Skip to main content

केएर स्टर्मरको सरकार जनादेशको बोझले थिचिने जोखिममा

Submitted by editor on
Keir Stammer overwhelmed by majority photo taken dailytrust.com
दिनेश सापकोटा
२०८१, असार २४

बेलायतमा आम चुनाव सकिएको छ । १५ वर्ष पछि लेबर पार्टी सत्तामा आएको छ । ६५० को संसद्मा ४१२ सिट प्राप्त गर्नु आफैँमा ठुलो जित हो । यस जितसँगै लेबर पार्टीका नेता केएर स्टर्मर बेलायतको ५८ औँ प्रधानमन्त्री बनेका छन् । 

बेलायतमा पछिल्लो पन्ध्र वर्ष कन्जरभेटिभ पार्टीले लगातार सरकार चलायो । तर पछिल्लो एक दशकमा चाहिँ उक्त पार्टीले देशलाई सही दिशातर्फ लैजानु भन्दा थप समस्या सिर्जना गरेको आरोप लाग्यो । खास गरी यो पार्टी युरोपियन युनियनमा बस्ने नबस्ने कुरामा विभाजित भयो । त्यसले गर्दा स्थिर सरकारसमेत दिन सकेन । झन् यो पछिल्लो पाँच वर्षको अवधिमा कन्जरभेटिभले तीन प्रधानमन्त्री फेर्यो । ती प्रधानमन्त्रीबाट थप विवाद सिर्जना गर्ने काम मात्रै भयो । देशका समस्या समाधान गर्नेतर्फ सन्तोषजनक काम भएन ।

२०१५ को आम निर्वाचनमा राम्रो मत ल्याएर डेभिड क्यामरुन पुनः प्रधानमन्त्री बनेका थिए । तर युरोपियन युनियन छोड्ने कि बस्ने भन्ने विवाद चर्किदै गएको थियो । यसै सन्दर्भमा २०१६ मा उनले जनमत सङ्ग्रहको आह्वान गरे । बस्नु पर्छ भन्ने क्यामरुनको पक्षले हार्यो । उनले राजीनामा दिए । त्यस पछि थेरेसा मे प्रधानमन्त्री बनिन् । उनले छाड्ने प्रक्रियालाई सही ढङ्गले अगाडि बढाउन सकिनन् । मध्यावधि चुनावको आह्वान गरिन् । तर त्यसले उनलाई झन् कमजोर बनायो । उनले पनि राजीनामा दिइन् ।

त्यस पछि बोरिस जोन्सन प्रधानमन्त्री बने । युरोपियन युनियनबाट बेलायतलाई बाहिर निकाल्ने प्रक्रियालाई पूर्णता दिनु पर्ने प्रमुख कार्यभार थियो । उक्त बाहिरिने प्रक्रियालाई बल्लतल्ल लामो माथापच्छी पछि एक निष्कर्षमा पुर्याउन सफल त भए तर जनमत सङ्ग्रहको प्रतिबद्धता अनुसारको काम हुन सकेन । त्यसको विपरित बेलायत युरोपियन युनियनबाट बाहिर निस्कने प्रक्रियाका कानुनी उल्झन र विवादमा फस्यो । तर उनको राजीनामा चाँहि अर्कै कारण आएको थियो । उनले विवादित व्यक्तिलाई पार्टीको प्रमुख सचेतक बनाएका कारण सरकार छाड्नु परेको थियो ।

जोनसन लगत्तै लिज् ट्रस् प्रधानमन्त्री बनिन् । उनको कार्यकाल ‘डिजास्टर’ नै भयो । प्रधानमन्त्री हुँदा बित्तिकै साहसिक आर्थिक रिफर्मको कदम उठाउन खोजिन् । तर त्यसको परिणाम सोचेभन्दा उल्टो भए पछि उक्त नीतिलाई ‘टर्मिनेट’ गरेर पदबाट राजीनामा दिनु पर्यो । उनले सबैभन्दा कम समय प्रधानमन्त्री हुने मात्रै होइन पछिल्लो करिब ९० वर्षमा चुनाव पनि हार्ने पहिलो पुर्व प्रधानमन्त्रीको रेकर्ड बनाइन् ।

त्यस पछि कन्जरभेटिभ पार्टीको प्रधानमन्त्री बनेका थिए ऋषि सुनाक । उनी पनि विवादरहित थिएनन् । उनकी श्रीमतीले कर छली गरेको आरोप लाग्यो । त्यससँगै उनी झुट बोलेको कुरा पनि सार्वजानिक रुपमा प्रमाणित भयो । लेबर पार्टीले यो चुनावमा उनी झुट बेल्ने व्यक्ति भनेर बकाइदा प्रचार गर्यो । सुनाकले खासै ठुला केही उपलब्धी दिन सकेनन् । करिब २० महिने सरकार चलाए । चुनाव चाहिँ समयमा गराए । यद्यपि, उनका लागि सबैभन्दा दुःखद् कुरा के हो भने यस्तो हार कन्जरभेटिभ पार्टीले कहिल्यै हारेको थिएन जुन उनको नेतृत्वमा हार्यो । 

यस चुनावमा केएर स्टर्मरले नेतृत्व गरेको लेबर पार्टीले झण्डै दुई तिहाई मत ल्याएको छ । यद्यपि, स्टर्मर कुनै आकर्षक मुद्दा र व्यक्तित्वका कारण चुनाव जितेका नेता भने होइनन् । यो जितलाई कतिपय मिडियाले ‘उत्साहरहीत भव्य जित’को संज्ञा दिएका छन् । यसरी ‘करिज्म्याटिक’ नेतृत्व नहुँदै गर्दा र महत्वपूर्ण मुद्दामा प्रष्ट विचार नराख्दै गर्दा पनि यत्रो बहुमतका साथ लेबर पार्टीले चुनाव जित्यो । यसका पछाडि सबैभन्दा ठुलो हात कसैको छ भने कन्जरभेटिभ पार्टीको छ । यसको असफलताको छ । 

लेबर पार्टीले प्राप्त गरेको सिट संख्यालाई हेर्दा यसले पाउनु पर्ने भन्दा अधिक सिट पाएको छ । गतिलो नीति, मुद्दा, नेतृत्व र संगठनविनै प्राप्त गरेको यो जनादेश स्टर्मरका लागि बोझ हुने देखिएको छ । यो जनादेश लेबरका लागि नभएर परिवर्तन, विकल्प, निरासा, विभाजन, ध्रुविकरण आदिका कारण आएको देखिन्छ । जम्मा ६० प्रतिशत मत खसेकोले जनता चुनावप्रति खासै उत्साहित नभएको देखाउछ । यद्यपि, लेबर पार्टी यस्तो अवस्थामा थियो कि ती सबै कुराको फाइदा उसको पक्षमा गयो । तर यस चुनावी परिणामलाई लेबरका लागि नै दिइएको म्याण्डेट हो भन्न गाह्रो छ । त्यसका केही महत्वपूर्ण आधार छन् ।

पहिलो, लेबर पार्टीले ठुलो संख्यामा सिट त ल्यायो तर मत ल्याउन सकने । करिब एक तिहाई मतभार भएको पार्टीले करिब दुईतिहाई सिट जितेको छ । वास्तवमा लेबरले प्राप्त गरेको भोट २०१७ को मध्यावधीको भन्दा कम हो । निर्वाचन प्रणाली नै यस्तो भयो कि अवसर पायो भने जनाधार नभएको दलले पनि धेरै सिट ल्याउन सक्ने देखियो । समानुपातिक भएको भए लेबरले प्राप्त गरेको सिट संख्या घटेर वास्तविकताको नजिक आउथ्यो । तर, पहिलो हुनेले जित्ने पद्धतिकाकारण लेबरले हैसियत भन्दा धेरै सिट पायो । यसले स्थायीत्व भन्दा पनि बेलायतको अस्थिरतालाई मलजल गर्न सक्ने शंका उत्पन्न भएको छ । 

दोश्रो, माथि नै भने जस्तो लेबरका मुद्दा र नेतृत्व मन परेर भन्दा पनि कन्जरभेटिभबाट वाक्क भएका जनताले यसलाई एक विकल्पका रुपमा देखे, तर विश्वास भने गरेको देखिएन । विभिन्न पार्टीमा छरीएर आएको मतले यो कुरा पुष्टि हुन्छ । जस्तै नेइजल फाराजको दक्षिणपन्थी रिफर्म यूके पार्टी २०१८ मा स्थापित नयाँ पार्टी हो । यसले जम्मा ५ जना सांसद् जितेको छ तर भोट शेयर भने १४.३ प्रतिशत छ । यो पार्टी ‘ब्रेक्जिट’को मुद्दा उठाउने पहिलो पार्टी हो । यसका नेता फाराजले अहिलेको यो निर्वाचन प्रणालीलाई बदल्ने मुद्दा बोकेका छन् ।

लिवरल डेमोक्र्याट्सले ७१ सिट जितेको छ तर यसले १२ प्रतिशत मात्रै भोट ल्याएको छ । यो दल मध्यमार्गी भनेर चिनिन्छ । कहिलेकाही यो मध्यबाट बामतर्फ झुकाव भएको पनि देखिन्छ । १९८८ मा स्थापना भए पछि यो प्रायः तेश्रो ठुलो पार्टीका रुपमा रहेको छ । यो चुनावमा पनि यसको हैसियत तेश्रोमा नै रह्यो । त्यस्तै गरी, स्कटिश नेशनल पार्टीले ९ सटि जितेको छ तर यसको भोट शेयर भने २.४ प्रतिशत मात्रै रहेको छ । ग्रीन पार्टीले चार सीट जितेको छ भने भोट शेयर प्रतिशत भने सात रहेको छ । वास्तवमा यो चुनावमा मुल दुई ठुला दलले करिब ५७ प्रतिशत मात्रै मत ल्याएका छन् भने अन्य मत ससाना दलमा बाडिँएको छ । यसले भोलीका दिनमा सरकारको स्थायीत्वका लागि चुनौति खडा गर्ने देखिन्छ ।  

तेश्रो, महत्वपूर्ण राजनीतिक मुद्दामा लेबर अस्पष्ट रहनु । पुरानो प्रगतिशीलताको चमक खुइलिदै गए पनि लेबर धेरथोर बामपन्थी धारको पार्टी भनेर चिनिन्छ । यसले त्यहि अनुरुपका मुद्दा उठाउने प्रयास गर्छ । यद्यपि, यो चुनावमा कसरी गर्छ ? कस्ता मुद्दा उठाउछ ? ती कुरा अस्पष्ट रहे । जस्तो यो चुनावमा सार्वजानिक स्वास्थ्य र खासगरी राष्ट्रिय स्वास्थ्य सेवा (एन्.एच्.एस्.)लाई बलियो बनाउने, न्यूनतम ज्याला बढाउने, रेललाई पुनः राष्ट्रियकरण गर्ने तथा आर्थिक क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै अगाडि बढ्ने यस पार्टीका आधारभूत मुद्दा रहेका छन् । तर राष्ट्रिय ऋणको भार भएको मुलुकमा ति कुरा कसरी कार्यान्वयनमा लैजाने त्यसको मार्गचित्र प्रस्तुत गरिएन । 

वास्तवमा लेबर पार्टीले दीर्घकालीन महत्वका कुरा चाँहि गरेको छैन । सबैभन्दा ठुलो मुद्दा एन्.एच्.एस्. नै बन्यो । लेबर पार्टीले चुनाव अगाडि आर्थिक रिर्फमलाई कसरी अगाडि बढाउने छ ? आप्रवासी संकट र योसँग जोडिएको ‘रुवान्डा विवाद’लाई कसरी व्यवस्थित वा समाधान गर्ने छ ? युरोपियन युनियनसँगको सम्बन्धलाई कसरी अगाडि बढाउने छ ? र, विदेश नीति जस्तै यूक्रेन र प्यालेस्ट्यानमा भइरहेको अतिक्रमकण र अमानवीय युद्धका बारेमा यसको मत के हुने छ ? वातावरणीय संकटसँग जुध्न के के रणनीति हुने छन् ? यस्ता धेरै विषयमा लेबर प्रष्ट छैन । यस्ता ज्वलन्त विषयमा प्रष्ट मार्गचित्र दिन नसक्नाले स्टार्मरलाई सरकार चलाउन अफ्टेरो हुने कुरा अनुमान लगाउन सकिन्छ ।

चौथौं, बलियो बन्दै गएको दक्षिणपन्थ । यो नयाँ सरकारका लागि सडक र सदन दुवैमा बलियो बाधक बन्ने देखिन्छ । कन्जरभेटिभ र फाराजको रिफर्म पार्टीलाई प्राप्त मत प्रतिशत मात्रै जोड्दा पनि लेबरको भन्दा बढी हुन पुग्दछ । अन्य स–सना दक्षिणपन्थी पार्टीहरु पनि छन् । त्यसका साथै मध्यमार्गी दलहरु कमजोर बन्दै जाँदा लेबर पनि भविष्यमा दक्षिणपन्थ र वामपन्थको धु्रवीकरणको मारमा पर्ने देखिन्छ । भन्नुको मतलब लेबर पार्टीलाई एकबद्ध राख्नु नै स्टर्मरका लागि एक चुनौति हुने छ । त्यसका साथै यूरोप र अमेरिकामा मात्रै होइन बेलायतको आफ्नै अनुभवले पनि दक्षिणपन्थी शक्तिहरु बलियो बन्दै गएको देखाउछ । यस्तो अवस्थामा कस्ता खाले नीति तथा कार्यक्रम ल्याएर स्टर्मरले सन्तुलन मिलाउने हुन् त्यो कठीन देखिएको छ । 
 

दिनेश सापकोटा राजनीतिक विश्लेषक हुन् ।