Skip to main content

सत्ता मोहले सकिएका प्रचण्ड 

Submitted by editor on
Image taken from NDTV
दिनेश सापकोटा
२०८१, असार ३

प्रचण्ड तीन पटक प्रधानमन्त्री भए । उनलाई प्रधानमन्त्री बन्ने वास्तविक  'म्यान्डेट' २०६५ सालमा प्राप्त भएको थियो । त्यस पछिका दुवै अवसर छलकपट र बार्गेनिङबाट प्राप्त भएका थिए । ०६५ मा जनताले उनले नेतृत्व गरेको हिंसात्मक विद्रोह र त्यसले उठाएका मुद्दालाई ठुलो मतका साथ अनुमोदन गरेका थिए । यद्यपि, प्रचण्डले उक्त अवसरलाई सत्ताको दम्भ भनौँ वा सैद्धान्तिक भ्रमका कारण सदुपयोग गर्न सकेनन् । सेनामा अनुचित हस्तक्षेप गरी आफ्नो अनुकुलको मान्छेलाई प्रधान सेनापति बनाउन खोज्दा कुरा बिग्रियो । त्यसको चौतर्फी विरोध भयो । सेनाले पनि स्वीकार गरेन । 

प्रचण्डको उक्त कदमलाई सत्ता कब्जा गर्ने रणनीतिका रुपमा बुझियो । उनी आफ्नो निर्णय कार्यान्वयन गर्न असफल भए । राष्ट्रपति र प्रधान सेनापतिको विरोधका कारण राजीनामा दिन बाध्य भए । यसरी उनले सत्ता कब्जा गर्ने धङ्धङ्तीका कारण प्राप्त असर गुमाए । उनको सत्ता उन्माद र कब्जा गरेर कम्युनिष्ट राज्यमा नेपाललाई बदल्ने दुस्साहसका कारण  त्यो सुनौलो अवसर गुम्यो ।

उक्त अवसर गुमे पछि प्रचण्डको पार्टी मात्रै कमजोर भएन, बरु माओवादी विद्रोहले उठाएका प्रगतिशील मुद्दाहरू कमजोर भए । पहिलो संविधान सभा भङ्ग भयो । पहिचानको मुद्दा कमजोर भयो । आफैले उठाएका मुद्दाप्रति प्रचण्ड बेइमान देखिए । दोश्रो संविधान सभामा यथास्थितिवादी शक्ति कांग्रेस र एमाले बलिया भएर आए । ती पुराना दलहरुको पुनरागमन प्रचण्डकै असफलताको परिणाम थियो । उनको संसदीय लोकतन्त्रलाई रणनीतिक रुपमा प्रयोग गर्ने दृष्टता जनताले बुझेकाले त्यसो हुन गएको थियो ।

२०७४ को आम निर्वाचनसम्म आइपुग्दा प्रचण्ड यति कमजोर भए कि के पी ओलीसँग सहकार्य गर्न पुगे । विचार र मुद्दा एकतिर सत्ता स्वार्थ अर्कोतिर हुँदा यस्तो हुन गएको थियो । ओली महेन्द्रीय राष्ट्रवादका पछिल्ला हिमायती हुन् । उनी कहिल्यै पनि गणतन्त्र र समावेशी–समानुपातिकका पक्षधर थिएनन् । मधेसीलाई नेपाली नठान्ने उनको नस्लीय राष्ट्रवाद देशले देखिसकेको पनि थियो । उनका अधिनायकवादी चरित्र पछिल्लो संसद विघटनसम्म आइपुग्दा प्रष्ट नै भएको छ । कम्युनिष्ट एकताका नाममा प्रचण्ड ओलीसँग एकता गर्न जानु आफैमा घातक थियो । त्यस्तै भयो । वास्तवमा ओलीसँगको उक्त एकता लगत्तै चिन्तक प्रदिप गिरिले उक्त घटनालाई ‘क्रान्तिको अवसान’ भनेका थिए । 

नेपाल कम्युनिष्ट पार्टीका नाममा पार्टी एकताको नाटक गरेर ओली–प्रचण्ड एक ठाउँ आए र ०७४ चुनाव लडे । नेपालको इतिहासमा करिब दुई तिहाइ मतसहित कम्युनिष्ट सरकार बनाउने अवसर आयो । त्यस पछिको सरकार गठनमा कमजोर पार्टनरका रुपमा रहेका प्रचण्ड प्रधानमन्त्री हुने कुरा थिएन, ओली नै बने । ओलीको सरकार र पार्टीमा हालिमुहाली चल्यो भने प्रचण्ड झनै कमजोर बन्दै गए । किनारामा पर्दै गए । 

जसरी नाजायज तरिकाले सेनालाई चलाउने काम सत्ता कब्जा गर्ने मोहका कारण भएको थियो तेस्तै मोहका कारण प्रचण्ड ओलीसँग सहकार्य गर्न तम्सिएका थिए । प्रचण्डले किन रातारात ओलीसँग मिलेर पार्टी एकताको नाटक गरे ? किन यति ठुलो निर्णय पार्टीमा छलफलै नगरी गरे ? यो विषयलाई प्रचण्डले त पुष्टि गर्न सक्ने कुरै थिएन, राजनीतिका जानकारहरूले पनि अनुमान लगाउन सकेनन् । तर प्रचण्डको प्रवृत्तिले विस्तारै यो पनि सत्ता लिप्साका कारण नै भएको थियो भन्ने प्रष्ट हुँदै गयो । 

त्यो एकता माओवादी आन्दोलनको अवसान थियो भन्ने कुरामा धेरै सहमत हुँदाहुँदै पनि किन प्रचण्डले ओलीलाई गर्ल्याम्म अङ्गालो हाल्न पुगे त भन्ने कुरा वास्तवमा अहिले आएर स्पष्ट भएको छ । धेरैले त्यो समयमा के पी ओलीको स्वास्थ्य कमजोर भएकाले उनी पछि तत्कालीन नेकपामा आफ्नै रजगज चल्ने ठानेर उक्त काम गरेका थिए भने । ओलीले नै प्रचण्डलाई ‘मर्ला र खाम्ला’ भन्ने भावना राखेको परोक्ष आरोप लगाएका थिए ।

तत्कालीन नेकपामा किनारामा पर्दै कमजोर बनेका प्रचण्डका लागि आफूलाई फेरी उभ्याउने बाहाना चाहिएको थियो । उनको विश्वसनीयता जनता तथा कार्यकर्ता माझ धराशायी हुँदै गएको थियो । किरण तथा बाबुराम जस्ता कयौं नेताले उनको साथ पहिले नै छोडिसकेका थिए । यस्तो अवस्थामा ओलीको संसद् विघटन गर्ने अधिनायकवादी कदम प्रचण्डका लागि सही मौका बन्यो । देशभरी ओलीको विरोध भएको अवस्थामा माधव नेपालसँग मिलेर पार्टी फुटाए । तर त्यसपछिको सर्वोच्चको आदेशले उनको पुरानो माओवादी बिउँत्यो भने नेपालले अर्को पार्टी बनाए । 

नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनावमा जानु पर्ने अवस्था बन्नु प्रचण्डका लागि सञ्जीवनी सावित भयो । ओलीको अधिनायकवादका विरुद्धमा संविधान बचाउन गठबन्धन गर्नु पर्छ भन्ने कुराले उनलाई राम्रो अवसर प्रदान गर्यो । यद्यपि, उनले ३२ सिट भन्दा बढी जित्न सकेनन् । कांग्रेस ठुलो पार्टी भयो भने ओलीको एमाले हाराहारीको दोश्रो पार्टी बन्यो । 

यतिधेरै हन्डरठक्कर खाएका प्रचण्डमा सत्ताको मोह भने गएन । चुनावको परिणाम आउँदा नआउँदै फेरी ओलीसँग मिल्ने राजनीतिक बेइमानी देखाए । उनको पार्टीले प्राप्त गरेको सिट संख्याप्रधान मन्त्री हुनका लागि थिएन । कांग्रेसको नेतृत्वमा सत्ताको सहकर्मी भएर काम गर्नका लागि थियो । तर संसदीय अङ्क गणितलाई हतियार बनाएर लोकतान्त्रिक संस्कार र संसदीय परम्पराको धज्जी उडाएर ओलीसँग हातेमालो गर्न पुगे । 

उनको सत्ता परिपक्क भएको ठाने पछि फेरी कांग्रेससँग मिलेर एमालेलाई गलहत्याउने काम गरे । कांग्रेससँग मिलेर आलोपालो सत्ता चलाउने सहमतिमा करिब डेड वर्ष सरकार चलाए पछि फेरी उनी ओलीसँग अंकमाल गर्न पुगे । त्यो पनि राजनीतिक बेइमानी थियो । कांग्रेसलाई प्रधानमन्त्री दिनु पर्छ भनेर गरेको उक्त निर्णय जुनसुकै बहानामा पनि ठिक थिएन । सत्ता मोहकै परिणाम थियो ।

प्रचण्डको यो प्रवृत्तिलाई कतिले ‘डाइनामिज्म्’ भन्ने गर्दछन् । तर उनले सत्ता लिप्साबाट प्रेरित भएर जनादेशको अपमान मात्रै होईन गठबन्धन धर्मको उल्लंघन गरे । यो कथित डाइनामिज्म्को लगातार स्खलनले सत्ताका लागि सिद्धान्तको बली चढाउने र राजनीति बेइमानी गर्ने प्रचण्डको स्वभाव बनेको कुरा स्थापित गर्यो । वास्तवमा यो कुनै डाइनामिज्म् नभएर सत्ताको दलाली थियो जुन कुरा प्रष्ट हुँदै गएको छ ।

प्रचण्ड अहिले आफ्नो राजनीतिक जीवनको सबैभन्दा पेचिलो मोडमा पुगेका छन् । अब उनलाई कसैले पनि विश्वास गर्ने अवस्था छैन । कांग्रेस उनलाई प्रधानमन्त्री दिएर सरकारमा जानु भन्दा विपक्षीमा नै बस्छौँ भन्दै छ । खासमा ठुलो पार्टीको हैसियतले कांग्रेसले सरकारको नेतृत्व गर्नु पर्ने थियो । जस अपजस उसैले लिनु पर्ने थियो । अहिले ओलीले सरकारको सबैभन्दा ठुलो साझेदार भएर पनि सरकारको आलोचना गर्दै हिँडेका छन् । रास्वपाका नेताहरू पनि राजीनामा खल्तीमा बोकेर हिँडेका छौं भन्दै छन् । यो अवस्थाले प्रचण्डको राजनीति कतै सकिने अवस्थामा पुगेको त होईन ? प्रश्न उब्जाएको छ । 

 

दिनेश सापकोटा राजनीतिक विश्लेषक हुन् ।