Skip to main content

कमजोर बनेको धर्म निरपेक्षता र उठीबासमा परेको डोम परिवार

Submitted by editor on
dom family's home demolished in Siraha

पालिका अध्यक्ष शिवजी यादव पहेँलो कपडामा

बेग्लै
२०८१, चैत्र ८

धर्म निरपेक्षता धार्मिक नभएर राजनीतिक शब्द हो । धर्म निरपेक्ष हुनु भनेको धर्म त्याग्नु, अधर्मी वा पापी हुनु होइन । यसले राज्यले आफ्ना नागरिकलाई धर्मको आधारमा विभेद नगरी निरपेक्ष व्यावहार गर्नु पर्छ भन्छ । हाम्रो देशको सन्दर्भमा यसले जात र जातीयताका आधारमा पनि विभेद हुनु हुँदैन भन्छ । वास्तवमा यो राज्यको लोकतान्त्रिकरण कै कुरा हो । 

यद्यपि, धर्म निरपेक्षताले सबै धर्म, जात तथा जातीयतालाई समान व्यवहार गर्ने मात्रै भन्दैन । बरू यसले धर्म र राजनीतिबीच उनीहरूको सीमा पनि रेखाङ्कित गर्दछ । यसरी धर्म र राजनीतिलाई अलग राख्दा दुवैको भलो हुने हुँदा धर्म निरपेक्षता नास्तिकका लागि मात्रै नभएर धार्मिक मान्छेहरूका लागि पनि उपयोगी छ । 

कसरी ? 

यो बुझ्नका लागि ताजा घटनालाई हेरौँ । सिराहा, औरहीको डोम परिवार फेरी घरबारविहीन भएको छ । जनता आवास कार्यक्रम अन्तर्गत पाँच वर्ष पहिला सरकारले उनको घर बनाइदिएको थियो । सबैभन्दा कठिन र अपहेलित काम गर्ने डोम परिवार यति गरिब थियो कि उनीहरूको बस्ने बास थिएन । यस्तो अवस्थामा उनीहरूले जीवन कसरी चलाइरहेका थिए होला ? गज्जब भयो, राज्यले अरू केही नभए पनि एउटा बास त दियो । सरसफाइको काम गरेर पालिकालाई योगदान गरिरहेको उक्त परिवारलाई घर बनाइदिएर राज्यले एक तरिकाले भन्नु पर्दा न्याय गरेको थियो । 

तर, विडम्बना अहिले फेरी राज्य नै लागेर यो डोम परिवारलाई उठीबास लगायो । पालिका प्रमुख लगायत अन्य जिम्मेवार मान्छेहरूको संलग्नतामा महायज्ञ लगाउने भनेर उनको घर भत्काइयो  । विरोध भए पछि सहमतिमा भत्काइएको दाबी बाहिर आएका छन् । तरकारी बजारका लागि ठाउँ खाली गरिएको दाबी पनि बाहिर आएको छ । यद्यपि, जति लुकाउन खोजे पनि महायज्ञ लगाउने स्थानमा दलितको घर भएकाले त्यसलाई भत्काइएको बुझ्न गाह्रो छैन । उनीहरूलाई हटाउनका लागि लोभ, दबाब र धम्की दिइएको कुरा बुझ्न सकिने कुरा हो । 

डोम परिवार माथि भएको अत्याचार एक प्रतिनिधि घटना हो । राज्य नै संलग्न भएर उत्पीडन र विभेद गरेका अनेकौँ घटना सार्वजनिक हुने गरेका छन् । पछिल्लो समय धर्म निरपेक्षता कमजोर हुँदा यस्ता घटना थप बढेका छन् । धर्म निरपेक्षता कमजोर हुनु भनेको धार्मिक विभेद गर्नेहरूको मनोबल बढ्नु हो । पुरातनपन्थी र बाहुनवादी विचारले पुनः मान्यता पाउँदै जानु हो । वास्तवमा समाज धार्मिक सत्ता स्थापना गर्ने मध्ययुगीन उल्टो बाटोमा हिँड्नु हो । 

अहिले धर्म निरपेक्षताको महत्व अलि ओझेलमा परेको छ । यसलाई बदनाम गर्ने योजनाबद्ध काम नै भएका देखिन्छन् । धर्म निरपेक्षता हिन्दू धर्म विरोधी कुरा हो भनेर झुट फैलाइएको छ । यो धर्मान्तरणको कारक हो भनेर भ्रम छर्ने काम भएको छ । यस्तो काम खासगरी सत्ताको भर्यागं धर्मलाई बनाउने र आफ्नो अक्षमता धर्म कै नाममा लुकाउने तप्काबाट भएको छ । त्यसका साथै धर्म निरपेक्षतालाई बदनाम गर्नेमा धर्मान्तरणका नाममा धर्मको किनबेच गर्ने पक्षको पनि योगदान छ । 

यो प्रसंगमा धर्म निरपेक्षता देशमा भएका कारण नै गरीब घरबिहीन डोम परिवारको घर बनेको भनेर दाबी गर्न त सकिदैन तर विपन्नलाई सहयोग गर्ने कार्यक्रम राज्यको लोकतान्त्रिकरणको परिणाम थियो भन्न चाहिँ सकिन्छ । जब राज्य धर्म निरपेक्ष भयो यसले धार्मिक दृष्टिकोणबाट नागरिकलाई हेर्न छोड्यो । दलितले भाग्यमा नै दुःखद् जीवन लिएर आएका हुन् भन्ने भाग्यवादी विचारलाई त्याग्यो । र, समानता र न्यायको दृष्टिकोणले हेर्न थाल्यो । त्यसै कारण राज्यले गरीब डोम परिवारलाई आवासको व्यवस्था गर्नु जायज ठान्यो र गर्यो पनि ।

तर अहिले आएर राज्य आफै किन उल्टो बाटो लाग्यो ? त्यसमा अन्य कारण भन्दा धर्म निरपेक्षता कमजोर हुनु र धार्मिक नियमका आधारमा सत्ता चलाउनु पर्छ भन्नेहरूको शक्ति बढ्दै जानु हो । जब यस्तो हुन्छ वा राज्यले धर्मको दृष्टिकोणबाट नागरिकलाई हेर्न थाल्छ तब यस्ता समस्या आउँछन् । किनकि धर्म अमुर्त, विवादित र नीजि विषय हो । सबै धर्मका आआफ्नै कमिकमजोरी छन् । तिनमा अन्धविश्वास पनि छन् । यिनबाट राम्रो र नराम्रो कुरा छुट्याउन मुस्किल छ । धर्मका कुरा कतिपय समय सान्दर्भिक छैनन् त कतिपय सार्वजनिक ठाउँमा प्रयोग गर्न सकिने छैनन् । त्यसकारण धर्मलाई राजनीति सञ्चालनमा प्रमुख भूमिका दिन सकिदैन । यसलाई सन्तुलित राख्नु पर्छ । जब राजनीतिमा  धर्मको भूमिका बढ्छ यसले समाजमा असन्तुलन ल्याउछ र दुवै विकृत बनाउँछ । अहिले भइरहेको यही हो । 

जब धर्म राजनीतिमा आउँछ सत्ता स्वार्थका लागि यसका कमजोरीहरूको फाइदा उठाउने लोकप्रियतावादी राजनीतिलाई सहयोग पुग्छ । धर्मको उद्देश्य आध्यात्मिक हो, राजनीतिक होइन । आध्यात्मिक उद्देश्य नीजि विषय हो । राजनीतिले गर्ने काम भौतिक हुन्छन् । यसले सबैलाई आफ्नो रूची अनुसारको काम गर्नका लागि समान अवसर सिर्जना गर्नका लागि मात्रै काम गर्न सक्छ । त्यो भन्दा महत्वपूर्ण कुरा धर्ममा भएका विवादित धेरै विषयहरू छन् जसको निराकरण भर्खरै सम्भव छैन । ति राजनीतिक विषय बन्दा अति राजनीतिकरण भएर गिजोलिने समस्या हुन्छ । ति विषय बौद्धिक छलफलका लागि महत्वपूर्ण हुन सक्छन् तर व्यवहारमा लैजानका लागि सम्भव हुँदैनन् । यस्तो अवस्थामा विकल्प भनेको विज्ञानमा आधारित चेतनाले निर्देशित गर्ने राजनीति नै हो । 

धर्ममा भएका विकृतिहरूका विषयमा बुझ्नका लागि सही उदाहरण यहि सिराहाको घटना हो । धर्मको दृष्टिकोणबाट हेर्दा दलित परिवारलाई विभेद गर्नु जायज देखिन सक्छ । महायज्ञ लगाउन घर भत्काउने कुरा समेत पुष्टि हुन सक्छ । जस्तो यही घटनामा गाउँपालिकाका अध्यक्षलगायत अन्य जिम्मेवार धेरैको संलग्नता छ । उनीहरू सबैलाई दलितको घर उठाउनु जायज लागेको छ । एक जना आफुलाई बाबा भन्ने व्यक्तिको आदेशमा त्यहाँ महायज्ञ लगाउने भनेर डोम परिवारलाई उठीबास गर्ने काम अध्यक्षले स्वीकारेका छन् । उनीहरूले परिवारको सहमतिमा नै यो काम गरिएको भनेर जिकीर समेत गरेका छन् । 

अहिले धार्मिक सत्ताले अवाञ्छित शक्ति प्राप्त गर्दै गएको छ । राजनीतिक व्यक्ति र संस्थाहरूलाई सजिलै प्रभावित गरेर विकृति फैलाउने काम गरेको छ । महायज्ञ लगाउने भनेर कहिले शहरका बरपिपल काट्ने र पोल्ने काम भएको छ त कहिले जातिय विभेदका अपराधलाई अगाडि बढाउने काम भएको छ । लैंगिक हिंसालाई पनि धर्मकै जामा लगाइदिने चलन बढ्ने देखिएको छ । सिराहामा राजनीतिक जिम्मेवारी पूरा गर्नु पर्ने मान्छेले धार्मिक काम गर्न थाले पछि यस्तो घटना घट्न पुगेको देखिन्छ । 

पालिकाका प्रमुखले संविधानको दृष्टिकोणले आफ्नो जिम्मेवारीलाई हेर्नु पर्ने कुरा बिर्सेर महायज्ञ लगाउन हिंडे । उनलाई यसरी गैरसंवैधानिक काम गर्नु र त्यसमाथि दलितको घर उजाडेर जगन्य अपराध गर्नु समेत सही लागेको हुन सक्छ । यदि उनले संविधानमा भन्दा बढी धार्मिक मान्यतामा विश्वास गर्छन् भने यो अपराध गर्नु पनि कर्तव्य जस्तो लागेको हुन सक्छ । उनले मात्रै होइन समाज र परिस्थिति कमजोर भएको दलित परिवारले समेत जातिय विभेदलाई स्वीकार गर्न सक्छ । 

कतिपय धार्मिक पुस्तकहरूमा विभेदले मान्यता पाएको भए पनि धर्मले विभेद गर्नु भन्दैन । तर, धार्मिक परम्परा धेरै पुराना भएकाले अहिले प्रयोग गर्दा ति समयानुकुल हुन सक्दैनन् । राजनीतिले सिक्ने कुरा छन् भने ति राजनीतिक भेषमा आउनु पर्छ, धार्मिक भेषमा होइन । जब राजनीतिज्ञलाई धर्मको खोल ओड्नका लागि सहज हुन्छ तब उनीहरूले आफ्नो भ्रष्टता र कमीकमजोरीलाई लुकाउन पनि धर्मभीरूको अभिनय गर्न सक्छन् । यसले धर्मलाई विवादित र विकृत बनाउछ । के धर्मको नाममा दलितलाई विभेद गर्दा हिन्दु धर्मको मान बढ्छ ? अवश्य पनि बढ्दैन । राजनीति गर्नेले राजनीति र धर्मको काम गर्नेले धर्मको काम गरेर समाजलाई योगदान गर्न सक्छन् । तर एकअर्काको जिम्मेवारीमा हस्तक्षेप गर्ने अनि धार्मिक मान्छेले राजनीति गर्ने र राजनीतिज्ञले धार्मिक काम गर्दा धर्मले आफ्नो आध्यात्मिक र मानवीय गुण गुमाउन पुग्छ भने राजनीतिले विज्ञान र चेतना । यसले धर्म, राजनीति र अन्ततोगत्वा समाजलाई नै विकृत बनाउछ । 

न्याय र समानतामा आधारित समाजको निर्माण गर्नका लागि धर्म र राजनीतिले आ-आफ्नो जिम्मेवारी सम्हाल्न जरूरी छ । कोही व्यक्ति वा संगठनको स्वार्थका लागि धर्मको राजनीतिक प्रयोग हुन थाल्यो भने राजनीतिले आफ्नो अर्थ गुमाउँछ भने धर्मले 'ईश्वर' । त्यसकारण यीनलाई आ-आफ्नो स्थानमा रहेर काम गर्ने वातावरण बनाउनका लागि धर्म निरपेक्षता आवश्यक छ । राजनीति र धर्म दुवैले आफ्नो भलोका लागि समेत धर्म निरपेक्षताको कार्यान्वयन र यसले रेखाकिंत गरेको सिमामा बस्न जरूरी छ । अन्यथा धर्म वा राजनीति कसैको पनि भलो हुने देखिंदैन ।