नेताराज हाम्रो लोकतन्त्रको प्रमुख समस्या हो भनेर नागरिक समाजको एउटा समूहले यसका विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । यो नेताराजको निदान केही नेताले सत्तालाई म्युजिकल चियर बनाए र यसले लोकतन्त्रलाई जनमुखी हुन दिएन भन्ने निष्कर्षमा आधारित छ । नेताराजको अन्त्य भयो भने बहुदलीय लोकतन्त्रको सुधार सम्भव छ भन्ने विश्वासमा यो मुद्दा उठाइएको देखिन्छ ।
म आफै नागरिक समूहमा रहेको र दर्जनौं छलफलमा भाग लिएकाले नेताराजको कुरा कसरी आयो भन्ने कुरालाई नजिकबाट हेर्ने मौका पाएको थिएँ । मेरो विचारमा यो निदानमा केही महत्वपूर्ण समस्याहरू देखिन्छन् । प्रमुख समस्या भनेको यो पर्याप्त छलफलबिनै मिडियामा आएको छ । अर्थात्, यथेष्ट तयारीविना यसका विरुद्ध आन्दोलनको घोषणा गरिएको छ ।
खासमा बृहत् नागरिक आन्दोलनको फोरममा अलिकति छलफल भएका दुई प्रस्ताव दल सुधार र गैरदलीय लोकतन्त्र थिए । पहिलो प्रस्तावले कानून बनाएर दल सुधारका लागि दललाई आग्रह र दबाब दिने दिशा लिएको थियो । यसले दलसँग सहकार्य गरेरै आवश्यक सुधार सम्भव हुनेमा विश्वास व्यक्त गरेको थियो भने दोश्रो म आफैले लगेको प्रस्ताव थियो । त्यसले राज्यको लोकतान्त्रिकरण हुनुपर्नेमा दलीयकरण हुनु प्रमुख समस्या मानेको थियो । त्यसको समाधानका लागि नागरिक आन्दोलन हुनु पर्ने कुरामा जोड दिएको थियो । अघिल्लो प्रस्ताव दलको आन्तरिक लोकतन्त्र सुधारबाट समाधानलाई अगाडि बढाउन सकिनेमा केन्द्रित थियो भने दोश्रो गैरदलीय लोकतन्त्रको प्रस्तावले वैकल्पिक लोकतन्त्रका लागि अग्रसर नभए अहिलेको समस्या समाधान नहुने तर्क गर्दै प्रत्यक्ष लोकतन्त्रका लागि अग्रसर हुनु पर्ने कुरा गरेको थियो ।
यी दुवै प्रस्तावमाथिको छलफल पछि दुवैका कुरा समेटेर नेताराजको मुद्दालाई अगाडि ल्याइयो । यद्यपि, नेताराजका बारेमै चाहिँ पर्याप्त छलफल भएन । त्यसले गर्दा यो मुद्दा अस्पष्टतामा फसेको छ । यसबाट बाहिर निकाल्न र प्रष्ट पार्न थप व्याख्या र छलफल चाहिएको छ । राजनीतिक दलको सुधार गर्ने प्रस्तावले प्रवृत्तिगत कुरामा त्यति ध्यान पुर्याउन नसके पनि गुणात्मक परिवर्तनलाई छोडेको थिएन । त्यस्तैगरी गैरदलीय लोकतन्त्रले प्रवृत्तिका साथै विश्व पुँजीवादले उदार लोकतन्त्रमा ल्याएको संकटलाई मध्यनजर गरेर वैकल्पिक लोकतन्त्रलाई नै अगाडि बढाउनु पर्ने कुरालाई जोड दिएको थियो ।
यद्यपि, नेताराजको मुद्दा प्रवृत्तिगत समस्या र विश्व पुँजीवादको सन्दर्भमा नेपाली लोकतन्त्रका समस्यालाई विश्लेषण नगरी प्रमुख दलका प्रमुख तीन नेतालाई समस्याका कारण ठान्ने गरी संकुचित र व्यक्तिकेन्द्रीत भएर आएको छ । अझै पनि नेताराजलाई प्रवृत्तिगत रुपमा व्याख्या गर्नै नसकिने भने होइन । प्रा. कृष्ण खनाल र विश्लेषक केशव दाहालबाट केही प्रयास भएको छ । तर, यसलाई विश्व सन्दर्भमा पनि व्याख्या विश्लेषण गर्न आवश्यक छ । तर, त्यो दिशाको व्याख्या र मोटामोटी साझा बुझाइ नबनाई आन्दोलनको घोषणा गरियो । मैले छलफल भएको भए नेताराजको निदानका बारेमा केही विचार राख्ने सोचेको थिएँ । तर, त्यो अवसर नपाएकाले यो लेखमार्फत आफ्नो अभिमत राख्न गएको छु । र, यो लेखको उद्देश्य नेताराजको निदानलाई थप विकसित गर्न आलोचनात्मक योगदान गर्नु हो ।
वास्तवमा नेताराजको निदान वरिपरि देखिएका वैचारिक अस्पष्टतालाई नहटाई र यसलाई प्रवृत्तिगत समस्यासँग नजोडी सुधारको आन्दोलन उठ्न कठिन देखिन्छ । यद्यपि, व्यक्तिका विरुद्ध आन्दोलन उठाउन सजिलो भएर उठिहालेछ भने पनि यसले दीर्घकालीन समाधानतर्फ देशलाई लान सक्ने भने देखिंदैन । कसरी ? त्यसका केही कारण छन् । तिनै कारणमाथि तल छोटोमा छलफल गरिएको छ ।
पहिलो कुरा नेताराजको निदानले अहिले देशमा देखिएका समस्याको प्रमुख कारण स्थानिय मात्रै देख्छ र हामी भित्रैका समस्याका कारण यो सब भएको हो भन्ठान्छ । माथि भनिए झैं यसले केही सीमित व्यक्तिलाई समस्याको कारक ठान्छ । यसले बाह्य वा विश्व पुँजीवादले ल्याएका विकृतीलाई महत्व दिंदैन । त्यस्तै गरी यसले अहिले विश्वभरी देखिएको उदार लोकतन्त्रको संकटलाई पनि ध्यान दिएको छैन । के नेताराज जन्मिनुमा विश्वव्यापी रुपमा देखिएको लोकतन्त्रको संकटको भूमिका छैन ? के एउटै नेता पार्टीको नेतृत्वमा रहिरहनु नेपालको मात्रै समस्या हो ? अवश्य पनि होइन । अहिले उन्नत लोकतन्त्र भनेर मानिएका देशहरुमा पनि यस्तो समस्या देखिएको छ । हाम्रै छिमेकी देशहरुमा पनि यो समस्या छ ।
वास्तवमा केही नेताको सिण्डिकेटमा दल र सरकार पर्न जानु समस्या होइन । यो लक्षण मात्रै हो । लक्षणलाई हेरेर उपचार हुन्छ तर लक्षणको उपचार हुँदैन, उपचार हुने रोगको हो । लक्षणको उपचार गर्न खोज्दा धेरै भएछ भने समस्यालाई लम्बाउने काम मात्रै हुन्छ । अझै भन्नुपर्दा नेताराजको विमर्शले तीन नेतालाई मात्रै तारो बनाएको देखिन्छ । ओली, प्रचण्ड र शेरबहादुर नै समस्याका कारक हुन् भनेर चित्रित गर्ने काम भएको छ । यसरी नेताराजको निदानले देशभित्रै रहेका अन्य नयाँ वा पुराना दलहरुमा पनि रहेको यस्तै प्रकृतिको समस्यालाई नजरअन्दाज गरेको देखिन्छ । भन्नुको मतलब यसले प्रवृत्तिगत समस्यालाई व्यक्तिगत बनाएर प्रस्तुत गर्ने अपरिपक्कता देखाएको छ ।
दोश्रो, नेताराजको निदान दलभित्र एउटा नेताको मात्रै राज भयो र यसले नयाँ पुस्ताका नेतालाई अवसर दिएन भन्ने मान्यतामा निर्भर भएको देखिन्छ । यसले कस्तो परिकल्पना गरेको छ भने तीन प्रमुख नेतालाई राजनीतिबाट बिदाइ गरे पछि समस्या समाधानतर्फ जान्छ । यो मान्यता गलत देखिनुको एउटा कारण के हो भने यसबाट नयाँ पुस्ताका नेता देशको नेतृत्व गर्न तयार छन् कि छैनन् भन्ने कुरा प्रष्ट हुँदैन । वास्तवमा यसले दलभित्रको सुधारलाई प्रक्रियागत, गुणस्तरीय र स्वभाविक रुपमा अगाडि बढाउने कुरा भन्दा बाह्य अस्वाभाविक दबाब सिर्जना गरेर त्यसैको आधारमा परिवर्तन हुन बाध्य गर्छ । जसले दललाई सुधार गर्ने भन्दा भएका नीहित स्वार्थकेन्द्रित गिरोहहरुको लडाँइमा थप नकारात्मक उर्जा थप्छ ।
वास्तवमा नेताराज विरुद्धको आन्दोलनले दलभित्रका गिरोहहरुको प्रतिस्पर्धालाई तीव्र बनाउने देखिएको छ । यसले स्वार्थकेन्द्रित समूहहरुको तछाडमछाडलाई बढवा दिएर दलभित्र बिग्रह तथा टुटफुटको गतिलाई तीव्र बनाउने देखिन्छ । बिडम्बना प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीमा मात्रै होइन अन्य दलको नेतृत्वलाई हेर्दा पनि के देखिन्छ भने पुरानो नेतृत्व जतिपनि नयाँ नेतृत्व इमानदार र सक्षम छैन । हो, नयाँ नेतृत्वले अवसर नै पाएको छैन कसरी यो असक्षम छ भनेर भन्ने भन्ने प्रश्न उठाउन सकिन्छ । र, यो वास्तविकता हो कि आफुलाई सुधार गर्ने अवसर भएकाले नयाँलाई सधैं शंकाको सुविधा हुने गर्छ ।
यद्यपि, प्रमुख दलका तीन नेता पछि अवसर कुरेर बसेका नेताहरुलाई नेपाली जनताले नचिनेका वा नदेखेका भने होइनन् । उनीहरु पनि बारम्बार संसद्मा पुगेका, मन्त्री भएका र पार्टीका महत्वपूर्ण पदाधिकारी भएका व्यक्तिहरु हुन् । उनीहरुले जनताका अगाडि आफ्ना निकासका उपाय र भिजन प्रस्तुत गर्ने अनगिन्ती अवसर पाएका हुन् । त्यो अवसर अहिले पनि उपलब्घ छ । तर, उनीहरु कसरी पुराना नेताको भ्रष्ट सिण्डिकेटका कारिन्दा बनेका छन् भन्ने कुरा नागरिकले देखेका छन् । अधिकांश नयाँ पुस्ताका नेता पुराना नेताले गरेका गलत कामको राजनीतिक प्रतिपाद गर्न सक्दैनन् । बरु उनीहरुसँगै मिलेर एउटै गिरोह बनाएर अगाडि बढ्ने महत्वकांक्षामा छन् । वास्तवमा यी पुरानै नेताका सिण्डिकेटका सदस्य बन्न पुगेका छन् । यि आफ्नै विशिष्ट राजनीतिक पहिचान भएका र बनाएर आएका भन्दा पनि पुराना नेताहरुसँगका अनेक साँठगाँठ र सिण्डिकेटको भरमा उठेका हुन् । पुराना नेताहरु भन्दा यिनको केही अलग पहिचान छ भने यि थप लोकप्रियतावादी छन् ।
वास्तवमा नयाँ पुस्ता लोकप्रियतावादबाट ग्रसित छ । पुराना पुस्ताका नेतामा जति सैद्धान्तिक इमान्दारिता नयाँ पुस्तामा देख्न गाह्रो छ । पुराना नेता अहिले विकृत भए पनि आफ्नो तरिकाले विचारको राजनीति गरेर आएका हुन् । उनीहरुलाई सामन्तसँगको लामो संघर्षले धेरै कुरा सिकायो । तर, नयाँ पुस्ताका नेताहरुमा न सैद्धान्तिक स्पष्टता छ न त संघर्षको अनुभव नै । उनीहरु केवल भौतिक विकासलाई विकास ठान्छन् भने राजनीतिक संस्कृतिका दृष्टिकोणले पतनशील छन् ।
तेश्रो, नेताराजको विचारले छुटाएकोअर्को महत्वपूर्ण पक्ष हो लगातार स्खलनमा रहेको नेपाली समाजको वास्तविकता । हाम्रो समाज लगातार स्खलनमा छ । जति नयाँ पुस्ता उति नैतिक हराम, झुट र असक्षम आउने हामी देखिरहेका छौं । यो प्रवृत्ति पछिल्लो दुई दशक प्रमुख पार्टीको नेतृत्वमा आएको परिवर्तनलाई हेर्दा नै प्रष्ट देख्न सकिन्छ । जति नयाँ उति अनुदार र भ्रष्ट नेतृत्व परिवर्तन भएको हेर्न कुनै इतिहासका पाना पल्ट्याउन जरुरी छैन । दलहरुभित्रको यो समस्या अहिलेका यिनै तीन नेताका कारण मात्रै त अवश्य पनि उब्जिएको होइन । यसका लागि हाम्रो लोकतान्त्रिक प्रणालीका लागि चाहिने सांस्कृतिक पक्ष, दलभित्रको लोकतन्त्रको दुरुह अवस्था र पुँजीवादी संस्कार नै प्रमुख रुपमा जिम्मेवार छन् । त्यस कुरालाई नेताराजको निदानमा नसमेटी कसरी यो पूर्ण र उपयोगी बन्न सक्छ ? वा, नेताराज विरुद्धको आन्दोलनले लोकतन्त्रको गुणस्तरमा सुधार गरेर सक्षम व्यक्तिलाई जिम्मेवारीमा पुर्याउन सक्छ ? अवश्य पनि सक्दैन ।
अन्त्यमा,
नेताराजलाई समस्या मान्न सकिन्छ । तर, यसको वैज्ञानिक व्याख्या र वर्गीकरण भएन भने यसले आन्दोलन उठाउन नसक्ने मात्रै होइन उठाएछ भने पनि अगाडिको बाटो देखाउन सक्दैन । भन्नुको मतलब नेताराजलाई स्थानिय र विश्व समस्यासँग जोडेर मात्रै पुग्दैन । यसको विश्लेषणलाई विकल्पको राजनीतिसँग पनि जोड्न जरुरी हुन्छ । माथि उल्लेख भएका अनेक कमीकमजोरीका बाबजूत नेताराजको दिशामा राष्ट्रिय बहस अग्रसर हुनु आफैमा सकारात्मक कुरा भने हो । नेताराजको निदानमा छुटेको सबैभन्दा महत्वपूर्ण कुरा यसले कसरी काम गर्छ भन्ने पक्ष हो । नेताराज एकदुई नेताका भरमा चल्ने व्यवस्था त अवश्य होइन । ति नेताले शासन गर्नका लागि गिरोहको निर्माण गरेका छन् । त्यसले कसरी काम गर्छ र त्यसका सदस्यहरुलाई कसरी पहिचान गर्ने भन्ने कुरामा प्रष्टता आउन जरुरी छ । त्यसो भए आन्दोलनका लागि मुद्दा निर्धारण गर्न नेताराज विरुद्धको अभियान सफल हुन्थ्यो ।