भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्दिरा गान्धीले लगाएको संकटकालका बारेमा बेलाबेला कुरा उठाउने गरेका छन् । उनी तेश्रो पटक प्रधानमन्त्रीको सपथ लिएको पहिलो हप्ताबाट नै फेरी त्यसका बारेमा चर्चा सुरु भएको छ । करिब पचास वर्ष पहिलाको उक्त घटनाका बारेमा फेरी राष्ट्रपति द्रौपदी मुर्मु र सभामुख ओम विर्लाबाट चर्को विरोध आयो । यसले गर्दा संकटकालका बारेमा फेरी चर्चा सुरु भएको हो ।
मोदी पछिल्लो दश वर्षदेखि आफैँ प्रधानमन्त्री छन् । लोकतन्त्रलाई कसैबाट खतरा छ भने उनीबाटै छ । विपक्षीले संविधान बोकेर हिंडेको छ, यसलाई पनि कतैबाट खतरा छ भने उनीबाट नै छ । संसदमा संविधानको होइन ‘संगोल’को राज सुरु गर्ने मोदी नै हुन् । यस्तो प्रवृत्ति भएका मोदीले संकटकालको उक्त पुरानो घटनालाई उचाल्नुका पछाडि के कारण हुन सक्छ ? के मोदी उनेले लिन चाहेको राजनीतिक कदमका लागि वातावरण बनाउँदै छन् ? शंका लाजमी भएको छ ।
‘अब की बार, चार सौ पार’को नार दिएका मोदीले २४० सिट मात्रै जिते । हुँदाखाँदाको बहुमत पनि गुमाए । वास्तवमा पछिल्लो लोक सभा चुनावमा उनको नैतिक हार भएको छ । तर उनी पदबाट हटेनन् । संंख्याको भरमा तेश्रो पटक प्रधानमन्त्री भए । यसले उनी जसरी पनि सत्तामा रहन चाहन्छन् भन्ने कुरा प्रष्ट गर्छ ।
सत्तामा रहनका लागि मोदीले के–के गर्न सक्छन् ? जाँच एजेन्सीहरुको प्रयोग गरेर मुख्य मन्त्रीलगायतका विपक्षी नेतालाई जेल हालेका छन् । मिडिया, नागरिक समाज र अदालतमा पनि सक्दो दबाब बनाएका छन् । यति गर्दा पनि सत्ता उनको हातबाट बाहिरिने सम्भावना बढ्दै गएको छ भने अब उनले लिन सक्ने अर्को कदम के हुन सक्छ ? संकटकाल ? भन्ने परिस्थितिमा भारतको राजनीति पुगेको छ ।
भविष्यमा यही हुन्छ भन्ने ठोकुवा गर्नका लागि यो विश्लेषण लेखिएको होइन । जे पनि हुन सक्छ । तर मोदीलाई सत्ता बचाउनका लागि संकटकालतर्फ उन्मुख बनाउन सक्ने पाँच आधारका बारेमा यहाँ चर्चा गर्न खोजिएको हो ।
पहिलो, पछिल्लो चुनावमा उनको जनाधार गुमेको प्रष्ट देखिए पछि मोदी हतास भएका छन् । उनले बुझि सकेका छन् अब चुनावबाट सत्ता प्राप्त गर्न गाह्रो छ । एकपछि अर्को विधान सभाका चुनाव आउँदै छन् । ती चुनाव भाजपाका लागि मुस्किल देखिन्छन् । उनले ठुलो लोकप्रियता गुमाइ सके । अब उनको सत्ता चुनाव आयोगले बचाइदिन सक्ने अवस्था छैन । मान्छेहरु सडकमा निस्कन सक्छन् । अब सत्ता बचाउन सबैलाई डराउनु पर्ने हुन्छ । त्यसले गर्दा उनले संकटकाल लगाउने कदम उठाउन सक्छन् ।
दोश्रो, बहुमतबाट ३२ सिट कम हुँदा उनलाई सहयोगी दलको भरमा सरकार चलाउनु परेका छ । जुन दलको सहयोगमा मोदीले सत्ता चलाएका छन् ती दल धेरै मुद्दामा मोदीले भन्दा अलग विचार राख्छन् । उनीहरुबीचमा विश्वासको सम्बन्ध छैन । डरको सम्बन्ध छ । यस्तो परिस्थितिमा मोदीलाई सत्ता जाने भयले झनै हतास बनाउने छ । त्यसो हुँदा मोदी संकटकाल घोषणा गर्ने अवस्थामा पुग्न सक्छन् ।
तेश्रो, भारतीय संसदमा विपक्षी बलियो भएर आएको छ । सत्ता पक्षका कतिपय महत्वपूर्ण नेता चुनाव हारे । तर विपक्षीका प्रमुख नेता संसदमा आएका छन् । संसदको संख्याका हिसाबले पनि विधेयक छलफल नगरी पास गर्न गाह्रो छ । छलफल हुँदा प्रखर बहस गर्न सक्ने नेताको कमी प्रतिपक्षमा होइन, सत्ता पक्षमा छ । क्षमता हेरेर होइन चाटुकारीतालाई योग्यता मानेर पार्टीमा टिकट वितरण गरिदा सत्ता पक्षका धेरै सांसद् तर्कभन्दा हुलहुज्जत गर्ने किसिमका छन् । यसले मोदीको सबैभन्दा कमजोर प्रस्तुती संसदमा हुने देखाउछ । यसले पनि उनलाई संकटकालको विकल्पमा पुर्याउन सक्छ ।
चौंथो, एक पछि अर्को आर्थिक घोटलाका काण्डहरु बाहिर आएका छन् । अरु त अरु मोदीले राम मन्दिरका नाममा भोट मागे । त्यहि मन्दिर पहिले वर्षामा नै चुहीएको कुरा पुजारीले बताएका छन् । यसरी आर्थिक घोटलाहरुले घेरीएका मोदीका लागि सत्तामा बस्न अब अझै बढी दलाल पुँजीपतिहरुमा निर्भर हुन पर्दछ । उनीहरुले थप घोटला गर्न, महंगी बढाउन र कर उनीहरुको स्वार्थ अनुकुल बनाउन दवाब दिन्छन् । त्यस्तो परिस्थिति जनता आन्दोलनमा उत्रिने सम्भावना हुन्छ । यो परिस्थितिले पनि मोदीलाई संकटकालको विकल्प सोच्न बाध्य गर्न सक्छ ।
पाँचौं, राष्ट्रिय स्वयम् सेवक संघको राजनीतिक अंग भनेर चिनिन्छ भाजपा । मोदी स्यम् संघमा काम गरेर आएका हुन् । यसैको सहयोगमा भाजपाले चुनाव जित्दै आएको हो । तर अहिले भाजपा र संघबीच फाटो देखिएको छ । संघप्रमुख मोहन भागवत्ले भाजपामा अहंकार देखिएको बताएका छन् भने मोदीनियन्त्रित भाजपाले सुनेनसुने जस्तो गरी काम गरिरहेको छ । भाजपामा अन्य सांगठानीक समस्यहरु पनि देखिएका छन् । ती समस्या समाधानका लागि सिर्जनात्मक तरिकाले प्रयास गर्ने अवसरबाट मोदी बञ्चित भएका छन् । यस्तो अवस्थामा फेरी डराउनु पर्ने हुन्छ र उनी संकटकालको घोषणा गर्ने दिशामा जान सक्छन् ।