर्छ । वास्तवमा थापा र कोइरालाले गठबन्धनको विरोध गर्नु जनमतको अपमान थियो । गैरजिम्मेवार कुरा थियो किनकि काँग्रेसलाई नै सरकार चलाउन जनताले मत दिएका थिए ।

अस्थिरता निम्त्याउने अर्को कारक प्रचण्डको व्यक्तिगत महत्वाकांक्षा हो । उनको पार्टीले जम्मा ३२ सिट जितेर तेश्रो ठुलो पार्टी बनेको थियो । देशका कतिपय ठाउँमा माओवादीको संगठन नै छैन भन्दा फरक पर्दैन । तर जनताको मतलाई अपमानित गर्दै अंकगणितमा आफ्नो भूमिका महत्वपूर्ण छ भन्दैमा लोकतान्त्रिक नैतिकता बिर्सेर प्रधानमन्त्रीको दाबी गरे । उनको त्यो पुनः प्रधानमन्त्री हुने महत्वाकांक्षा उनका सार्वजनिक अभिव्यक्तिमा पनि प्रष्ट देखिन्थ्यो ।

प्रचण्डले लोकतान्त्रिक संस्कार र जनादेशको अपमान गर्दै सत्ताका लागि जे पनि गर्ने, जोसँग पनि मिल्ने जुन प्रवृत्ति देखाए यो देशका लागि घातक बन्यो । लोकतन्त्रमा सबै कुराका लागि कानुन बनाउन सम्भव हुँदैन । संस्कार र परम्पराबाट पनि लोकतन्त्र चल्छ । जब प्रचण्डजस्ता नेता कानुनले नसमाते जे पनि गर्ने र जसरी पनि सत्तामा पुग्ने महात्वकांक्षा राख्छन् त्यसले देशमा अस्थिरता बढाउन प्रमुख भूमिका खेलेको छ । उनी अहिले ओलीका हातमा निरीह प्रधानमन्त्री बनेका छन्, तर कुर्सी छाड्न तयार छैनन् । अपमानित भएका छन्, पार्टी सकिने दिशामा छ तर पनि उन आफ्नो अवसरवादी चरित्रलाई सच्याउने प्रयासै गर्दैनन् । उनको सत्तामोहले माओवादी आन्दोलन र पार्टी मात्रै बदनाम भएर सकिने दिशामा गएन बरु थप अस्थिरता निम्त्याएर देशलाई कठीन मुडमा पुर्यायो । 

रास्वपाका सभापति रवि लामिछानेको सत्ता महत्वाकांक्षा अस्थिरताको अर्को कारण बनेको छ । उनी विवादित पात्र हुन् । अहिले सहकारी ठगी प्रकरणका आरोपित हुन् । तर प्रचण्ड र ओलीको सत्ता महत्वकांक्षासँग यीनको पनि महत्वाकांक्षा मिलेको देखिन्छ । जसरी पनि उनकै लागि गृह मन्त्रालय चाहिने नत्र त्यत्तिको बाहानामा सरकारलाई दिएको समर्थन नै फिर्ता गर्ने गैरलोकतान्त्रिक र अराजनीतिक चरित्र उनमा हाबी हुँदा देशमा अस्थिरता आएको छ । 

लामिछाने छानबिनको प्रक्रियामा गएर आफुलाई देशका सामु सफा भएको प्रमाणित गर्नु पर्ने हो तर उनी उल्टो सत्ताको बलमा छानबिन रोक्ने, उनलाई प्रश्न गर्नेलाई स्तरहीन आरोप लगाउने काम गरिरहेका छन् । लामिछानेको सत्ताको महत्वाकांक्षा गगन र शेखरको जस्तो नभएर प्रचण्डकोभन्दा पनि विकृत देखिन्छ । उनको महत्वाकांक्षा आफ्ना अपराधलाई ढाकछोप गर्नका लागि उत्पन्न भएको प्रष्ट हुँदै गएको छ । 

माथि उल्लेखित केही नेताका व्यक्तिगत महत्वाकाक्षां यो वा त्यो बाहानामा ओलीको अधिनायकवादको आडमा अगाडि बढेका हुन् । दलाल राजनीतिमा व्यक्तिका नीजि स्वार्थ नै व्यवस्थाको केन्द्रमा हुने हुँदा भएभरका सबै नेता यहि दिशामा हिंड्न उद्यत् देखिन्छन् ।
 

दिनेश सापकोटा राजनीतिक विश्लेषक हुन् ।