Skip to main content

युक्रेनी जनताको पक्षमा कसले बोल्ने ?

Submitted by editor on
Zelenskyy Trump Ovel office clash

फोटो upi.com बाट लिइएको हो ।

दिनेश सापकोटा
२०८१, फाल्गुन १७

हिजो ओभल अफिस (अमेरिकी राष्ट्रपति कार्यालय)मा युक्रेनी राष्ट्रपति भलोद्मोयर जेलेंस्कीको घोर अपमान भयो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्स्ले उनको कुरालाई बीचमै रोकेर आफ्नो कुरा लाद्न खोजे । उनीहरूले जेलेंस्की अमेरिकाप्रति कृतज्ञ नभएको आरोप लगाएता पनि वास्तविकता चाहिँ युक्रेनमाथि असमान खनिज सम्झौता गर्न दबाब दिने मनसायमा उनीहरु रहेको देखिन्थ्यो । अन्यथा, कुनै पनि सहयोग नगर्ने बरु हात झिक्ने बुली (धम्की) थियो त्यो भन्ने कुरा उनीहरूले लुकाएनन् । दुर्भाग्य उनीहरूको ध्यान पुटिनलाई कसरी बचाउने र कसरी युक्रेनको जमिनमुनि रहेको मिनरल्स् हत्याउने भन्नेमा मात्रै केन्द्रित रहेको देखियो । त्यहाँ न युक्रेनी जनताको त्याग न त सार्वभौम देशको अस्तित्वको सम्मान केही पनि देखिएन । उक्त घटनाले रुसले युक्रेनमाथिको युद्ध आर्थिक शोषणका लागि नै शुरु गरेको थियो भन्ने प्रष्ट संकेतसमेत दियो ।

मिडियाको अगाडि सार्वभौम देशको प्रमुखको त्यो अपमान उनको नभएर युक्रेनी जनताको थियो । जसले आफ्नो भाषा, संस्कृति र सार्वभौमसत्ताका लागि दिनदिनै सयौँ आफ्ना सन्तानको बली चढाइरहेका छन् । तिनैको यो स्तरको अपमान हुनु न्यायप्रेमी कसैका लागि पनि पाच्य थिएन । यो घटनाले वास्तवमा स्वतन्त्रता र मानव अधिकारको पक्षमा बोल्ने विश्वभरिका सबै मानिसहरूको मन अमिलो बनाएको हुनुपर्छ । त्रसित बनाएको हुनु पर्छ । 

के युक्रेनी जनतालाई सार्वभौम भएर बाँच्न पाउने अधिकार छैन ? शक्तिशाली देशहरू छिमेकमा हुनु नै कुनै देशको कमजोरी हुन सक्छ ? छिमेकी शक्तिशाली हुँदा साना देशले आत्मसमर्पण गर्नै पर्ने हो र ? अवश्य पनि मानवता, न्याय र अन्तर्राष्ट्रिय कानुनका अनुसार यस्तो हुनु नपर्ने हो । दोश्रो विश्व युद्ध पछि सार्वभौम सत्ता ठुलो र सानो हुँदैन भन्ने कुरा केही हदसम्म स्थापित पनि भएको हो । तर, पछिल्लो समय लोकतन्त्रमा आएको संकुचन र तानाशाहहरुको बढ्दो मनोबलका कारण परिस्थिति फेरी उल्टिँदै गएको छ । खासमा देशभित्रको समस्या छुपाउने र जनताका अधिकारलाई थप खोस्ने तानाशाही महत्वकांक्षाकै उपज हुन् कमजोर देशमाथि हुने यस्ता आक्रमण । युक्रेनमाथिको आक्रमण पनि त्यहि थियो । 

युक्रेन पछिल्लो तीन वर्षभन्दा बढी समयदेखि रुसी आक्रमणमा छ । यद्यपि, यसको सुरुवात धेरै पहिला भएको थियो । २०१४ मा नै रुसले क्राइमिया कब्जा गरेको थियो । पछिल्लो यो युद्धमा सैनिक र गैरसैनिक गरी लाखौं नागरिकले ज्यान गुमाइसकेका छन् । लाखौं रुसी र रुसकोकोतर्फबाट लड्ने हजारौं विदेशी युवाहरुले पनि ज्यान गुमाएका छन् । त्यसमा दर्जनौं नेपाली समेत परेका छन् । अहिलेसम्म युक्रेनको बीस प्रतिशत जमिनमा रुसले कब्जा जमाइरहेको छ । तर पनि खर्बौंको भौतिक क्षती बेहोर्दै कमजोर बनेको राष्ट्रलाई बचाउने युक्रेनी जनताको साहसलाई पुटिनले कमजोर बनाउन भने सकेका छैनन् । वास्तवमा सार्वभौम भएर बाँच्न पाउने युक्रेनी नागरिकको अधिकार यति महंगो पर्न गएको छ कि यस्ता अमानवीय क्रुरताका घटना इतिहासमा विरलै हुने गर्छन् ।

जेलेंस्कीलाई पाहुनका रुपमा बोलाएर जुन व्यावहार प्रदर्शन भयो त्यो नियोजित थियो । विश्व भरीका लोकतन्त्रको नेतृत्व गरेका नेता वा आफ्ना पुराना मित्रहरुलाई बोलाएर अपमान गर्ने ट्रम्पको नीति वास्तवमा उनको तानाशाह बन्ने महत्वकांक्षाकै परिणाम थियो । उनले भारत, फ्रान्स र बेलायतका मुखियाहरुलाई बोलाएर त्यस्तै व्यवहार गरे । लगातार झुट बोलेर उनीहरूको मानमर्दन गरे । त्यसैको अन्तिम कडी थियो जेलेंस्कीप्रतिको व्यवहार । 

वास्तवमा ट्रम्प नयाँ शिराबाट अमेरिकाको नीतिलाई अगाडि बढाउन चाहन्छन् । तानाशाहहरुसँग उठबस र साँठगाँठ बढाएर आफ्नो सत्ता सुरक्षित गर्न चाहन्छन् । उनको नीति कमजोरलाई शोषण गर्ने अधिकार बलियासँग छ भन्ने पुरानो जंगली न्यायको सिद्धान्तबाट निर्देशित भएको देखिन्छ । उनले देशभित्र विश्वविद्यालय, अदालत, कर्मचारी, प्रहरी तथा सेनामा जे जे गरिरहेका छन् त्यसले पनि उनी फाँसीवादको बाटोमा लागेको कुरा देखाउछ । उनको तानाशाह बन्ने महत्वकांक्षाले अमेरिकासँगै सारा विश्वलाई बर्बादीको दिशामा लगेको छ । यसलाई रोक्न बेलैमा आम जनता उठ्न आवश्यक छ ।   

बाइडेन प्रशासनले युक्रेनलाई दिएको आर्थिक तथा सैन्य सामाग्रीको सहयोग गलत थियो भन्ने मान्यतामा ट्रम्प देखिन्छन् । उनले त्यसलाई फिर्ता गर्नका लागि युक्रेनलाई नाजायज दबाब दिएका छन् । बाउबाजेले दिएको दान फिर्ता माग्ने निर्लज्ज सन्तानको व्यवहार उनले गरिरहेका छन् । त्यही मनोकांक्षालाई पुरा गर्न युक्रेनले भोग्दै आएको त्रासदी र सुरक्षा चुनौतिलाई सम्बोधन नगरी जसरी जेलेंस्कीलाई खनिज सम्झौताको लागि दबाब दिइएको छ त्यो आफैंमा मिचाहा प्रवृत्तिको प्रस्फुटन हो । उनले क्यानडा, ग्रिनल्यान्ड तथा मेक्सिकोप्रति देखाएको व्यावहारले पनि यो कुरालाई पुष्टि गर्छन् । 

युक्रेन स्वतन्त्र भएदेखि नै रुशको आक्रमण सहदै आएको छ । त्यसैले गर्दा नेटोको सदस्य भएर आफुलाई सुरक्षित गर्न चाहन्छ । त्यो कुनै नौलो कुरा नभएर स्वाभाविक कुरा थियो । तर, यसैका आधारमा सोसल मिडिया र प्रायोजित मिडियाको प्रयोग गरेर पीडितलाई नै दोषी ठहराउने काम भएको छ । जो कमजोर छ उसलाई प्रश्न गरेर बलियो शक्तिलाई मन लागेको गर्ने वातावरण तयार गरिएको छ । यो दुःखद् कुरा हो । बलियोलाई जिम्मेवार नबनाउने कुनै पनि तर्कले न्यायको पक्षमा आफुलाई उभ्याउन सक्दैन । अहिले उल्टो भएको देखिन्छ । 

युक्रेन सुरक्षित भएर बाँच्न चाहनु अपराध होइन । युक्रेनी जनता स्वतन्त्र तरिकाले आफ्नो सार्वभौम सत्ताको प्रयोग गर्न चाहन्छन् त्यो कुनै अस्वाभाविक कुरा पनि होइन । यसमा सबैको साथ रहनु पर्ने हो तर अहिले सम्म पनि त्यो दिशामा जनआवाज उठाउन नसक्दा विस्तारवादी र उपनिवेशवादी मान्यता राख्ने तानाशाहहरुको मनोबल बढेको छ । ठुला देश मिलेर सानालाई चपिगं बोर्डमा हाल्ने षड्यन्त्र हुँदैछ । युक्रेन पछि गाजामा जे देखियो र जसरी अहिले विश्वभरिका अन्य साना देशहरुले असुरक्षित अनुभुति गरेका छन् त्यसले भविष्य खतरातर्फ अगाडि बढेको देखाउछ । आम मानिसको सफाया गरेर भए पनि आफ्नो लुटको धन्दा अगाडि बढाउने मनोकांक्षामा शक्तिशाली देश र पुँजीपतिहरु लाग्ने देखिएको छ । 

हिजो ह्वाइट हाउसमा भएको उक्त घटनाले बन्द कोठामा हुने कुरालाई बाहिर त ल्याएको छ नै त्यसका साथै साना देशले कस्तो अपमान सहेर बाँच्नु परेको छ भन्ने कुरा पनि सबैका सामू प्रष्ट पारेको छ । वास्तवमा त्यो कमजोर देश र त्यहाँको जनताको बाँच्न पाउने अधिकारलाई शक्तिशाली राष्ट्रहरुले कसरी हेर्छन भन्ने कुराको नांगो प्रस्तुती थियो । त्यही भएर पनि हुन सक्छ शक्तिशाली देशहरुको ढोंग नंगाउनमा प्रमुख भूमिका खेलेकाले कतिपय मानिसहरुले ट्रम्पलाई स्याबास दिएर उस्काउने काम पनि गर्छन् । जुन सही तरिका भने होइन । 

जबसम्म न्यायप्रेमी विश्वभरिका नागरिकले एकजुट भएर आवाज उठाउदैनन् यस्ता अत्याचार बढ्दै जानेछन् । रुसी नागरिकका विरुद्ध पुटिनले गरेको अत्याचारका विरुद्ध नबोल्दा यो सिमा बाहिर आयो । ट्रम्प वा मोदी वा सी अन्य जुनसुकै तानाशाह हुन् तिनका विरुद्ध नबोल्ने हो भने तिनले पनि सिमा पार गर्ने छन् । आम नागरिक आफ्नो वर्गीय, जातिय तथा धार्मिकजस्ता पुर्वाग्रहबाट प्रभावित नभई न्यायका लागि आवाज उठाउन अब ढिला गर्नु हुन्न । अबको समय क्रान्तिको समय हो । न्याय र अधिकारका लागि संघर्ष गर्ने समय हो ।
 

दिनेश सापकोटा राजनीतिक विश्लेषक हुन् ।