सम्पादकीय
पत्रकारिता कति महत्वपूर्ण छ त्यो भनिराख्नु परेन । पत्रकारिताले हाम्रो सामु ल्याउने सूचना, विश्लेषण र विचारले वास्तवमै प्रकाशको काम गर्छन् । यी विना हाम्रा लागि सत्यतथ्य बुझ्न सम्भव छैन भने कुनै विषयमा विचार बनाउनका लागि पनि उत्तिकै कठिन बन्छ । त्यसकारण पत्रकारिता हाम्रो तेश्रो आँखा हो भन्दा अतियुक्ति हुँदैन ।
कतिपयलाई लाग्ने गर्छ सोसल मिडियाको यो समयमा पत्रकारिताको महत्व घटेको छ । यद्यपि, त्यसो होइन । वास्तवमा यसको महत्व झनै बढेको छ । हो, सोसल मिडियाले सबै व्यक्तिलाई पत्रकार बन्न सक्ने गरी प्राविधिक रुपमा सहयोग त गरेको छ नै तर चुनौति पनि थपेको छ । यसले चाहिनेनचाहिने सबै सूचनाको बाढी बगाएर आम मानिसलाई अलमलमा पारेको छ । यस्तो बेला सत्यतथ्यमा आधारित पत्रकारिताको झनै महत्व बढेको छ । यसका साथै पत्रकारिता सूचनामा आधारित नभएर उपलब्ध सूचनाको सत्य जाँच गर्ने र तिनको तटस्थ विश्लेषण गर्ने कुरामा बढी ध्यान दिने गरी पुनर्संरचना गरिनु पर्ने भएको छ ।
अवश्य पनि पत्रकारिता एक चुनौतिपूर्ण काम हो । पत्रकारको जिम्मेवारी निभाउनका लागि व्यक्तिमा ज्ञान, सीप र सत्यप्रतिको इमान्दारिताका साथै साहस पनि उत्तिकै मात्रामा चाहिन्छ । यसलाई नागरिक अधिकारका लागि समर्पित गर्नका लागि सत्ता र धनको शक्तिसँग लड्ने हिक्मत चाहिन्छ । यसको मतलब यो पेशाले त्यागको भावना पनि खोज्छ ।
पत्रकारितालाई तानाशाहीका विरुद्ध सधैँ लड्नु परेको त थियो नै । पछिल्लो समय आएर पत्रकारिता गर्न थप कठिन बन्दै गएको छ । विश्वभरी बलियो बन्दै गएको फासीवादले यसलाई स्वभाविक रुपमा तारो बनाएको छ । फासिवादीहरूका लागि सत्यतथ्यमा आधारित पत्रकारिता ठुलो चुनौति हो । त्यसकारण उनीहरूले पत्रकारिताको हत्यालाई पहिलो प्राथामिकतामा राख्छन् । र, यसको ठाउँमा भ्रमित गर्ने उनीहरूबाट प्रायोजित प्रोपागान्डालाई गाड्ने ध्याउन्न गर्छन् । अहिले संसारभरि यो प्रवृत्ति फैलिएको हामी देखिरहेका छौं ।
विश्व भरी युद्धको वातावरण बनेको छ । नयाँनयाँ फ्रन्टहरुमा युद्ध भएका छन् । प्यालेस्टाइन, युक्रेन र सुडान अहिले प्रमुख युद्धस्थल बनेका छन् । अन्य सानातिना युद्धहरू जताततै फैलिदै गएका छन् भने जतिबेला पनि यिनले ठूलो रूप लिने जोखिम देखिएको छ । यस्तो परिस्थितिमा विश्व भूराजनीति पनि जटिल बन्दै गएको छ । यसले पनि पत्रकारिताको पेशालाई झनै जोखिमपूर्ण बनाएको छ ।
नेपालको परिप्रेक्षमा पत्रकारिताका प्रमुखतः दुई चुनौतिहरु छन् । पहिलो, पत्रकारिताको क्षेत्रमा लाग्ने व्यक्तिहरु नै कमजोर देखिन्छन् । आवश्यक र गहन अध्ययनविना नै यो पेशामा लाग्ने प्रवृत्ति देखिएको छ । कमजोर र पेशाप्रति न्याय गर्न नसक्ने व्यक्तिहरुको संख्या बढी हुँदा पत्रकारिता स्वस्थ हुने कुरा भएन । यस्तो परिस्थिति बन्नुमा प्रमुखतः यो पेशामा रहेको अनिश्चितता र आर्थिक असुरक्षा प्रमुख कारणका रुपमा देखिन्छन् । जब पत्रकारिताको पेशामा आर्थिक असुरक्षा हुन्छ र कमजोर मानिसहरूको बोलवाला हुन्छ यस्तो परिस्थितिमा धनको प्रभावमा परेर पत्रकारिताको धर्म बेच्ने वा पत्रकारिताको नाममा दलाली गर्ने प्रवृत्ति मौलाउछ । अहिले नेपालको सन्दर्भमा यो एक प्रमुख चुनौति बनेको छ ।
दोश्रो, नेपालमा पत्रकारिताको चरम दलीयकरण भएको छ । दलका कार्यकर्ताले पत्रकारिता गरिरहेका छन् । दल नजिक नभए पत्रकारिता गर्नु पर्ने र आफ्नो प्रकाशनलाई चलाउनु पर्ने कठिन परिस्थिति छ । यसरी पत्रकारहरु दलीय आग्रह र पूर्वाग्रहका आधारमा काम गर्दा यसले आफ्नो पेशागत मर्यादा राख्न सकिरहेको छैन । जनतालाई सही सुचना दिनेभन्दा भ्रमित गरेर अमूक दललाई फाइदा पुराउने उद्देश्य राखेर गरिने पत्रकारिताले लोकतन्त्रलाई हानी गरिरहेको छ । पत्रकारहरुको दलीय संलग्नतालाई अन्त्य गरी निष्पक्ष बनाउनु पर्ने चुनौति नेपाली पत्रकारिता जगतको अर्को प्रमुख चुनौति छ ।
आज विश्व पत्रकारिता दिवस हो । यो सन्दर्भमा सबै पत्रकारहरुप्रति सम्मान प्रकट गर्दै इजरायलले प्यालेस्टाइनमा गरेको युद्धलाई हामी सामु ल्याउन आफ्नो जीवनको आहुती दिएका २३२ पत्रकारहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं ।