Skip to main content

के रास्वपाको ‘ओविच्यूरी’ लेख्ने बेला भएकै हो ?

Submitted by editor on
taken from pardafas RSP
बेग्लै
२०८१, साउन ३२

करिब ढाई वर्ष पहिला सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन गरिएको थियो । स्थापनाकालदेखि नै लामिछाने यस दलका सर्वेसर्वा थिए । विचार, विधान र सांगठानिक संरचनाको निक्र्योल नगरी हतारहतारमा चुनावलाई हेरेर गठन गरिएको यो दलप्रति देशको एक बौद्धिक वर्ग पहिलेदेखि नै आश्वस्त हुन सकिरहेको थिएन । मुद्दा केन्द्रित होइन नेता (व्यक्ति) केन्द्रित भएर बनेको यो दलको भविष्यप्रति शंका उब्जनु स्वभाविक पनि थियो । यद्यपि, पुराना दलको कुशासनबाट आजित भएका जनताका लागि रास्वपा विकल्प बन्यो । गठन भएको केही महिनामा नै यो दलले अप्रत्यासित सिट संख्या ल्याएर संसदको चौंथो ठुलो दल भयो ।

यसको वैचारिक अस्पष्‍टता र कार्यपद्धतीलाई लिएर शंका गर्ने अनेक ठाउँ भए पनि धेरैले शङ्काको सुविधा दिएर सुधार गर्ने अवसर रहेको भन्दै प्रेरणा दिइरहे । यसका बैठक अनि विधान र सङ्गठन निर्माणको प्रक्रियालाई सबैले ध्यान दिएर हेरे । तर विडम्बना नै भन्नु पर्दछ रास्वपाले उक्त शंकाको सुविधालाई सदुपयोग गर्नुको साटो दिनप्रतिदिन झनभन्दा झन् गलत बाटोमा हिँड्यो ।

पछिल्लो दुई वर्ष चोकचोक र गल्लीगल्लीमा रास्वपाको चर्चा चल्यो । यो अबको राजनीतिक विकल्प बन्नेमा कतिपय मानिस विश्वस्त देखिए । पुराना दल छोडेर यसमा लाग्नेको लर्को देखियो । सामाजिक सञ्जालबाट जनताले यसको समर्थन आफ्ना कुरा राखी रहे । यसप्रतिको समर्थन देखेर पुराना दलहरू आत्तिए पनि । तर पहिला जति चर्को रुपमा रास्वपाको कुरा भएको थियो त्यही रुपमा अहिले निराशा व्यक्त गर्ने मानिसहरू देखिन्छन् । वास्तवमा आम मानिस चर्चा गर्न नै अनिच्छुक देखिएका छन् । चर्चा भयो भने पनि नकारात्मक कुरा मात्रै हुने परिस्थिति बनेको छ । वैकल्पिक राजनीति चाहने तप्का दुःखी देखिन्छ भने पुराना दल र नयाँ दल बनाउन चाहने अनेक समूह खुसी देखिन्छन् । 

कसरी यति छिट्टै यो अवस्थामा पुग्यो त रास्वपा ? यसका प्रमुखतः पाँच कारण देखिन्छन् । 

पहिलो, यसले चुनावी म्यान्डेटलाई नजरअन्दाज गर्यो । रास्वपालाई जनताले सरकारमा जानका लागि मत दिएका थिएनन् । आम चुनावबाट जम्माजम्मी २१ सिट जितेको रास्वपाले सक्रिय र सिर्जनात्मक विपक्षीको भूमिका खेल्ने छ भन्ने अपेक्षा थियो । यो दलमा आबद्ध भएका र शुभचिन्तकहरू पनि रास्वपा पुराना दलसँग मिलेर सरकारमा नजाओस् भन्ने नै थियो । तुलनात्मक रुपमा सानो दल भएकाले सरकारमा जाँदा काम गर्न नसकिने आकलन थियो । अहिले दलको निर्माण गर्दै संसद्मा विपक्षिको भूमिका नै काफी रहेको धेरैको मत थियो । तर रास्वपा सरकारमा गयो । सरकारमा जाने निर्णय पनि सभापतिको एकल थियो । सरकारमा गए पछि आम मानिले आशंका गरे जस्तै यसले काम गर्न सकेन । बरु पुराना दलको मतियार भएर सत्ता लोलुपता देखाएको भनेर आलोचना भयो । 

दोश्रो, रास्वपाका धेरै समस्या विचारको अभावसँग जोडिएका छन् । यसमा लाग्ने धेरै ढोटे (अपरिपक्क) व्यक्तिहरु थिए । विचारको राजनीतिलाई हेयको दृष्टिकोणले हेर्ने भुइँफुट्टा प्रवृत्तिको यसमा बलियो पकड बन्यो । यसले आफ्नो विचार संवैधानिक समाजवाद हो त भन्यो तर यसको व्याख्या गर्न सकेन । त्यसो हुँदा देशका मुद्दा निर्धारण र प्राथमिकीकरण गर्न सकेन । विचारमा अस्पष्ट हुँदा यसो हुनु स्वभाविक पनि थियो । समस्या बढ्दै जाँदा पनि यसको नेतृत्वले विचारको महत्वलाई बुझ्न सकेन । यसो हुँदा स्थापना भएको यथेष्ठ समयसम्म र दुईदुई पटक सरकारमा पुग्दा पनि यसले कुनै जनकेन्द्रित मुद्दा उठाउन सकेन । बरु विवादित हुने अनेक काम गर्यो । यसले जनतालाई निरास बनायो । 

तेश्रो, जनतालाई लागेको थियो रास्वपाले आन्तरिक लोकतन्त्रलाई अगाडि बढाउनका लागि प्राइमरी गर्ने छ । दलभित्र र दलबाहिर पनि लोकतान्त्रिक संस्कारका लागि एक उदाहरण पेश गर्नेछ । पुराना दललाईसमेत ‘सच्चिने वा सकिने’ स्तरको दबाब दिने छ । तर त्यसो हुन सकेन । यसले दलभित्र लोकतान्त्रिक र पारदर्शी तरिकाले नेतृत्व चुन्न सकेन । चुनावमा टिकट वितरण गर्दा व्यक्ति र उसको पहुँच हेरेर निर्णय गरियो । पैसा हुनेले मात्रै राजनीति गर्ने भन्ने भाष्य नै यो दलमा स्थापित भएको कुरा कार्यकर्ताले बताउन थाले । इलाममा भएको उपनिर्वाचनले रास्वपा र यसको नेतृत्वको लोकतान्त्रिक संस्कार र प्राइमरीको ढोगंलाई जनतासामु उदांगो पारिदियो । उक्त निर्वाचनमा पहिचानको मुद्दा बलियो बनेको थियो । तर वैचारीकीको अभावका कारण नै हो रास्वपाले उक्त मुद्दालाई सम्बोधन गर्न सकेन । र, उक्त चुनावमा त्यसको लज्जास्पद हारसँगै रास्वपाको भविष्यप्रति ठुलो  प्रश्नचिन्ह खडा भयो । 

चौंथो, पुराना दलमा एकदुई टाउके नेता हावी भएका कारण आन्तरिक लोकतन्त्र संस्थागत हुन नसकेकोबाट जनता वाक्क थिए । यो अलोकतान्त्रिक परम्परालाई रास्वपाले तोड्ने छ भन्ने धेरैको आशा थियो । तर, जसरी यो व्यक्ति केन्द्रित भएर स्थापना भएको थियो अहिलेसम्म पनि यो त्यही अवस्थामा रह्यो । आफुलाई विधिले चल्ने दलका रुपमा परिवर्तन गर्न सकेन । उल्टो सभापित लामिछाने अनेकन विवादमा मुछिदा उनको ढाकछोप गर्ने औजार मात्रै बन्यो । यसले जनताका सामु रास्वपाको साखलाई ध्वस्त गर्ने काम गर्यो । जनताको अपेक्षा थियो नयाँ दलका नेतालाई कृते गरेको र सहकारी ठगीको आरोप लाग्दा उनले छानबिनको लागि बाटो खोलेर संस्कार देखाउने छन् । तर त्यसको विपरित रास्वपाले उनको छानबिन गरेर आफुलाई दोषबाट मुक्त गर्ने अवसर गुमायो । सहकारी पिडितको चाहना र अदालतको आदेश विपरित पुरै दल लामिछानेको बचाउमा लाग्यो । यसले रास्वपालाई अहिलेको दयनीय अवस्थामा पुर्याउन सबैभन्दा बलियो भूमिका खेल्यो ।

पाँचौं, रास्वपामा राजनीतिक अनुभव नभएका तर आआफ्नो क्षेत्रमा विशेषज्ञता भएका मानिसहरुको बाहुल्यता छ । यसमा आफ्नो क्षेत्रमा सफल मानिएका डाक्टर, अर्थशास्त्री, पत्रकार तथा व्यापारीहरुको जमघट छ । उनीहरुले राजनीतिको कठीनाई बुझ्न आवश्यक थियो । पुरानाले गरेनन् भनेर तिक्ता पोख्दैमा आक्रोशको भोट त मिल्यो तर देशका समस्याको समाधान हुनेवाला थिएन । भएन । नआत्तिइकन आफ्नो ज्ञानलाई राजनीतिसँग जोड्नु पर्थ्यो । तर उनीहरु तेतातर्फ लागेनन् बरु विशेषज्ञताको अहंकार देखाउने, पुराना दलसँग आफुलाई तुलना गरेर मिथ्याकरण गर्ने, गम्भीर प्रश्नको उत्तर दिनेभन्दा प्रश्न सोध्नेलाई नै ‘झोले’ भनेर लाञ्छित गर्ने तर्फ लागे । 

रास्वपालाई सुधार गर्ने अन्तिम अवसर महामन्त्री मुकुल ढकालको प्रतिवेदन थियो । ढकालले देशका करिब चालिस जिल्लामा पुगेर कार्यकर्ता र जनताका कुरा सुनेर प्रतिवेदन तयार गरे । इलामको उपनिर्वाचन पछि समिक्षा गर्नु पर्छ भन्ने मान्यताका आधारमा उनले यो काम गरेका थिए । प्रतिवेदनलाई ढकालले केन्द्रिय समितिमा राख्ने प्रयास गरे । उनको प्रतिवेदनले पार्टी सुधारका लागि आवश्यक कुरा उठाएको थियो । यो पुराना दलमा जस्तो ढाकछोप गर्ने प्रकृतिको प्रतिवेदन थिएन । यसले निमर्म समिक्षा गर्दै सुधारका लागि सही मार्ग देखाएको थियो । तर विकृत बनिसकेको रास्वपा नेतृत्वलाई त्यो स्वीकार्य भएन । उक्त प्रतिवेदनलाई तार्किक र बौद्धिक तरिकाले सम्बोधन गर्नु पर्ने ठाउँमा ढाकालमाथि नै नीजि आक्रमण गर्ने, दलबाट निष्काशित गर्ने मात्रै होइन उनलाई पागलसमेत घोषणा गर्ने काम भए । त्यो कुनै पनि दृष्टिकोणबाट सोभनीय थिएन । 

वास्तवमै ढकालको प्रतिवेदन रास्वपा सुधारका लागि एक कोशेढुंगा हुन सक्थ्यो । उनको उक्त प्रतिवेदन हेर्दा त्यसमा उनले आफ्ना कुराभन्दा पनि जनता र बौद्धिक वर्गका कुरा जस्ताको तस्तै राखेको देखिन्छ । तर उक्त प्रतिवेदनलाई सामना गर्नु पर्ने ठाउँमा यसबाट रास्वपा नेतृत्व डरायो । ढाकालले पुर्वाग्रही भएरै प्रतिवेदन तयार गरेको भए पनि त्यसलाई सही तरिकाले सम्बोधन गर्नु पथ्र्यो । त्यो भएन । नेतृत्वको आफ्ना अपराधलाई लुकाउन दललाई नै दाउमा हाल्यो । यससँगै सुधार गर्ने अन्तिम मौका गुम्यो भने अहिले देश रास्वपाको शोक मनाउ गर्ने निरास र दुःखी मनस्थितिमा पुगेको छ ।