यो शीर्षक पढ्दा लाग्न सक्छ नेपालीलाई कसरी राजनीति नबुझेको भन्न सकिन्छ ? यो त चोकचोक र गल्लीगल्लीमा राजनीतिक विश्लेषक पाइने देश हो । यसरी जताततै जसले पनि राजनीतिकै कुरा गरिरहने समाजलाई राजनीति नबुझेको भन्न मिल्छ र ?
झट्ट हेर्दा मिल्दैन जस्तो लाग्छ । किनकि राजनीति नै नबुझेको भए यतिविघ्न कुरा किन हुन्थ्यो ? हुँदैन्थ्यो । यद्यपि, कुरा त्यस्तो सहज पनि छैन । बरु यो कस्तो हो भने रोग पत्ता नलागेसम्म रोगैका बारे चर्चा गरे जस्तो । गनगन गरे जस्तो । यसो भन्नुको मतलब हो नेपाली राजनीतिमा स्थिरता, विधिको शासन, पारदर्शिता तथा नागरिकमुखी शासनको अभाव छ । अर्थात्, नेपाली राजनीति समस्याग्रस्त छ । त्यसकारण जानीनजानी मान्छे यस विषयमा कुरा गर्न बाध्य छन् ।
यसरी समस्याग्रस्त राजनीतिले अनेकन विकृति जन्माएको छ । तीनका कारण समाज आक्रान्त छ । त्यही भएर जनता वाक्क भएर राजनीतिका बारेमा बढी नकारात्मक कुरा गर्ने गरेका छन् । आजभोली त राजनीतिका कुरा नै गाली र निन्दामा बदलिएका छन् । नेता, व्यवस्था, इतिहास, नियति आदिलाई दोष दिएर विषवमन गर्नु नै राजनीतिक कुरा भएको छ । वा, राजनीतिको कुरा नै गैरराजनीतिक भएको छ । वास्तवमा राजनीतिक बहस नै विकृत भएको छ ।
यद्यपि, यसको मतलब चाहिँ के होइन भने नेपालीको राजनीतिक सुझबुझै छैन । तर, पछिल्लो ‘पोलिटिक्स हेटर’ भनेर चिनिने पुस्तामा भने छुट्टै समस्या देखिएको छ । यो पुस्ता अराजनीतिक बन्दै गएको छ । यसले राजनीति बुझ्नै खोज्दैन, बरु ड्याङडुङ गर्ने, गाली पनि अझै न्यून स्तरको गर्ने, धम्की र बलको प्रयोग गर्ने नेतृत्वलाई समर्थन गर्छ । सोसल मिडियाको जमानामा यो पुस्ताको प्रभाव समाजमा बलियो छ । तर यही पुस्ता अन्जानमै वा आक्रोशमा गैरराजनीतिक नेतृत्वलाई राजनीतिमा ल्याउन उद्यत् देखिन्छ । पछिल्लो समयमा आएर यो नेपाली समाजको एक ठुलो समस्या भएको छ ।
यहाँ के तर्क गर्न खोजिएको हो भने नेपाली राजनीतिको बहस सिर्जनशील हुन सकिरहेको छैन । धेरै मानिस दलीय गिरोहका सदस्य छन् । ती 'झोले'को चेतना तीनै गिरोहका स्वार्थ अनुरूप प्रयोग हुने गर्दछ । वास्तवमा यिनको चेतना बन्धक हुन्छ । बाँकी मानिसहरू माथि भनिए झैँ कि राजनीतिलाई घृणा गर्ने छन् कि त राजनीतिका बारेमा समझ नै न्यून भएका छन् । मिडियामा हुने राजनीतिक बहस पनि यस्तै आग्रह र पूर्वाग्रहरहित हुन सकिरहेका छैनन् । अर्थात्, समाजमा जति राजनीतिक बहस भएको छ भने पनि यसले सही दिशा पक्डिन नसकेकाले अलमल व्याप्त छ ।
नेपालमा राजनीतिलाई बुझ्ने सन्दर्भमा प्रायः दुई थरीका विचार पाइन्छन् । पहिलो, राजनीतिमा अब बुझ्न बाँकि केही छैन भन्ठान्ने प्रवृत्ति । राजनीति नगरेको, नपढेको वा नबुझेकाले पनि यसका बारे सबै कुरा बुझे जस्तो गर्ने । राजनीतिलाई बुझ्ने प्रयास नै गर्नु पर्दैन, यसै बुझिन्छ भनेर हल्का रुपमा लिने यस प्रवृत्तिको मूल विशेषता हो । राजनीतिक संस्कृतिको स्खलन र कमसल मान्छेले राजनीति समाल्हेको देख्दा मानिसमा यस्तो विचार उत्पन्न भएको देखिन्छ । विकृत राजनीतिलाई हेरेर यही राजनीति हो भन्ने गलत बुझाई बलियो बन्दै गएको छ ।
विश्वविद्यालयमा राजनीतिशास्त्र पढ्ने विद्यार्थी छैनन् । कोही छन् भने पनि नपढी पास हुन खोज्ने विद्यार्थी अधिक छन् । कसैलाई बढुवा हुन प्रमाणपत्र चाहियो भने राजनीतिशास्त्रमा भर्ना हुने चलन छ । यसले के देखाउछ भने नेपालमा राजनीति जस्तो गम्भीर विषय हल्ला मात्रै होइन ओजनरहीत बनाइएको छ । यो नेपाली राजनीति सुधारका लागि आफैमा एक ठुलो चुनौति भएर खडा भएको छ ।
नेपालमा राजनीतिलाई हेर्ने अर्को दृष्टिकोण छ यसलाई फोहोरी खेल ठान्ने । सधैंभरी विकृत राजनीति मात्रै देखेकाले पनि हुन सक्छ नेपालीलाई राजनीति भनेकै फोहोरी खेल हो भन्ने लाग्छ । प्राचिन ग्रीकमा ‘पोलिटिक्स्’लाई चेतनाको अर्को नामका रुपमा लिइन्थ्यो । यो चेतनाको उच्चतम् प्रयोग गरेर समाजलाई समृद्धितर्फ लैजाने प्रयास हो । यसको वास्तविकता र आवश्यकताका बारेमा जनतामा जानकारी नहुनु, पुरानो इतिहास बिर्सनु र विकृत राजनीतिबाट लामो समय पिडित हुन पुग्नुले मानिसहरुमा राजनीतिप्रति यस्तो नकारात्मक विचार आएको हुन सक्छ ।
राजनीतिमा केही गतिलो काम हुँदैन । कोही गतिला मान्छे हुँदैनन् । यो लुट्ने खेल मात्रै हो भनेर बदनाम गरिंदा राम्रा मान्छे राजनीतिमा आउनै चाहदैनन् । र, यो झन् विकृत हुन्छ । अनि जनता झनै निरास हुन्छन् भने समाज पिछडिन्छ ।
कसरी बुझ्ने त नेपाली राजनीति ?
नेपाली राजनीतिमा अनिश्चितता व्याप्त छ । यो सबैले अनुभव गरेको कुरा हो । तर, यसो हुनुको कारण बारे कमैको ध्यान गएको छ । धेरैले अझै पनि नेपाली राजनीतिले जनताको पक्षमा काम गर्नु पर्दछ भन्ने अपेक्षा राख्दछन् । यो अपेक्षा आफैमा गलत त होइन, तर नेपाली राजनीति जसरी चलेको छ त्यसबाट यो अपेक्षा गर्नु भनेको आफुलाई थप निरास बनाउनु हो ।
नेपाली राजनीति दलीय गिरोहको कब्जामा छ । कहिलेकाँही सतहमा गिरोहको स्वार्थ र जनताको स्वार्थ मिलेजस्तो पनि देखिन सक्छ । त्यसैका आधारमा नागरिक भ्रममा पर्नु हुँदैन । जस्तो, पछिल्लो समय सहकारी ठगीको छानबिन गर्नु पर्दछ भनेर नेपाली कांग्रेसले संसद् अबरुद्ध गर्यो । तर त्यो ठगीएका नागरिकलाई न्याय दिन भन्दा पनि आफ्नो राजनीतिक प्रतिस्पर्धी रास्वपा केन्द्रित थियो भन्ने कुरा पुष्टि हुँदै गएको छ ।
नेपाली राजनीतिमा कांग्रेस, एमाले, माओवादी वा रास्वपा आदिका नाममा जति दल छन्, यी दल नभएर गिरोह भएको कुरा बुझ्न नेपालीले नसक्दा पनि समस्या भएको हो । यी दलका प्रमुखले जे चाहन्छ, ती दलमा त्यहि हुन्छ । यहाँ कुनै आन्तरिक लोकतन्त्र भन्ने चिज छैन । भ्रष्टाचार र तस्करीजस्ता अन्य अपाराधिक कर्मबाट जम्मा गरेको दलालीका आधारमा यी दल र यीनका नेता कार्यकता पालिन्छन् । यी दलीय गिरोहको काम गर्ने तरिका अपारदर्शी र यसका सदस्यको निहीत स्वार्थका लागि हुने गर्दछ ।
पछिल्लो समय कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा भएको छ । यीनीहरु मिल्नुमा अरु कुनै कारण छैन । मात्रै तेश्रो ठुलो पार्टीले आफ्नो संसदीय अंकगणीतका हिसाबले सधैं प्रधानमन्त्री हुने भयो भन्ने डाहा र पिडा मात्रै छ । हो, प्रचण्डले अवसरवादी प्रवृत्ती देखाए । ठुलो पार्टीलाई सरकारको नेतृत्व गर्ने मौका दिनु पर्दथ्यो । तर यसको मतलब संसदको ठुलो र दोश्रो ठुलो दल मिलेर देशलाई प्रतिपक्षविहिन बनाई लोकतन्त्रलाई संकुचित बनाउन भने छुट छैन ।
नेपालको राजनीति यीनै गिरोहहरुको प्रतिस्पर्धाका कारण चलायमान हुने गरेको छ । यिनको स्वार्थको टकराबका कारण सत्ता परिवर्तन हुने र ती परिवर्तनले देशलाई झनै रसातलमा पुर्याउदै गएको देखिन्छ । नेपाली जनताले के बुझ्न जरुरी छ भने दलहरु नैतिकताहीन आपराधीहरुका गिरोहमा बदलिएका छन् । यी दललाई नबदली वा नयाँ विकल्पको निर्माण नगरी राजनीतिक सुधारको सपना सपनामा मात्रै सीमित हुनेछ ।