Skip to main content

लोकप्रियतावादका पाँच विशेषता

Submitted by editor on
This is the AI generated image of Nepali populist politician
बेग्लै
२०८१, असार ६

झट्ट सुन्दा लोकप्रियतावादमा कुनै समस्या देखिदैन । लोकलाई प्रिय लाग्ने कुरा कसरी गलत हुन सक्छ भन्ने लाग्छ । हो, जतिबेला र जुनसुकै परिस्थितिमा लोकप्रियतावाद गलतै हुन्छ भन्ने होइन । तर यसका आफ्नै समस्या छन् । यसको प्रमुख समस्या हो यो कुनै राजनीतिक सिद्धान्त होईन । यो भन्नुको मतलब हो यसले समाजलाई दीर्घकालीन उद्देश्य दिन सक्दैन । बरु यो सत्ता केन्द्रित विचार हो । यसले समाजलाई नेतृत्व दिनेभन्दा समाजका असन्तुष्टिलाई प्रयोग गरेर सत्तामा जाने ध्याउन्न गर्दछ । 

नेपालको सन्दर्भमा पछिल्लो चुनाव पछि पपुलिज्म् वा लोकप्रियतावादका कुरा अलि बढी नै हुन थालेका छन् । खास गरी रास्वपाको उदय पछि यसबारे पत्रपत्रिकामा धेरै लेख लेखिए । सामाजिक सञ्जालमा पनि यसका विषयमा व्यापक कुरा भए । हुँदै पनि छन् । वास्तवमा लोकप्रियतावाद नेपाली लोकतन्त्रका लागि एक बलियो चुनौति बनेर आएको छ । त्यसकारण यस विषयमा छलफल गर्नु मनासिब छ । 

युरोप–अमेरिकामा भने लोकप्रियतावादका विषयमा धेरै पहिलादेखि कुरा हुँदै आएको छ । लोकप्रियतावाद आ–आफ्नो कालखण्डमा आ–आफ्नै मोडलको हुने हुँदा समय–सन्दर्भ अनुसार यसले रुप बदलेर आउने गर्दछ । यद्यपि, यसका केही विश्वव्यापी विशेषता पनि छन् । ती मध्ये यहाँ पाँच ओटा विशेषताका बारेमा छोटोमा छलफल गरिएको छ ।     

पहिलो, माथि भनिए झैं लोकप्रियतावादको कुनै विचार हुँदैन । यसले भीडले जे भन्छ त्यहि गर्छ । लोकप्रियतावादी राजनीतिले आफुले विचार र नेतृत्व दिँदैन । समाजलाई बुझाउने, परिवर्तन गर्ने र नयाँ मार्ग देखाउने काम यसले सोच्दैन । बहुसंख्यकले जे भन्छ, प्रियतावादी नेताले त्यहि गर्छ । प्रियतावादले समाजलाई नेतृत्व दिँदैन भन्नुको मतलब के हो भने यसले धेरैले जे भन्छन् त्यहि गर्छ । नीति बनाउने, न्याय सम्पादन गर्ने, विकास निर्माण तथा अवसरको सिर्जना गर्नेजस्ता कुरामा यसको ध्यान कसरी बहुसंख्यक मानिसलाई खुसी बनाउने भन्नेमा हुन्छ । यसले बुझ्ने लोकतन्त्र भनेको सत्तामा पुग्नका लागि बहुसंख्यकलाई खुसी बनाउने हो । 

दोश्रो, कुनै राजनीतिक विचार छ भने त्यससँग जोडिएर पनि लोकप्रियतावादले टाउको उठाउन सक्छ । जस्तो समाजवाद एक राजनीतिक विचार हो । यसले सबै नागरिकलाई समान अवसर प्रदान गर्नका लागि राज्यले भूमिका खेल्नु पर्दछ भन्छ । समाजवादमा लोकप्रियतावाद मिसियो भने राज्यलाई चाहिने भन्दा बढी अधिकार दिने भन्ने कुरा आउन सक्छ । जस्तो समाजवादी लोकप्रियतावादले धनीको सम्पत्ति खोसेर गरिबलाई बाँड्नु पर्दछ भन्न सक्दछ । त्यस्तै गरी उदारवाद कमजोर हुँदै जाँदा पुँजीवाद पनि एक राजनीतिक विचारका रुपमा दरिएको छ । पुँजीवादी विचार मान्ने लोकप्रियतावादीले बजारले सबैका लागि समान अवसर प्रदान गर्छ, बजारको नियमन र नियन्त्रण गलत हो, सबै मानिसले खुला प्रतिस्पर्धा गर्न पाउनु पर्दछ भन्न सक्छ । यसलाई लिब्रटरियानिज्म् भन्ने गरिन्छ । यो पुँजीवादको लोकप्रियतावादी विचार हो । न त यसले भने जस्तो सम्भव छ न छाडा छोडिएको बजारले सबैको हित गर्छ । तर यो सुन्दा चाहिँ प्रिय सुन्निछ । 

तेश्रो, लोकप्रियतावादको अर्को विशेषता हो यो व्यक्ति केन्द्रित हुन्छ । लोकप्रियतावादी राजनीतिलाई अगाडि बढाउने निश्चित नेता हुन्छ । उसले राजनीतिलाई आफु केन्द्रित बनाउँछ । सबै राजनीतिक समस्याको समाधान उसैले गर्न सक्ने जस्तो गरी प्रस्तुत गर्दछ । उसको दल वा समूहमा ऊ नै सर्बैसर्बा हुन्छ । उसको निर्णय अरु सबै सदस्यले अनुसरण गर्ने गर्दछन् । उसको विरुद्धमा कसैले आवाज उठाउन सक्दैन । बरु अन्य सदस्यहरुको राजनीति पनि उसको नाम वा ईमेजमा निर्भर हुने हुँदा फरक विचार राख्ने कुरा हुँदैन । बरु सदस्यहरुबीच उसलाई प्रिय लाग्ने कुरा गरेर र भनेर नजिक हुने होड चल्छ । यदि प्रियतावादी नेता कमजारे भयो भने सबै सदस्यहरुले डुब्न लागेको डुंगाबाट हाम फाले झैं उक्त समूहलाई छोड्न थाल्छन् ।

चौँथो, लोकप्रियतावादले राजनीतिमा भावनाको प्रयोग गर्दछ । ती भावना सामान्य मानवीय रिस, राग, लोभ, गर्व तथा पहिचानका कुरा पनि हुन सक्छन् । ती धर्म, संस्कृति, भाषा तथा परम्परा जस्ता कुराहरु पनि हुन सक्छन् । राष्ट्रियता प्रियतावादी नेताको सबैभन्दा प्रिय मुद्दा हो । तर्क र विज्ञानलाई नजरअन्दाज गरेर भावनामा खेल्नका लागि राष्ट्रियताले मनग्य स्थान दिने हुँदा पनि लोकप्रियतावादी नेता खुब राष्ट्रवादी हुने प्रयास गर्दछ । यसरी राजनीतिमा भावनाको व्यापक प्रयोग हुँदै जाँदा उक्त नेताले जुनसुकै बेला पनि एक समुदायलाई अर्को समुदायका विरुद्धमा प्रयोग गर्न सक्छ । 

पाँचौं, लोकप्रियतावादी नेता आलोचनाबाट बच्न खोज्छ । विवाद हुन सक्ने विषयमा अरु नै बोलिदिए हुन्थ्यो जस्तो गर्छ । विवादित विषयलाई समाधान गर्नु पर्ने राजनीतिको जिम्मेवारी हो तर उक्त नेताले आफ्नो भोट घट्ने वा आलोचना हुने देख्यो भने बोल्नै खोज्दैन । उसँग समाधान गर्ने ज्ञान र विवादमा सामेल भएर त्यसलाई निश्चित दिशा दिने साहस हुँदैन । विवादमा परिनै हाल्यो भने विषयान्तर गर्न प्रयास गर्छ । तर जब प्रिय कुरा गर्ने अवसर पाउँछ अरुभन्दा चर्कोचर्को स्वरमा बोल्ने उसको स्वभाव हुन्छ । यस्तो बेलामा हल्लाखल्ला गरेर आपूmलाई जनताको आँखामा प्रिय देखाउने प्रयास गर्दछ ।