हिटलरलाई चिठी
वर्धा,
डिसेम्बर २४, १९४०
प्रिय मित्र,
कुनै औपचारिकता निभाउनका लागि मैले तपाईंलाई मित्रका रूपमा सम्बोधन गरिरहेको छैन । मेरो कोही शत्रु छैन । मेरो जीवनमा पछिल्लो तीस वर्ष देखि गरिरहेको काम भनेकै कुनै जात, रंग वा धर्म नहेरी सबै मानवलाई मित्रताको नाताले जोड्ने प्रयास गर्नु रहेको छ । मलाई आशा छ विश्वव्यापी मित्रताको सिद्धान्तमा विश्वास गर्ने मानिसको ठूलो हिस्साले तपाईंको कामलाई कसरी हेर्छ भन्ने कुरा थाहा पाउन तपाईंसँग समय र चाहना हुने छ ।
हामीलाई तपाईंको वीरता र पितृभूमिप्रतिको समर्पणमा कुनै शंका छैन । र, तपाईंलाई हामी तपाईंका विरोधीले चित्रण गरे जस्तो राक्षस पनि ठान्दैनौँ । तर, खासगरी म जस्ता विश्वव्यापी मित्रतामा विश्वास गर्ने मानिसको दृष्टिकोणमा तपाईंका आफ्ना लेख तथा अभिव्यक्तिका साथै तपाईंका समर्थक र प्रशंसकका अभिव्यक्तिले तपाईंका धेरै काम राक्षसी र मानव गरीमा प्रतिकूल छैनन् भनेर शंकाको सुविधा दिने ठाउँ दिदैनन् । तपाईंले गर्नु भएको चेकोस्लोभाकियाको अपमान, पोल्याण्डमाथिको बलात्कार र डेनमार्कको विलय यस्तै कार्यहरू हुन् । मलाई थाहा छ तपाईंको जीवनलाई हेर्ने दृष्टिकोणले यस्ता कार्यलाई सही ठान्छ । यद्यपि, हामीहरू बच्चा हुँदादेखि नै यस्ता काम मानवतालाई अपमान गर्ने काम हुन भनेर सिक्दै आएको छौँ । त्यसकारण हामी तपाईंको युद्ध सफल होस् भनेर कामना गर्न सक्दैनौँ ।
यद्यपि, हाम्रो अवस्था विशिष्ठ छ । हामीले नाजीवादको भन्दा बेलायती साम्राज्यवादको कम विरोध गर्दैनौं । यदि यिनमा कुनै भिन्नता छ भने त्यो मात्रात्मक हिसाबले मात्रै छ । संसारको पाँच भागको एक भागलाई जुन तरिकाले बेलायती शासन अन्तर्गत ल्याइएको छ त्यो कुनै नैतिकताको कसीमा बस्ने कुरा थिएन । यसको विरुद्धमा हाम्रो प्रतिरोधको मतलब बेलायती जनताको विनाशको चाहना होइन । हामी रण मैदानमा उनीहरूलाई परास्त गर्न होइन बरु उनीहरूको (मानसिकता) बदल्न चाहन्छौँ । हाम्रो आन्दोलन बेलायती शासनका विरुद्धको अहिंसात्मक विद्रोह हो ।
हामीले उनीहरूलाई परिवर्तन गर्न सकौँला वा नसकौँला तर अहिंसात्मक असहयोग आन्दोलनमार्फत उनीहरूको शासनलाई असम्भव बनाउन दृढ छौं । यो यस्तो विधि हो जसको प्राकृतिक रूपको तार्किक व्याख्या सम्भव छैन । यो यस्तो ज्ञानमा आधारित छ जहाँ कुनै पनि शोषक वा लुटेराले पीडितले अनुमति नदिए सम्म वा बाध्यात्मक रूपमै केही हदसम्मको सहयोग नरहे सम्म आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन । हाम्रा शासकहरूले हाम्रो जमिन र शरीरलाई नियन्त्रणमा लिन सक्छन् तर आत्मालाई सक्दैनन् । उनीहरूले जमिन र शरीरमाथिको नियन्त्रण गर्न चाहने हो भने पनि प्रत्येक भारतीय पुरूष, महिला र बालबालिको हत्या गर्नु पर्छ ।
सबै जना त्यो स्तरको साहससम्म नपुग्न सक्छन् र भयले केही हदसम्म विद्रोहलाई कमजोर बनाउन सक्ने कुरा ठीकै हो । तर, यो तर्क (पूर्णतामा हेर्दा) उचित हुँदैन । यदि शोषकप्रति कुनै दुर्भाव नराखि त्यसका विरूद्ध आफ्नो प्राण दिन गणनायोग्य संख्यामा त्यस्ता (भारतीय) पुरूष र महिला उपलब्ध भए भने उनीहरूले उक्त हिंसात्मक अत्याचारबाट मुक्ति पाउने बाटो देखाउने छन् । भारतमा यस्ता महिला र पुरूष तपाईंले अपेक्षा गरेभन्दा बढी पाउनु हुने छ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु । उनीहरूले पछिल्ला दुई दशकसम्म त्यसका लागि तालिम प्राप्त गरेका छन् ।
हामीले बेलायती शासनलाई फ्याँक्नका लागि आधा शताब्दीदेखी प्रयास गरिरहेका छौँ । भारतीय स्वतन्त्रताको आन्दोलन अहिले जस्तो बलियो पहिला कहिलै थिएन । भारतको सबैभन्दा बलियो संगठन भारतीय राष्ट्रिय कांग्रेसले यो लक्ष्यका लागि प्रयास गरिरहेको छ । अहिंसात्मक प्रयासबाट हामीले उचित सफलता प्राप्त गरिसकेका छौं । हामी विश्वमा अत्यन्तै संगठीत हिंसाको प्रतिनिधित्व गर्ने बेलायती साम्राज्य जस्तो शक्तिका विरूद्ध कसरी मुकाविला गर्ने भनेर त्यसको उपयुक्त विधि खोजिरहेका थियौं । तपाईंले उक्त शक्तिलाई चुनौति दिनु भएको छ । अब जर्मन वा बेलायती कुन शक्ति बढी संगठीत छ त्यो हेर्न बाँकी छ । हामीलाई बेलायती दमन हाम्रो लागि र गैरयुरोपेली जातिका लागि के हो भन्ने कुरा थाहा छ । तर हामी कहिल्यै पनि जर्मनीको सहयोगमा बेलायती शासनको अन्त्य गर्न चाहँदैनौं । हामीले अहिंसामा यस्तो शक्ति भेट्यौं जसलाई व्यवस्थित गर्न सकियो भने संसारका सबैभन्दा हिंस्रक शक्तिहरू एक ठाउँमा आए भने पनि निशंकोच तिसँग प्रतिस्पर्धा गर्न सक्षम हुने छ । म भन्न चाहन्छु कि अहिंसाको विधिमा हार भन्ने हुँदैन । यो हत्या नगरी वा चोट नपुर्याइकन “गर या मर”को विधि हो ।
यो धन र तपाईंले विकासको चुलीमा पुर्याउनु भएको विनासको विज्ञानको सहयोग विना नै व्यावहारिक रूपमा प्रयोग गर्न सकिन्छ । तपाईंले हिंसामा कसैको एकाधिकार हुँदैन भन्ने कुरा देख्न सक्नु भएको छैन जुन कुरा मलाई आश्चर्य लाग्छ । बेलायतले नभए अन्य कुनै शक्तिले तपाईंले विकास गर्नु भएको विधिमा सुधार गर्ने छ र तपाईं कै हतियार प्रयोग गरेर तपाईंलाई नै पराजित गर्ने छ । तपाईंले आफ्ना जनताका लागि गर्व गर्न लायक कुनै पनि विरासत छोड्नु भएको छैन । जति धेरै सीपले लेस गरेको भएता पनि उनीहरूले हिंसाका कथामा गर्व गर्न सक्दैनन् । त्यसैले मैले तपाईंलाई मानवताका खातिर युद्ध रोक्न आग्रह गर्दछु ।
तपाईं र बेलायतबीचमा रहेका सबै विवादलाई टुंगाउन दुवै पक्षलाई मान्ने हुने एउटा अन्तर्राष्ट्रिय न्यायलयमा लग्दा तपाईंले केही पनि गुमाउनु पर्दैन । तपाईंले युद्ध जित्नु नै भयो भने पनि त्यसले तपाईं सही हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्दैन । यसले केवल तपाईंको विनासक शक्ति ठूलो रहेछ भन्ने मात्रै देखाउनेछ । मानवबाट जति सम्भव छ त्यसका आधारमा यदि कुनै निष्पक्ष न्यायलयले निर्णय गर्छ भने त्यसले को सही थियो भन्ने कुरा देखाउने छ । तपाईंलाई थाहा छ धेरै पहिला होइन मैले प्रत्येक बेलायती नागरिकलाई अहिंसात्मक प्रतिरोध स्वीकार गर्न आग्रह गरेको थिएँ । मैले त्यसो गरेको थिएँ किनकी बेलायतीहरूले मलाई विद्रोही भए पनि मित्रका रूपमा चिन्छन् । म तपाईं र तपाईंका नागरिकका लागि अपरिचित छु । त्यसैले मैले बेलायतीहरूलाई जुन आग्रह गरें त्यो गर्ने साहस राख्दिन । यो (अहिंसा)को शक्ति बेलायतीहरूमा जस्तै तपाईंमा लागु नहुने भएर यस्तो भनेको होइन ।
मेरो यो प्रस्ताव व्यावहारिक र परिचित भएकाले धेरै सरल छ । अहिले जब युरोपका जनताले हृदयदेखि नै शान्तिको लागि कामना गरिरहेका छन् यो बेला हामीले आफ्नो शान्तिपूर्ण संघर्षसमेत स्थगित गरेका छौं । तपाईंलाई निजी तवरमा केही पनि होइन जस्तो लाग्न सक्छ तर यहाँ लाखौं निर्धा नागरिकका आवाज सुनेका मेरा कानले लाखौं यूरोपेली नागरिक शान्तिका लागि रोइरहेको सुनिरहेका छन् । तिनका लागि यो धेरै हुन सक्छ । के यो अवस्थामा तपाईंसँग शान्तिको आग्रह गर्नु धेरै ठूलो माग हो र ? म तपाईं र सिग्नोर मुसोलिनीलाई संयुक्त रूपमा अपील गर्न चाहन्थें । उनलाई गोलमेच सम्मेलनको क्रममा एक सदस्यका रूपमा बेलायत जाँदा रोममा भेट्ने अवसर मिलेको थियो । म आशा गर्छु उनले पनि यस अपीलमा आवश्यक परिवर्तन गरी आफूप्रति सम्बोधन गरिएको रूपमा लिनेछन् ।
म,
तपाईंको मित्र,
एम्. के. गान्धी
(यो चिठी The Power of Non-violent Resistance, Selected Writings, Edited with an Introduction by Tridip Suhrud, Penguin Books, 2019 बाट लिइएको हो ।)
अनुवादः दिनेश सापकोटा