पछिल्लो समय राजावादीहरू उत्साहित भएको देखेर कतिपयलाई लागेको छ राजा फर्किने नै भए । तर, कतिपयलाई भने यो सामाजिक सञ्जालमा सिर्जना गरिएको हौवा र राजतन्त्र नभोगेको नयाँ पुस्ताको लहड मात्रै हो भन्ने लागेको छ । कोहीको दलहरूको असफलताका कारण जनता आक्रोशित छन् र यी सुध्रिएनन् भने जे पनि हुन सक्छ भन्ने तर्क छ । यसमा कतिपय राजाको समर्थन गर्ने जनाधार वा समुदाय नभएको र राजावादीहरूबीचमा पनि एकता नभएकाले राजा फर्किन सम्भव छैन भन्ने पनि छन् ।
यि तर्कहरू आ–आफ्नो ठाउँमा ठिकै होलान् । तर, ति अपूर्ण छन् । यि प्रणालीभन्दा पनि घटना र पात्रमा केन्द्रित छन् । बहुदलीय व्यवस्थाको विकृतिका बारेमा कुरा गर्नेहरू केही सान्दर्भिक देखिएता पनि ति पनि ज्ञानेन्द्र शाह र राजसंस्था आउन सक्ने र नसक्ने कुरामा मात्रै आफ्नो भविष्यका बारे आकलन गरेका छन् ।
यो छोटो विश्लेषणमा भने आम मानिसको मानसिकतामा देखिएको विग्रहमार्फत वर्तमान राजनीतिक संकटलाई बुझ्ने प्रयास गरिने छ । अर्थात्, त्यही विग्रहलाई आधार बनाएर यो विश्लेषण गरिएको छ । यो विग्रह आम रूपमा देखिएको सामाजिक पागलपन हो । यसलाई हेर्ने दृष्टिकोण प्रणालीगत चाहिन्छ । यहाँ प्रयोग गरिएको यो वैकल्पिक दृष्टिकोणको उद्देश्य अहिले देखिएको संकटबाट मुक्ति पाउन पुँजीवादको विकल्पतर्फ नै उत्प्रेरित गर्नु हो ।
अहिले आम मानिसले खोजेको न राजा हो न रवि न त बालेन नै हो । वास्तवमा आम मानिसले के खोजेको छ त्यो प्रष्ट छैन । त्यसकारण यसलाई मनोविज्ञान अध्ययनको विधि लगाएर हेर्नु पर्ने भएको छ । यसले उठाएका राजनीतिक मुद्दाभन्दा यसको स्वभाव र लक्षणहरूमा ध्यान दिनु पर्ने छ । अहिलेको संकटका सन्दर्भमा के चाहिँ भन्न सकिन्छ भने तानाशाही आम मानसिकताको परिणति हो । तर, सचेत चाहना होइन । विकल्पको रूपमा यसलाई विध्वंसकारी विकल्प मात्रै भन्न सकिन्छ ।
यो बिग्रिएको मानसिकता पुँजीवादमा आएको संकटसँगै बलियो बनेको छ । अहिले अवस्था कस्तो छ भने पुँजीवादले आफ्नो रक्षा गर्नका लागि फासिवादको साथ लिन खोजेको छ । वास्तवमा अहिले आम मानिसलाई गाँजेको मानसिकता यही पुँजीवाद र फासीवाद मिश्रित वर्णशंकर मानसिकता हो । यसले तर्क र विज्ञानका आधारमा कुनै नेता वा पार्टी वा संस्था चाहेको होइन । बरू भावना र आवेगका आधारमा राजनीतिलाई फेर्न खोजेको छ । चेतनाभन्दा पागलपन यसको काम गर्ने आधार बनेको देखिन्छ ।
विश्वभरी उदार लोकतन्त्र खुम्चिँदै संकटको सामु पुगेको छ । अब यो सामान्य अवस्थामा पुरानै ठाउँमा आउने सम्भावना छैन । त्यो भन्दा पनि महत्वपूर्ण कुरा पुँजीवादले यसलाई निलेको छ । त्यसकारण अब पुँजीवादको विकल्प विना लोकतन्त्र पुनर्जीवित हुने देखिदैन ।
अहिले पुँजीवादको लोभ र भोगको संक्रमण चरम अवस्थामा पुगेको छ । यसले कबजका रूपमा सयौं वर्ष देखि साथ दिएको उदार लोकतन्त्रलाई नै सकेको छ । भन्नुको मतलब अब पुँजीवादले आफ्नो आधार समाप्त गरेको छ । यो आहारा नभेट्ने अवस्थामा पुगेको छ । त्यो भनेको पुँजीवाद पनि संकटमा छ । त्यसकारण अहिले चाहिएको सामाजिक व्यवस्थाको केन्द्रमा रहेको पुँजीको विकल्प हो । त्यसले मात्रै नयाँ लोकतन्त्रतर्फ अग्रसर गराउन सक्छ ।
उदार लोकतन्त्र पुँजीवादी लोकतन्त्रमा बदलिएको धेरै समय भयो । यसले आफ्नो पहिचान र पुँजीसँगको सन्तुलन विश्वव्यापीकरणसँगै गुमाएको छ । अहिले पुँजीवाद नै उदार लोकतन्त्र र उदार लोकतन्त्र नै पुँजीवाद जस्तो हुन पुगेको छ । सामाजिक सुरक्षा, जीवन बिमा, बेरोजगारी भत्ता तथा गरिबकेन्द्रित भनिएका अन्य मुखौटे कार्यक्रमहरू पनि ध्वस्त हुँदै गएका छन् । यसले विश्व पुर्णतः पुँजीवादको कब्जामा गएको मात्रै संकेत गर्दैन । त्यसका साथै व्यवस्थामा आएको गम्भीर असन्तुलनलाई पनि देखाउँछ ।
अब पुँजीवाद भन्नु र उदार लोकतन्त्र भन्नुमा कुनै भिन्नता रहेन । तर, अहिले देखिएको संकट यी दुवैमा एकै चोटी आएको होइन । यो माथि भनिए झैं पुँजीवादले उदार लोकतन्त्रलाई ध्वस्त गरिसके पछि उत्पन्न भएको अवस्था हो । यो अवस्थाले आम मानसिकतालाई अस्वस्थ बनाएको छ । रोगी बनाएको छ । दोहन र लुटलाई निरन्तरता दिन पागलपनलाई समाजमा फैलाएको छ । अहिले धर्मका नाममा फैलिएको पागलपन त्यसैको एक उदाहरण हो ।
अहिले बहुसंख्यक मानिस राजनीतिक मुद्दाबाट चल्ने भन्दा पनि धार्मिक तथा राष्ट्रवादी आग्रह–पुर्वाग्रहबाट ग्रसित भएका छन् । पुँजीवादले जानिजानी यो पागलपनलाई बढवा दिएको छ । मानिसहरू यसैबाट प्रभावित भएर आफ्नो मत दर्ज गरेका छन् । यसमा कर्पोरेट मिडिया र सोसल मिडियाको भूमिका छ नै । यस्तो अवस्थामा चुनावले सही परिणाम दिने कुरा भएन । बरु यसले समस्यालाई थप गम्भीर बनाएको छ ।
त्यसैले पहिलो अनुच्छेदमा उल्लेख गरिएका तर्कहरूले आंशीक सत्यको मात्रै प्रतिनिधित्व गर्दछन् । ति क्षणिक परिस्थितिलाई हेरेर गरिएका तर्क हुन् । अहिले देखिएको मानसिकता प्रमुखतः पुँजीवादी संकटले जन्माएको फासीवादी मानसिकता हो । यसका विरूद्धमा क्रान्ति हुनुभन्दा पहिला यो थप विद्रुप हुने देखिएको छ ।
नेपालको सन्दर्भमा यो मानसिकता पहिला षुषुप्त भएता पनि पछिल्ला वर्षहरूदेखि सतहमा आएको छ । पछिल्लो समय त थप बलियो बन्दै गएको देखिन्छ । अहिलेका प्रधानमन्त्री केपी ओली यो मानसिकताको प्रतिनिधित्व गर्ने पहिलो पुस्ताका नेता हुन् । उनले पार्टीको अधिवेशनलाई विविध तिकडम गरेर आफ्नो पक्षमा पारे । उनी पछिल्लो दश वर्ष देखि लगातार अध्यक्षको पदमा रहेका छन् । ओलीले पार्टीको विधान परिवर्तन गेरर र अलग विचार राख्ने नेताहरूलाई सकेर आजीवन अध्यक्ष बन्ने बाटो बनाएका छन् ।
पार्टी कब्जा गरेसँगै ओलीको दाऊ राज्य कब्जा गर्ने थियो । उनले त्यसतर्फ राम्रै प्रगति पनि हासिल गरेर । संविधानको धज्जी उडाएर र संसद्को मानमर्दन गर्दै संवैधानिक निकाय, आयोग तथा विश्वविद्यालय जताततै आफ्ना चम्चेहरूले भरे । अन्तिममा संसद् उनको तनाशाही बन्ने महत्वकांक्षाको अवरोध देखे पछि असंवैधानिक रूपमा दुईदुई पटक विघटन गर्ने प्रयास गरे । उनको प्रयासलाई अदालतले रोके पछि केही पछि हटेका उनी फेरी सरकारको नेतृत्वमा छन् र पुरानै सत्ता कब्जा गरी तानाशाह बन्ने सपना साकार बनाउन आफ्नो तरिकाले लागिरहेका छन् ।
एमालेमा लोकतन्त्र र पारदर्शीताको अन्त्य गरेर जसरी ओली उदाय त्यही मार्गमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा देखिन्छन् । पछिल्लो सरकार बनाउन ओलीसँग मिलेर अगाडि बढेका उनी पार्टीभित्रको क्रियाकलापका हिसाबले पनि ओलीपथमा नै अग्रसर छन् । कांग्रेसको स्थापनाकालीन विचारलाई मासेर लोकप्रियतावादलाई स्थापित गर्न उनले राम्रो सफलता पाएका छन् । उनी अहिले प्रधानमन्त्री बन्ने महत्वकांक्षा पुरा गर्न ओलीसँग मिलेर राज्य दोहन गर्ने र त्यसैका आधारमा पार्टी भित्रको आफ्नो गिरोहको भरणपोषण गरी बलियो बनाउनेमा छन् ।
असंवैधानिक रूपमा जुन सरकार सञ्चालनको संयन्त्र बनाइएको छ त्यसको नेता र अध्यादेश निर्माताका रूपमा अहिलेको सरकारले जति भ्रष्टाचार र आपराधिक काम गरेको छ त्यसमा थापाको पनि भूमिका छ । अहिले दल कब्जा गर्ने, संसद्लाई पंगु बनाउने, दलाल पुँजीपतिको दलाली गर्ने र त्यसैका आधारमा सरकारमा पुग्ने ओलीपथका सारथी बनेका थापालाई कुनै बेला मानिसहरूले राजनीतिक सुधारका लागि विकल्प ठान्थे । तर, पछिल्लो समय महामन्त्री हुँदैगर्दा उनले देखाएको अक्षमता, (दक्षिणपन्थी) लोप्रियतावाद र गुटगत राजनीतिले अब उनी ओलीभन्दा फरक नहुने कुरा प्रष्ट हुँदै गएको छ ।
पुँजीवादी फासीवादी बिद्रुप मानसिकताका अर्का उदाहरण हुन् रवि लामिछाने । उनी शुद्ध लोकप्रियतावादी नाराको सहयोगमा सरकारमा आए । जनताले दिएको म्यान्डेट विरूद्ध सत्ता लिप्सामा भुले । पछिल्लो समय सहकारी ठगीको मुद्दामा परेका लामिछानेले रास्वपालाई नै आफ्नो बन्दक बनाएका छन् । आफ्नो अपराधको सती जान पार्टीलाई बाध्य गर्ने उनको राजनीतिले पार्टीको भविष्यप्रति नै चिन्ताजनक स्थिति सिर्जना गरेको छ ।
यो फासीवादी मानसिकताको पछिल्ला र बलिया उदाहरण हुन् बालेन साह । उनी एक युवा हुन् । उनीसँग न राजनीतिकशास्त्र पढेको न गरेको अनुभव छ । उनी विकृत बनेको पुँजीवादी मानसिकतालाई सोसल मिडियाको सहयोगमा आफु अनुकुल बनाउन सक्ने भएर नै काठमाडौं महानगरको सत्तामा छन् । उनी सत्तामा आए पछि अहिले सम्म खुल्ला र आलोचनात्मक चेत राख्ने पत्रकारसँग अन्तरवार्ता दिएका छैनन् । राजनीतिक विषयमा कहिलै बोल्दैनन् । बोले भने कि त दलका नेतालाई गाली गर्छन कि त उग्र राष्ट्रवादी कुरा गर्छन् ।
उनले सडक किनारा साना व्यापार गरेर जिविको पार्जन गर्ने गरिब माथि कस्तो बर्बरता देखाए ? सुकुम्बासीलाई कसरी कुल्चिन खोजे ? र, उनले नेतृत्व गरेको महानगरको पुँजीगत खर्चको अवस्था कस्तो छ ? यी कुराहरू मात्रै हेर्दा पनि उनी पुँजीवादी फासीवादका उत्पादन हुन भन्ने कुरा बुझ्न गाह्रो छैन ।
थापा धर्मनिरपेक्षताका विरोधि हुन् । तेस्तै गरी लामिछाने र बालेन गणतन्त्रका विषयमा चुप छन् । यसको मतलब पछिल्लो पुस्ताका नेता थप विचारहीन, अस्पष्ट, लोकप्रियतावादी भएकाले फासीवादी बाटोमा जतिबेला पनि पुग्न सक्ने देखिन्छ । नेपालको राजनीति हेर्दा जति नयाँ नेतृत्व उति फासीवादी भन्ने जस्तो अवस्था छ ।
अन्त्यमा,
पुँजीवादले लोकतन्त्रलाई मास्दै छ । यो अहिले आफै संकटमा छ । यसले समाजमा पागलपन फैलाउने र त्यस्तै नेतालाई अगाडि लाउने गरेको देखिन्छ । यस्तो अवस्थामा पात्र जोसुकै हुन् प्रवृत्ति बलियो बनेको छ । ओलीले नगरे थापाले र थापाले नगरे लामिछानेले र उनले नगरे बालेनले र उनले पनि नगरे नयाँ पात्रको उत्पादन गर्न कुनै समय नलाग्ने अवस्था छ । भन्नुको मतलब अहिले देखिएको लोकतन्त्रको संकटलाई समाधान गर्न विश्व व्यवस्था र यसले अगाडि बढाएको फासीवादी प्रवृत्तिलाई बुझेर नयाँ वैचारिक र लोकतान्त्रिक संघर्षको बाटो अगांल्नु नै अबको विकल्प हो ।