Skip to main content

ऐतिहासिक रेकर्ड तोड्ने गृहमन्त्री लामिछानेका अभिव्यक्तिले के संकेत गर्छन् ?

Submitted by editor on
File photo taken from khabarhub
बेग्लै
२०८१ , जेष्ठ ८

मिथ्याकरण र गैरजिम्मेवारीले भरिपूर्ण अभिव्यक्ति दिने कुरामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले रेकर्ड तोडेका छन् । करिब आधा दर्जन मिथ्याकरणका उदाहरण उनको एक अभिव्यक्तिबाट निकाल्न सकिन्छ । जेष्ठ ६ गते संसद्मा दिएको उनको वक्तव्यमा असंगति, दुराग्रह, पक्षपात र ध्रुतता बाहेक केही देखिँदैन । आफू छानबिनबाट बच्न सत्ताको दुरुपयोग गर्ने पुराना दलको बाटो लिएका लामिछानेले देशलाई राजनीतिक स्खलनको झन् गहिरो खाडलमा पुर्याएका छन् । उनले संसद्लाई सत्ताको बलमा दुरुपयोग गरी जुन अभिव्यक्ति दिए यसले नेपालको राजनीतिलाई नैतिक सङ्कटको नयाँ चरणमा पुराएको प्रष्ट संकेत गर्छ । 

सहकारी ठगीको आरोप लागेका व्यक्ति देशको उपप्रधान तथा गृहमन्त्री हुनु आफैमा लाजमर्दो विषय हो । यो स्वीकार्य नहुनु पर्ने हो । पहिलो पटक गृह मन्त्री हुन खोज्दा के पी ओली र प्रण्चडले समेत तपाईंको नागरिकता विवाद छ गृह नखोज्नुस् भने । तर लामिछाने मानेनन् बरु सरकारलाई दिएको समर्थन फिर्ता गर्ने धम्की दिएर उही मन्त्रालय लिए । अदालतले उनको नागरिकता गैरकानुनी भएको भने पछि सांसद पद पनि खारेज भयो । फेरी नयाँ नागरिकता बनाएर चुनाव लडे । 

संसद्मा उनले दिएका पछिल्ला अभिव्यक्तिले राजनीतिक संस्कार र कानुनी राज्यको उपहास मात्रै गर्दैनन् बरु अनैतिकतालाई नै राजनीतिको सिंढी चड्ने माध्यमका रुपमा स्थापित गर्दछन् । लामिछानेका उक्त अभिव्यक्तिले के चाहीँ प्रष्ट देखाउँछन् भने नेपालको राजनीतिक इतिहासमा यति छिट्टै स्खलित सायदै अरु कुनै नेता भएका होलान् । देशको राजनीतिक इतिहासमा संसद्को पोडियममा उभिएर गृहमन्त्री भएको व्यक्तिले यति धेरै आधारहीन र लाञ्छनायुक्त अभिव्यक्ति सायदै लगाए होला । वास्तवमा जसरी टेलिभिजनमा लामो समय बोलेर लामिछानेले गिनिज बुकमा रेकर्ड राखेका थिए, त्यसैगरी अस्तिका अभिव्यक्ति पनि गिनिज रेकर्ड तोड्ने खालका छन्, भलै गिनिज बुकले यो रेकर्डका लागि वर्ग बनाएको छैन ।    

नयाँ विकल्प बन्छौँ भन्दै आएका लामिछाने रास्वपाका सभापति, गृह मन्त्री र सहकारी ठगी प्रकरणका एक शक्तिशाली आरोपित हुन् । यस नाताले पनि उनी सहकारी संकट समाधानका लागि सक्रिय हुनु पर्ने हो । वास्तवमा यसबाट देशलाई निकास दिने प्रमुख दायित्व लामिछानेको हो । बिडम्बना, झनै उनका कारण सहकारी संकट राजनीतिक संकट बनेको छ । उनका अभिव्यक्तिले समस्यालाई झनै जटिल र विकृत बनाएका छन् । न उनी ल मलाई छानबिन गर भन्न सक्छन् न त उनीसँग मतियार बनेका अन्य ठगीको आरोप लागेकालाई पक्राउ नै गर्न सक्छन् । बरु उनी हिजो भ्रष्ट र अनैतिक भनेर आरोप लगाउने एमाले तथा माओवादीको प्रतिरक्षा गर्न उद्यत् देखिन्छन् । 

संसद्मा वक्तव्य दिन उभिएका लामिछानेले सुरुवात नै कांग्रेसलाई आधारहीन आरोप लगाएर गरे । सबैलाई थाहा छ कांग्रेसका नेता भ्रष्ट छन् । कति जेलमा समेत पुगे । छानबिन गर्नु पर्ने पनि कयौं होलान् । यसका सभापतिसमेत यस्ता घोटालामा संलग्न भएका कुरा बेलाबेला आउने गरेका छन् । हो, प्रायः सबै दलको अवस्था उस्तै छ । तर यसको मतलब आधारहीन रुपमा जसलाई जे पनि भन्ने, आरोपित गर्ने, चरित्रमाथि प्रश्न उठाउने भन्ने होइन । गृह मन्त्रीले के कुरामा ख्याल गर्नु पर्थ्यो भने कसैले आफूमाथि आरोप लगायो भने तँ पनि भ्रष्ट होस् भनेर प्रतिआरोप लगाउनु नैतिक हुनु होइन । झनै लामिछानेले गृहमन्त्रालय सम्हालिरहेको अवस्थामा उनले त छानबिन गरी कानुनी राज्यको प्रत्याभूति दिलाउने हो । उनले जस्ता अभिव्यक्ति दिए ती कुनै पनि मर्यादामा मिल्ने कुरै होइनन् । 

उनी नांगो रुपमा पक्षपाती देखिए । सत्तासँग जोडिएका दलका अपराधका बारेमा मुख पनि खोलेनन् तर कांग्रेसका नेताहरूलाई व्यक्तिगत रुपमा टार्गेट गर्दै चरित्र हत्या गर्ने प्रयास गरे । विदेशीलाई सूचना बेचेको सम्म गम्भीर आरोप लगाए । उनको यो गतिविधिले उनी सत्ता दलालीको पुरानो सिण्डिकेटको सदस्य बनेको कुरा मात्रै पुष्टि गर्दैन बरु रास्वपा पुराना भन्दा अझै अनैतिक, भ्रष्ट र अराजनीतिक बन्दै गरेको देखाउँछ । 

उनले झुठ कुराबाट आफ्नो मन्तव्य सुरु गरे । उनले भने, ‘काँग्रेस कस्तो लोकतान्त्रिक पार्टी हो ? जसले अर्को दलबाट निर्वाचित सांसदलाई संसद्मा बोल्न दिने वा नदिने निर्णय गरेछ । बी पी, गणेशमान र कृष्णप्रसादको पार्टीले यस्तो गर्न मिल्छ ?’ उनको यो भनाई दुराशयपूर्ण किन देखिन्छ भने उनले नाम लिएका नेताहरूले कहिल्यै पनि ठगीको आरोप लागेको व्यक्तिलाई मन्त्री बनाएनन् । संसद् भनेको सत्तापक्षले शक्ति प्रदर्शन गर्ने ठाउँ हो भनेनन् । प्रतिपक्षलाई प्रश्न सोध्न नदिने हतकण्डा अपनाएनन् । वास्तवमा कांग्रेसले उनलाई बोल्न नदिएको भन्ने उनको दाबी नै गलत छ । काँग्रेसले त उनी बोले पछि हामी पनि बोल्न पाउनु पर्छ भन्ने माग गरेको थियो । उनी मन लाग्दी बोल्ने अनि विपक्षीलाई प्रश्न गर्न पनि नदिने कुरा संसदीय कुरा होइन । यो लोकतान्त्रिक कुरा होइन । संसदमा बोल्न नपाएर प्रतिपक्षले बाहिर पत्रकार सम्मेलन गर्नु पर्ने अवस्थामा पुग्नुमा सत्ता पक्ष नै जिम्मेवार हुन्छ ।

लामिछानेका अभिव्यक्ति भ्रमात्मक, झुठ र विरोधाभाषी देखिन्छन् । उनले रास्वपासँग लड्ने क्षमता छ त भने तर छानबिन गर्न तयार भने भएनन् । बारम्बार कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको कुरा गरे तर आफू प्रधानमन्त्री नबनेर उपप्रधान तथा गृह मन्त्री किन बनेको भन्ने कुराको कारण दिएनन् । प्रधानमन्त्रीको अफर गर्ने मान्छेको नाम गोप्य राखी राजनीतिमा गोपनियताको ख्याल राख्ने मान्छे हुँ भन्दै हाँस्यास्पद दाबी गरे तर विना प्रमाण गृह मन्त्री भएको मान्छेले तथ्यहीन कयौं संगीन आरोप लगाए । उनले थप अगाडि असङ्गत कुरा भने, ‘कांग्रेसको प्रधानमन्त्रीको अफरको डेट एक्सपायर भए मात्रै मैले नैतिकताको परीक्षा दिने छु ।’ 

उनको पूरा ध्यान कांग्रेसलाई आरोप लगाउनमा केन्द्रित थियो, उनलाई लागेको आरोपका बारेमा प्रष्टिकरण दिनुमा होइन । उनको अभिव्यक्ति काँग्रेस केन्द्रित बाहेक केही थिएन । आक्रोशको अभिव्यक्ति बाहेक केही थिएन । उनको वक्तव्यमा तर्कका भन्दा भावनाका कुरा बढी छन् । भावनाका कुरा मात्रै हटाइदिने हो भने कांग्रेसलाई गालीगलौज गर्ने बाहेक उनले केही भनेनन् । उनले कांग्रेसलाई लक्षित गर्दै थप भने, ‘तपाईंको पालामा मन्त्रीले छानबिन गर्थ्यो होला तर हाम्रा पालामा प्रहरीले गर्छ । तपाईंको पालामा छानबिन गर्ने प्रहरीलाई सरुवा गरिन्थ्यो होला, हाम्रो पालामा मलाई नै हतकडी लगाएर लैजाने आदेश दिएको छु ।’ 

आदेश दिने मन्त्रिलाई प्रहरीले कसरी हतकडी लगाउन सक्छ ? इतिहासमा कहिले लगाएको छ ? के नेपाल प्रहरी लामिछाने गृहमन्त्री भए पछि चुस्त, दुरुस्त र स्वतन्त्र भएको हो ? होइन । यो झुठ हो । लामिछाने गृहमा गए पछि प्रहरीले कुन कुन ठुला भ्रष्टाचारका काण्डको अनुसन्धान गर्यो ? कुनै पनि गरेन र गरेका पनि टुंगोमा पुर्याएन । उनको त्यो अभिव्यक्ति बर्गल्याउनु बाहेक के हुन सक्छ ? 

उनीमाथि लागेको आरोप र उपलब्ध प्रमाणका आधारमा उनलाई नेपाल प्रहरीले पक्राउ गरी छानबिन गर्नु पर्ने हो । त्यसका लागि यथेष्ठ प्रमाण छन् । तर यति स्वतन्त्रता नेपाल प्रहरीलाई कहिले थियो ? त्यसमाथि अहिले ठगीको आरोप लागेका मान्छे गृह मन्त्री हुँदा त्यो कसरी संभव हुने ? लामिछानेले त्यो चाहन्छन् भने पहिला राजीनामा दिएर प्रहरीलाई सजिलो बनाइदिनु पर्ने हो । तर उनको प्रवृत्ति कस्तो देखिन्छ भने जति प्रमाण भए पनि प्रमाण नै नपुगेको भन्ने । यो पत्रिका, त्यो दल, फलानो व्यक्ति मप्रति पूर्वाग्रही भयो भनेर छानबिनलाई रोक्ने । देशको मिडियाले सप्रमाण लेखेको लेख्यै छ, देशको ठुलो पार्टीले छानबिन हुनु पर्छ भने संसद अवरुद्ध गरेकोगरै छ अनि हजारौं सहकारी पीडितले छानबिनको माग गरेका छन्, उजुरी दिएका छन् । तर पनि लामिछानेले यो कुरालाई अन्देखा गर्नुले उनी स्वच्छ र इमानदार नरहेको भन्ने कुरा जनता माझ बढ्दै गएको छ । 
लामिछानेले दावी गरेको फौजदारी अनुसन्धानको विषय संसदीय छानबिनको विषय हुन सक्दैन भन्ने कुरा पनि संगतिपूर्ण देखिदैन । संसदीय छानबिन हुनु पर्छ भन्ने माग अत्याचार हो भन्दै लामिछानेले उक्त अत्याचार सहन तयार छु पनि भन्छन् तर छानबिन गरौँ भन्दा दर्जनौं सर्त राख्छन् । उनले आफूलाई एउटा व्यक्ति भएको भन्दै ‘विषकुण्डमा चोब्न खोजेको’ बताए । उनको यो अभिव्यक्ति कांग्रेसले उनको नाम नै किटेर छानबिनको माग गरेको प्रसंगमा हुन सक्छ । तर उनी एक व्यक्ति मात्रै होइनन् । संसद्को चौथो ठुलो दलको सभापति र देशको उपप्रधान तथा गृह मन्त्री हुन् । उनको छानबिनले सहकारी सङ्कटलाई समाधानतर्फ लैजान सहयोग गर्छ । त्यसका लागि उनी स्वाभाविक रुपमा तयार हुनु पर्ने हो । तर त्यो जनअपेक्षाभन्दा उनी कोसौँ टाढा पुगेका छन् ।

उनले कुनै मिडिया आधारहीन रुपमा उनको विरुद्धमा लागेको छ भने त्यसका लागि पनि कानुनी उपचार खोज्न सक्छन् । तर त्यो उनी गर्दैनन् बरु आफ्ना चम्चे मिडियाको प्रयोग गरेर दुष्प्रचारमा लाग्छन् । अदालतको मानमर्दन गर्छन । उनको कुरा सुन्दा लाग्छ उनको खातामा कहाँबाट पैसा आयो ? कसले पठायो उनलाई थाहा छैन । 
वास्तवमा उनका अभिव्यक्तिमा सत्यलाई बदल्ने दुस्साहस देखिन्छ । जुन असम्भव मात्रै छैन बरु यसले उनको मानसिक स्वास्थ्यसँगै सारा देशको राजनीतिलाई संकटोन्मुख बनाएको छ । शेयर सदस्य नभएको मान्छेले किन पैसा लिएको ? कसैले उनको नाममा लेखिदिँदै करोडौँको रकम उनको खातामा कसरी जान्छ ? लामिछानेले आफैलाई सफाइ दिने जुन प्रयास गरे त्यो कानुनी राज्यको उपहास बाहेक के हुन सक्छ ?

लामिछाने फोहोर बनेको राजनीति सफा गर्न पोखरीमा नै पस्नु पर्छ भन्दै राजनीतिमा आएका हुन् । तर अहिले उनका व्यापारिक मित्र ‘जीबी राईले गरेको फोहोर सफा गर्नु पर्छ भन्ने छैन’ भन्दैछन् । उनी आफै जोडिएको काण्डको मुख्य मतियारलाई पक्राउ नगर्ने, छानबिनको कुनै प्रक्रिया अगाडि नबढाउने तर प्रश्न उठाउनेलाई नै अनैतिक र भ्रष्टको प्रतिआरोप लगाउने उनको प्रवृत्तिले राजनीतिको कुरूप चित्र देखाएको छ । 

लामिछानेले पोखरा महानगरपालिकाले गठन गरेको छानबिन समितिका बारेमा जानकारी गराउन चाहन्छु भन्दै समितिमा भएका व्यक्तिमाथि आक्रमण गरे । उक्त समितिका सदस्य दिपक आचार्यका बारेमा उनले दिएको अभिव्यक्ति मिथ्याकरणको एक विधि ‘एड होमिनम्’को उत्कृष्ट उदाहरण हो । उनी छानबिन समितिको प्रतिवेदनले के भन्छ भन्ने तिर लाग्दै नलागी समितिका ति सदस्य एक सहकारीका अध्यक्ष हुन्, कांग्रेसको भागबन्डामा सहकारी संघ कास्कीमा सञ्चालक भएका व्यक्ति पनि हुन्, कांग्रेसबाट वडा अध्यक्ष हुन खोजेका थिए जस्ता असम्बन्धित कुरा गरेर समितिले गरेको छानबिन नै नमान्ने आशय व्यक्त गरे ।  

भावनाका कुरा गरेर बर्गेलाउने उनको प्रयास वास्तवमा लाजमर्दो छ । उनले मिडियालाई पनि लाञ्छना लगाउने काम गरे । मिडिया मिलाउने कुरा म गर्दिन भन्दै उनी देश मिलाउन आएको हो भन्ने दावी सहितको अहंकार देखाए । उनले कांग्रेसले आफू सत्ताबाट बाहिर भएको पीडा सहन नसकेर उनलाई आरोप लगाएको दावी गरे । उनले वक्तव्यको अन्तिमतिर फेरी मिथ्याकरण गरे । उनले मलाई लागेको आरोपमा प्रष्ट पार्न चाहन्छु भन्दै प्रसङ्गलाई प्रष्ट पार्ने भन्दा अलमलाउने काम गरे । यो मिथ्याकरणको कपटी विधिलाई अंग्रेजीमा ‘बेगिगं द क्वश्चन’ भनिन्छ । यद्यपि, मिथ्याकरणका विभिन्न विधिको मिश्रण उनको वक्तव्यमा देख्न पाइन्छ । 

उनले प्रश्न गर्छन्, मिडियामा आएको भरमा छानबिन समिति बनाउने हो भने कसको आएको छैन ? सबैको बनाउँ । कांग्रेस महामन्त्री गगन थापाप्रति लक्षित देखिएको उनको अभिव्यक्तिले थापा स्ववियु सभापति हुँदा, पार्क र वेबसाइट बनाउँदा, कृषि फार्म खोल्दा भ्रष्टाचार गरेको आरोप लगाउँछ । के तिनको पनि छानबीन गर्न समिति बनाउने हो ? भन्दै लामिछानेले प्रश्न गरे । वास्तवमा गृह मन्त्री भएको नाताले  कि त अनुसन्धान गर्नु पर्थ्यो कि यी विषय उठाउनै हुने थिएन । आफ्नो बचाउ गर्न यो स्तरमा उत्रिनु मर्यादा भन्ने चिजको नै अन्त्य गर्नु सरह हो । 

उनले गगनमाथि स्वाथ्य मन्त्री हुँदा घुस लिएर उपकुलपति बनाएको पनि भने । कांग्रेसका सांसदले मानव तस्करी गर्न रातो पासपोर्ट बेचेको आरोप लगाए । उनले जे जति आरोप लगाए त्यसको उद्देश्य के देखिन्थ्यो भने तिमीहरु पनि चोर हौ । मैले पनि चोरेँ । किन खेदो खन्छौ ? किन मेरो पछि पर्छौ ? यसको मतलब के हो भने लामिछाने देशको राजनीति सफा गर्न होइन, झन धमिलो बनाउन आएका हुन् । नयाँ संस्कार दिन होइन झनै पतनतर्फ लैजान आएका हुन् ।