भारतीय मिडियामा उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथलाई पदबाट हटाइने चर्चा चलेको छ । यद्यपि, उनलाई हटाउने चर्चा पहिलो पटक चलेको भने होइन ।
लोक सभा चुनावमा उत्तर प्रदेशमा अप्रत्याशित हार ब्यहोर्नु परे पछि भाजपामा आन्तरिक असन्तुष्टि बढेको छ । प्रदेशका असी सिटमा सत्तरीभन्दा बढी जित्ने दाबी गरेर भाजपा चुनावमा गएको थियो । त्यसको विपरित बहुसंख्यक सिट हार्नु पर्दा आन्तरिक समस्या छताछुल्ल हुन थालेको छ भने दिनप्रति दिन गुटहरूको प्रतिस्पर्धा निर्मम बन्दै गएको छ ।
खासगरी मोदी र योगी गुटबीचको यो लडाइँले अनेक अड्कलबाजीलाई जन्म दिएको छ । के कारण देखाएर योगीलाई मोदीले हटाउलान् ? मोदीका लागि योगीको विकल्प के होला ? हटाइएमा योगीले के गर्लान् ? भाजपाको सबैभन्दा ठुलो गढ मानिएको उत्तर प्रदेशको राजनीति कता जाला ? के यी घटनाले भाजपा पतनतर्फ गएको संकेत गर्दछन् ? आदि ।
भाजपा लोक सभाको चुनाव मोदीका नाममा लडेको थियो । घोषणापत्रको नामसमेत ‘मोदी की ग्यारेण्टी’ राखिएको थियो । तर, चुनावी हार पछि मोदीले यसको जिम्मेवारी लिएनन् । बरु मोदी गुटले योगीलाई अन्तरघातको आरोप लगाइरहेको छ भने योगी गुटले चुनावमा आफ्नो भूमिकै कम रहेकाले दोषारोपण आधारहीन भएको दाबी गरिरहेको छ । यसरी हारको जिम्मेवारी दुई गुटले एकअर्कालाई लगाउँदा भाजपा उत्तर प्रदेशमा आन्तरिक समस्या गम्भीर बन्दै गएको छ ।
योगीलाई उनी पहिलो पटक मुख्यमन्त्री बन्दा मोदीका उत्तराधिकारीका रुपमा हेरिएको थियो । तर, विस्तारै समय बित्दै जाँदा उनी र अमित शाहकाबीचमा मोदी पछि को भन्ने प्रतिस्पर्धा सुरु भयो । अमित शाहले योगीलाई आफ्नो प्रतिस्पर्धी ठानेका छन् भने योगीले मोदी र शाह दुवै मिलेर उनलाई रोक्न खोजिएको बुझेका छन् ।
मोदी र योगीको बुझाईमा समानता ल्याउन कठिन हुने देखिएको छ । योगीले आफूलाई मोदीले जतिबेला पनि हटाउन सक्ने बुझेका छन् भने मोदीले पछिल्लो चुनावमा योगीले अन्तरघात गरेको बुझेका छन् । बहुमत गुमेसँगै मोदी कमजोर भएका छन् । यसले गर्दा पनि मोदी र योगीले एकअर्कालाई थप अविश्वास गर्ने अवस्थामा छन् ।
मोदी र योगीको बीचमा देखिएको यो शीत युद्धले मोदीको सरकार र भाजपाको राजनीतिक भविष्यमाथि थप एक प्रश्न चिन्ह लगाइदिएको छ ।