Skip to main content

कति बेला कमजोर हुन्छ लोकतन्त्र ? पन्ध्र आधार

Submitted by editor on
Sukarika gosh this photo is taken from newindian.in
बेग्लै
२०८१, असार २५

त्रिणमुल कांग्रेसकी सांसद सागरिका घोषले भारतमा लोकतन्त्र कमजोर भएको बताएकी छन् । उनले संसद्मा दिएको पछिल्लो भाषणमा यसो हुनुका आधार प्रस्तुत गरिन् । कति बेला लोकतन्त्र कमजोर हुन्छ ? भन्ने प्रश्नको उत्तर भेट्नका लागि भारतमा अहिले जे भइरहेको छ त्यसलाई हेरे पुग्छ भन्ने उनको भनाई थियो । उनले पन्ध्र कारणले भारतीय लोकतन्त्र कमजोर भएको दावी गरिन् । 

१. राज्यसँग सहानुभूति वा करुणा नहुनु । उनका अनुसार गरीब, विद्यार्थी, किसान तथा समाजको कमजोर तप्काप्रति सहानुभुति नहुँदा लोकतन्त्र कमजोर हुन्छ । सत्ताधारीमा यसको चरम अभाव देखिएको घोषको भनाई थियो ।

२. राज्यका निकाय र यसको शक्ति दलीय स्वार्थका लागि प्रयोग भयो भने पनि लोकतन्त्र कमजोर हुन्छ । उनका अनुसार अहिले भाजपा सरकारले विपक्षीका विरुद्धमा र आफ्नो फाइदाका लागि राज्य संयन्त्रको दुरुपयोग गरेको छ । त्यसो गर्दा भारतीय लोकतन्त्र कमजोर भएको छ ।

३. जब धर्मका आधारमा नागरिकको परिभाषा गरिन्छ तब लोकतन्त्र कमजोर हुन्छ । भाजपा सरकारले सी.ए.ए. र एन्.आर्.सी. जस्ता विभेदी विधेयक ल्याएर लोकतन्त्रलाई हानी पुर्याएको छ । घोषका अनुसार भारत जस्तो समधर्म समभावले चलेको देशमा धार्मिक पुर्वाग्रह र त्यसैका आधारमा विभेद हुनु लोकतन्त्र कमजोर हुनु हो ।

४. जब दलीय प्रणाली आक्रमणमा पर्दछ तब लोकतन्त्र कमजोर हुन्छ । संसदीय प्रतिनिधित्व प्रणालीमा दलमार्फत लोकतन्त्रको अभ्यास गरिन्छ । यो प्रणालीमा जब दल आक्रमणमा पर्दछन्, तब त्यसले लोकतन्त्र कमजोर भएको संकेत गर्दछ । भारतमा त्यही देखिएको उनको दाबी छ । 

५. विपक्षीलाई अवैधानिक बनाउने प्रयास हुनु पनि लोकतन्त्रलाई कमजोर बनाउने कदम हो । विपक्षी पनि सार्वभौम जनताको जनमत लिएर आएको हुन्छ । उसको सम्मानित स्थानविना लोकतन्त्र स्वस्थ हुन सक्दैन । भारतमा विपक्षीलाई अवैधानिक बनाउने जुन प्रयास भएको त्यसले लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको छ ।

६. जब स्वतन्त्र प्रेसलाई दबाइन्छ तब लोकतन्त्र कमजोर हुन्छ । स्वतन्त्र प्रेसले जनतालाई तर्कशील बन्न मद्दत गर्दछ । सत्तालाई  शक्तिको उन्मादबाट बँचाउनका लागि यसले ‘वाच डग’को काम पनि गर्छ । जब यसले स्वतन्त्रता गुमाउछ तब लोकतन्त्र अस्वस्थ हुन थाल्दछ । यो पछिल्लो समय भारतीय लोकतन्त्रमा देखिएको एक समस्या हो ।

७. घृणायुक्त अभिव्यक्तिहरुलाई सामान्यीकरण गरिएको छ । घोषका अनुसार यसो हुनु भनेको पनि लोकतन्त्र कमजोर हुनु हो । भारतमा पछिल्लो समय देखिएको साम्प्रदायीक तनाव र हिंसातर्फ संकेत गर्दै उनले संविधानको शासन र लोकतन्त्रका लागि यो हानिकारक भएको कुरा बताईन् । 

८. लिन्चिगंका घटनामा संलग्नलाई कानुनी कारवाही गर्न नसक्नु लोकतन्त्र कमजोर बनाउनु हो । भारतमा धार्मिक तथा जातिय आधारमा यस्ता घटना भएका छन् । भीडले निश्चित समुदायका व्यक्तिलाई उक्त समुदायको भएकै आधारमा हत्या गर्ने जुन सामाजिक पागलपनको अवस्था छ त्यसतर्फ संकेत गर्दै घोषले यो रोक्न सरकारलाई आह्वानसमेत गरिन् ।

९. जब गृहयुद्धमा परेको प्रदेशको नाम पनि सत्तापक्षबाट उच्चाहरण हुँदैन तब बुझ्नु पर्दछ कि लोकतन्त्र कमजोर भएको छ । घोषले प्रधानमन्त्री र अन्य सत्ता पक्षका नेताले मणिपुरको नाम पनि उच्चाहण नगर्ने गरेको आरोप लगाइन । मणिपुर लामो समय देखि गृह युद्धमा छ । हजारौं मानिसहरु विस्थापित भएका छन् भने सयौंको ज्यान गएको छ । 

१०. सत्तामा बसेका मानिसहरु उत्तरदायी नहुनु भनेको लोकतन्त्र कमजोर भएको लक्षण हो । मोदी शासनमा उनी नजिकका र दलका मानिसले अपराध गरे पनि कारवाही नहुने बरु उनीहरुको संरक्षण हुने गरेको छ । सांसद् घोषले जब शक्तिशाली कानुनसँग डराउदैनन्, उनीहरुले अपराध गर्दा कारवाही भएन भने त्यसले लोकतन्त्र कमजोर छ भन्ने जनाउँछ । 

११. जब व्यक्तिले आफु संस्था भन्दा शक्तिशाली भएको अनुभुति गर्दछन्, तब लोकतन्त्र कमजोर भएको भनेर बुझ्नु पर्दछ । अहिले भारतमा कयौं यस्ता घटना घटेका छन् जहाँ राज्यभन्दा व्यक्ति शक्तिशाली भएको देखिएको छ । यसलाई नरोक्ने र संस्थालाई पुनः शक्तिशाली नबनाउने हो भने भारतीय लोकतन्त्र थप कमजोर बन्दै जाने छ । 

१२. जब जनतालाई सत्य कुरा बताइदैन तब लोकतन्त्र कमजोर हुन थाल्दछ । राज्यले के–के गरेको छ ? उसले गरेका राम्रा नराम्रा सबै कामका बारेमा जनतालाई जानकारी भएन भने उनीहरुले धारणा बनाउन सक्दैनन् । जनता सचेत भएनन् वा सही जानकारी पाएनन् भने लोकतन्त्र कमजोर हुन्छ ।

१३. संघीय सिद्धान्तको उल्लंघन गर्नु लोकतन्त्रलाई कमजोर बनाइनु हो । भारतमा पछिल्लो समय प्रदेशहरु केन्द्रको अस्वाभाविक हस्तक्षेप र विभेदबाट प्रभावित भएका छन् । यस्तो गैरसंवैधानिक कामले भारतीय लोकतन्त्रलाई कमजोर बनाएको छ । 

१४. बुहधार्मिकतालाई अंगाल्न नसक्नु पनि लोकतन्त्र कमजोर भएको संकेत हो । यो वा त्यो धर्मको नाममा समाजमा विभाजन रोप्ने, एक धर्मलाई अर्को धर्मभन्दा राम्रो वा नराम्रो भनेर चित्रित गर्ने कामले लोकतन्त्रलाई फाइदा गर्दैन । अहिले भारतमा जुन धार्मिक असहिष्णुता फैलिएको छ त्यसले लोकतन्त्र कमजोर भएको देखाउछ । 

१५. लोकतन्त्रमा आन्दोलन र विरोधलाई अपराधिकरण गर्नु गलत हो । वास्तवमा सिर्जनात्मक विरोधले राज्यलाई सही दिशामा आउन सहयोग गर्दछन् । लोकतन्त्रलाई स्वस्थ बनाउछ । अहिले भारतमा यसको विपरित काम भएको छ । जसले लोकतन्त्रलाई नकारात्मक असर पुर्याएको छ । 

उक्त भाषणमा सांसद् सागरिका घोषले लोकतन्त्रलाई निमोठ्ने काम भएको भन्दै अहिले भारतमा लोकतन्त्रभन्दा पनि एक व्यक्तिको प्रणाली वा प्रियतावादी तानाशाही चलेको बताइन् ।

अनुवाद र सम्पादनः बेग्लै